कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोल्सी बन्यो गोसाइँ ताल

भरत जर्घामगर

सिरहा — लहान नगरपालिका–१५ बानोस्थित झौवाई खोल्सीलाई स्थानीय युवाले संरक्षण गरी ताल बनाएका छन् । उनीहरूले धार्मिक पर्यटनका लागि खोल्सीलाई ‘गोसाइँ ताल’ नामकरण गरेका छन् । 

खोल्सी बन्यो गोसाइँ ताल

१ सय १० घरधुरी थारू, मुसहर समुदायको बसोबास रहेको बानोवासीले ३ सय ७५ हेक्टर क्षेत्रफलमा फैलिएको वनक्षेत्रलाई संरक्षण गर्दै आएका थिए । वनभित्र बग्दै आएको वर्षाको पानी १५ बिघा क्षेत्रफलमा फैलिएको झौवाई खोल्सीमा जमेपछि बाँध बाँधेर स्थानीयले पोखरीको रूप दिएका थिए । त्यही पोखरीको पानी हिउँदमा सिँचाइका लागि किसानहरूले कुलो निर्माण गरी उपयोग गर्दै आएका थिए । खोल्सीबाट पोखरी बनेको उक्त क्षेत्रलाई झौवाई खोल्सी चुरिया डाँडा सामुदायिक वन उपभोक्ता समिति बनाई संरक्षण गरिँदै आएको थियो । त्यही खोल्सीबाट पोखरी र पोखरीबाट बनेको ताललाई अहिले स्थानीय युवाले पर्यटकीय गन्तव्य बनाउन लागि परेका छन् ।

तालमा दुई वटा बोटिङको व्यवस्था गरिएको छ । बीच भागमा पोखराको फेवातालको झैं मन्दिर निर्माण गर्ने योजना छ । चारैतिर चुरे वनक्षेत्रले घेरिएको ताल वरपर २० वटा विश्रामस्थल बनाइएको छ, जहाँबाट ताल र चुरे वनको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । पछिल्लो समय बोटिङको मज्जा लिने आगन्तुकको संख्या बढ्न थालेको छ । गोसाइँ तालको सिरान डाँडाको टुप्पोमा शिव मन्दिर स्थापना गरिएको छ । जहाँ सोमबार तीर्थालुहरू गोसाइँ तालको जल लिएर चढाउन पुग्छन् ।

युवाहरूले यसवर्ष सांसद प्रदीप गिरिको संसदीय पूर्वाधारको १५ लाख रुपैयाँ, वन कार्यालय लहानको १० लाख रुपैयाँ र भू–संरक्षण कार्यालयको ६ लाख ५० हजार रुपैयाँ लागतमा तालको पुनःसंरचना गरेका हुन । ‘हामीले गोसाइँ ताललाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन गुरुयोजना तयार गरेका छौं,’ गोसाँ ताल संरक्षण समितिका अध्यक्ष अभिनन्दन चौधरीले भने, ‘पर्यटकीय सम्भावना बोकेको यस ताल वरपर भ्यु टावर, बुद्ध मन्दिरहरू निर्माण गर्ने योजना बनाएका छौं ।’

प्रकाशित : वैशाख १५, २०७८ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?