कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश २ का आठ वटै जिल्लामा होल्डिङ सेन्टरको माग

सन्तोष सिंह

धनुषा — प्रदेश २ का ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले होल्डिङ सेन्टरहरु निर्माण गर्न प्रदेश सरकारलाई सुझाव दिएका छन् । मुख्यमन्त्री लालबाबु राउतसँगको भर्चुअल संवादमा प्रमुख जिल्ला अधिकारीहरुले कोरोना महामारी नियन्त्रणका लागि आठ वटै जिल्लामा होल्डिङ सेन्टर निर्माण गर्न सुझाव दिएको धनुषाका प्रमुख जिल्ला अधिकरी बन्दुप्रसाद बास्तोलाले बताए । 

जिल्लाका अस्पताल, ल्याबमा जनशक्ति अभाव, शव वाहन अभाव रहेको जानकारी गराउँदै तत्काल औषधि व्यवस्थापन गरी सुरक्षा निकायको भवनमा आइसोलेसन स्थापनाका लागि सहयोग गर्न मुख्यमन्त्रीलाई सुझाव दिएको बास्तोलाले बताए । स्थानीय तहहरुले आइसोलेसन स्थापनाका लागि सक्रियता नदेखाएका कारण आइसोलेसन खर्च प्रदेश सरकारले स्थानीय तहलाई उपलब्ध गराउनसमेत सुझाव दिएको उनले बताए ।

बैठकमा सहभागी प्रमुख जिल्ला अधिकारीहरुले प्रदेश सरकारलाई बजेटसहितको कार्यक्रम ल्याएर विगतमा आइसोलेसनमा काम गरेका स्वास्थ्यकर्मी, कर्मचारीको बाँकी तलबभता तत्कालै भुक्तानी गर्न सुझाव दिएका छन् । पहिलो चरणमा प्रदेश सरकारको निर्देशनमा सञ्चालित आइसोलेसनमा काम गर्ने कर्मचारी भुक्तानी नपाएको गुनासो प्रमुख जिल्ला अधिकारीहरुले गरेका थिए । सिरहाका तीन नाकामा बजेटसहितको हेल्प डेस्क, होल्डिङ सेन्टर र सिचुएसन सेन्टर स्थापनाको माग गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताए ।

छलफलमा मुख्यमन्त्री राउतले प्रदेश २ का ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई महामारीको रोकथाम र नियन्त्रणका लागि सम्पूर्ण शक्ति लगाउन निर्देशन दिए । कोरोना महामारीको अवस्थाबारे जानकारी लिन शुक्रबार प्रमुख जिल्ला अधिकारीहरुसँग भर्चुअल संवादको क्रममा मुख्यमन्त्री राउतले कोरोना जाँचका लागि प्रदेश सरकारले आठ वटै जिल्लामा पीसीआर मेसिन संचालनमा ल्याइसकेको जानकारी गराएका थिए । जाँचमा समस्या नहुने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री राउतले उपचारका लागि प्रदेश सरकार तयार अवस्थामा रहेको जानकारी गराएका थिए ।

पछिल्लो समयमा बढ्दै गएको कोरोना महामारीको अवस्था, रोकथाम र नियन्त्रणका लागि जिल्लाहरुमा भइरहेको प्रयास तथा आगामी दिनमा प्रदेश सरकारले चाल्नु पर्ने कदमहरुबारे सुझाव लिन मुख्यमन्त्री राउतले भर्चुअल संवाद गरेका छन् । भर्चुअल संवादमा प्रदेश सरकारको तर्फबाट प्रमुख सचिव गोकर्णमणि दुवाडी, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्र कुमार यादव, आर्थिक मामिला मन्त्रालयका सचिव, समाजिक विकास मन्त्रालयका सचिव, चारवटै सुरक्षा निकायका प्रदेशस्थित प्रमुखहरु सहभागी थिए ।


प्रकाशित : वैशाख १७, २०७८ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?