कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपाध्यक्षसँग विवाद,अध्यक्षलाई कारबाही !

सन्तोष सिंह

जनकपुर — उपाध्यक्षसँग कुरा नमिलेको निहुँमा माओवादी केन्द्र महोत्तरीले सम्सी गाउँपालिकाका अध्यक्ष शेष फारुकलाई ‘अरू दलमा’ लागेको आरोप लगाउँदै पार्टीबाट निष्कासनको तयारी थालेको छ ।

उपाध्यक्षसँग विवाद,अध्यक्षलाई कारबाही !

उनलाई कारबाही गर्न माओवादी केन्द्रले २४ घण्टे स्पष्टीकरण सोधिसकेको छ । तर, अध्यक्ष फारुकले आफूले दल परिवर्तन नगरेको दाबी गरिरहेका छन् ।

गाउँसभा, गाडी सुविधा, योजना बाँडफाँट र प्रशासकीय अधिकृत ल्याउने विषयमा अध्यक्ष फारुक र उपाध्यक्ष नागिना देवीबीच विवाद भएको हो । माओवादी केन्द्र महोत्तरीका अध्यक्ष तुलसीप्रसाद ढुंगानाले पहिलो स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै वैशाख १५ गते फेरि स्पष्टीकरण मागेका थिए ।

एमालेमा लागेर पार्टी निर्णयको गम्भीर उल्लंघन गरेकाले पार्टीको जिल्ला समितिको निर्णयअनुसार साधारण सदस्यबाट समेत किन निष्कसन नगर्ने भनी दोस्रो पटक फारुकलाई स्पष्टीकरण सोधिएको हो । पार्टीले लगाएको अरोप निराधार रहेको र व्यक्तिगत विवादका कारण कारबाही गर्न खोजेको फारुकको भनाइ छ ।

स्पष्टीकरणको जवाफ दिँदै उनले आफू माओवादी केन्द्र परित्याग नगरेको, पार्टीविरुद्ध कुनै किसिमको क्रियाकलाप नगरी आधिकारिक निर्देशन पालन गर्दै आएको उल्लेख गरेका छन् ।

गाउँपालिकाको कार्यालयमा उपाध्यक्ष नागिनादेवीले ल्याउन खोजेका प्रशासकीय अधिकृतलाई अध्यक्ष फारुकले अस्वीकार गरेपछि अध्यक्ष–उपाध्यक्षबीच चर्केको विवादमा माओवादी केन्द्रको जिल्ला कमिटीले पनि अध्यक्ष फारुकलाई कारबाह प्रक्रिया अगाडि बढाएको हो । पार्टीविरुद्ध लाग्ने नेता–कार्यकर्ता र जनप्रतिनिधिलाई कारबाही गर्ने अधिकार पार्टीलाई रहेको जिल्ला अध्यक्ष ढुंगानाले बताए ।

गाउँपालिकामा प्रशासकीय अधिकृत आए पनि काम गर्न नसकेर फिर्ता गएपछि गाउँपालिकाकै अर्का अधिकृत मोहिबुल अन्सारीलाई प्रशासकीय अधिकृतको जिम्मेवारी तोकिएको थियो । अन्सारीले जिम्मेवारी सम्हालेपछि उपाध्यक्ष पक्षले अर्कै प्रमुख प्रशासकीय अधिकृत ल्याए पनि जिम्मेवारी पाउन नसक्दा विवाद चुलिएको हो ।

प्रकाशित : वैशाख १८, २०७८ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?