कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

पूर्वाधार थपियो, जनशक्ति छैन

आइसोलेसन चलाउन कम्तीमा २५ जनाको मेडिकल टिम आवश्यक, अक्सिजनको पनि वैकल्पिक व्यवस्था गर्नुपर्ने
अवधेशकुमार झा

राजविराज — संक्रमितको उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ४ वटा भेन्टिलेटरसहितको २५ शय्याको एचडीयू (हाई डिपेन्डेन्ट युनिट) सञ्चालनमा ल्याइएको छ ।

पूर्वाधार थपियो, जनशक्ति छैन

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रञ्जितकुमार झाका अनुसार २५ शय्यामध्ये १४ वटा सामान्य एचडीयू, ७ वटा आईसीयूसहितको एचडीयू र ४ वटा एनआईसीयू सञ्चालनमा ल्याइएको हो ।

यसअघि भेन्टिलेटर, आईसीयू, एनआईसीयू र एचडीयूमा राख्नुपर्ने बिरामीलाई धरान वा विराटनगर लैजानुपर्ने बाध्यता थियो । ‘संक्रमणको वृद्धिको हिसाबले २५ शय्याको एचडीयू केही होइन तर केही नभएको अवस्था र अन्यत्र जानुपर्ने बाध्यता केही हदसम्म कम गर्ने प्रयत्न गरेका छौं,’ डा. झाले भने, ‘जनशक्तिको अवस्था र पूर्वाधारको उपलब्धताले हामीले सकेसम्म व्यवस्थापन गर्न भ्याएका हौं । यसभन्दा बढी अहिले गर्न सक्ने अवस्थामा छैनौं ।’ नयाँ सेवा सञ्चालन गर्दा अस्पतालमा भएकै जनशक्ति परिचालन गरिएको उनले बताए । तर संक्रमितको चाप बढ्दै गए साइकृष्णा मेडिकल कलेजको पुरानो भवनमा सञ्चालनको तयारी गरिएको आइसोलेसन सेन्टरका लागि जनशक्ति छैन ।

डा. झाका अनुसार आइसोलेसन चलाउन कम्तीमा ५ मेडिकल अफिसर, १० नर्सिङ स्टाफ र १० स्विपरलगायतका जनशक्ति चाहिन्छ । तत्कालै पदपूर्तिका लागि प्रदेश सरकार र सप्तरीका स्थानीय तहलाई सहयोगका लागि अस्पतालले आग्रह गरेको छ । स्थानीय तहले आइसोलेसन र परीक्षण प्रयोगशालामा जनशक्ति व्यवस्थापन गर्नका लागि रकम दिने निर्णयसमेत गरेका छन् । जिल्लाका ९ नगरपालिकाले ४–४ लाख र ९ वटा गाउँपालिकाले ३–३ लाख रुपैयाँ गरी ६३ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । भेन्टिलेटरसहितको एचडीयू सञ्चालन गरे पनि अक्सिजनको भने अभाव हुने चिन्ता कायमै छ । अस्पतालमा अहिले सानो र ठूलो गरी ९५ वटा अक्सिजन सिलिन्डर छ । ‘एचडीयू बेडमा बिरामी भरिए ३ दिनका लागि पुग्ने अक्सिजन मात्र छ,’ डा. झाले भने । अस्पतालमा इटहरीबाट अक्सिजन ल्याउने गरिएको छ । बिरामी बढ्दै गए दैनिक रूपमा इटहरी गएर अक्सिजन ल्याउन सकिन्न’ उनले भने, ‘अक्सिजनका लागि तत्कालै केही वैकल्पिक व्यवस्था गर्नुपर्ने हुन्छ ।’

यसैबीच आइतबार अस्पतालको प्रयोगशालामा १३ जनाको पीसीआर परीक्षण गरिएकामा ९ जनामा संक्रमण पुष्टि भएको छ । यो समेत जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ८५ पुगेको छ । कोरोनाको दोस्रो लहर सुरु भएपछि जिल्लाका २ जना संक्रमितको मृत्यु भइसकेको छ ।

कोभिड अस्पतालका सामग्री प्रयोगविहीन

प्रदेश सरकारले महोत्तरीको जलेश्वरमा स्थापना गरेको कोभिड अस्पतालका लागि खरिद गरिएका स्वास्थ्य सामग्री प्रयोगमा आउन सकेको छैन । गतवर्ष महोत्तरी जिल्ला अस्पतालमा खरिद गरिएका २ करोड ५५ लाख बढीका उपकरण अहिले प्रयोगविहीन बनेका छन् । कोभिड विशेष अस्पतालका रूपमा अस्पताललाई विकास गरेर कोरोना नियन्त्रणका लागि खरिद भएका ५ भेन्टिलेटर, शय्या, मनिटर, इकोलगायतका आईसीयू प्रयोग हुन नसकेको हो ।

प्रदेश सरकारले महोत्तरीमा ५० शय्याको कोभिड विशेष अस्पताल सञ्चालन गरेको थियो । त्यतिबेला पनि दक्ष जनशक्ति नभएपछि उपकरण प्रयोगमा आएका थिएनन् । अहिले कोरोना महामारीले आक्रान्त बनेका बेला पनि उपकरण अझै प्रयोगविहीन रहेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष सुरेश पाण्डेले स्विकारे । गतवर्ष ३ करोड ४३ लाख खर्च गरेर अस्पताल बनाइएको थियो । अस्पतालमा विभिन्न शीर्षकमा गरी ८ करोडभन्दा बढी खर्च भएको थियो । तर, अहिले अस्पतालमा कोभिड महामारीको सामना गर्न कुनै तयारी नरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा सतीश साहले बताए ।

दुई संक्रमितको मृत्यु

पर्सा– नारायणी अस्पतालमा उपचाररत दुई संक्रमितको मृत्यु भएको छ । अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासका अनुसार आइतबार छिपहरमाई गाउँपालिका ३ का ४५ वर्षीय पुरुष र वीरगन्ज १६ का ६८ वर्षीय पुरुषको मृत्यु भएको हो । आइतबार नारायणी अस्पतालमा ५३ संक्रमित उपचाररत रहेको डा. दासले जानकारी दिए । तीमध्ये ८ जना भेन्टिलेटरमा छन् ।

अन्यलाई अक्सिजन दिएर राखिएको छ । आइतबारका समेत गरी नारायणी अस्पतालमामात्र २७ कोरोना संक्रमितको मृत्यु भइसकेको डा. दासले जानकारी दिए । यसबाहेक बयोधा अस्पतालमा ५, नेसनल मेडिकल कलेज अस्पतालमा २, गण्डक अस्पतालमा १ र जिल्ला बाहिर उपचारको क्रममा १ जनाको मृत्यु भएको छ ।

यस्तै, नारायणी अस्पतालको प्रयोगशालामा शनिबार १ सय ९२ जनाको स्वाब परीक्षण गर्दा १ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लामा शनिबारसम्म गरी १ हजार ६ सय ३६ जना संक्रमित भइसकेका छन् । आइतबार नेपाल भारत सीमामा थप तीन जना संक्रमित भेटिएका छन् । भारतबाट प्रवेश गरेका ४० जनाको एन्टिजेन परीक्षणमा तीन जनामा कोरोना पुष्टि भएको हो । उनीहरूमध्ये २ भारतीय नागरिक र १ बारा कलैया नगरपालिका घर भएका पुरुष हुन् ।

प्रकाशित : वैशाख २०, २०७८ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×