कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्सामा ५ सयभन्दा बढी संक्रमित घरमै

शंकर आचार्य

पर्सा — प्रदेश २ मा शुक्रबार १ सय २९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा बढी पर्सामा ५८ जनामा संक्रमण देखिएको छ ।

पर्सामा ५ सयभन्दा बढी संक्रमित घरमै

धनुषामा २३, महोत्तरीमा ७, सिरहामा ३, सप्तरीमा ५, सर्लाहीमा ३, रौतहटमा १२ र बारामा १५ जना संक्रमित छन् । दिनदिनै संक्रमितको संख्या उच्च दरमा थपिए पनि प्रदेशका अस्पतालमा थोरैमात्र भर्ना भएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरका अनुसार प्रदेशमा अहिले सक्रिय संक्रमितको संख्या ८ सय ७५ छ ।

संक्रमण दर उच्च रहेको पर्सामै ठूलो संख्यामा संक्रमित होम आइसोलेसनमै बसेका छन् । जिल्ला प्रशासन कार्यालयका कोभिड सूचना अधिकारी विनयकुमार श्रीवास्तवका अनुसार शुक्रबारसम्म होम आइसोलेसनमा बस्ने संक्रमित ५ सय २० जना छन् । उनीेहरू सुरक्षित र सतर्कता साथ आइसोलेसनमा नबसे परिवारका सदस्य र छरछिमेकमा पनि संक्रमण सर्ने जोखिम छ । कोरोनाको दोस्रो लहर चल्दा संक्रमितले पहिलो लहरको तुलनामा सामान्य रूपमा लिनुका साथै आइसोलेसनको नियम कडाइका साथ पालना नगरेको स्थानीयको गुनासो छ । संक्रमितहरू पूर्ण निको नभई बजार, पसल तथा अन्य स्थानमा आवागमन गर्ने गरेको पाइन्छ । उनीहरूको अनुगमन र नियमन हुन सकेको छैन ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कामेश्वर चौरसियाले होमआइसोलेसनमा बस्नेहरूको अनुगमनको जिम्मा स्थानीय तहको बताए । वीरगन्ज महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख अरुणकुमार महतोले होम आइसोलेसनमा बसेकाहरूको अनुगमन हुन नसकेको स्वीकारे । ‘अहिले होमआइसोलेसनमा बसेकाहरूको अनुगमन गरिएको छैन । सम्भवतः आइतबारदेखि अनुगमन सुरु गर्छौं,’ उनले भने । सम्बन्धित वडाका अध्यक्षहरूको नेतृत्वमा समूह गठन गरेर अनुगमन गरिने उनको भनाइ छ । सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले होमआइसोलेसनमा बस्नेहरूको निगरानी गर्न पालिकालाई नै बढी जिम्मेवार बनाउने प्रयास भइरहेको जानकारी दिए ।

नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले शुक्रबारसम्म नारायणी अस्पतालमा उपचारार्थ भर्ना रहेका संक्रमितको संख्या २९ पुगेको बताए । तीमध्ये १ जनाको अवस्था जटिल भई भेन्टिलेटरमा राखिएको छ । अस्पतालमा गम्भीर खालका संक्रमितलाई मात्र भर्ना गर्ने नीति रहेको उनले बताए । ‘अक्सिजन नचाहिने सामान्य अवस्थाका बिरामीलाई अस्पतालमा भर्ना नगरी होम आइसोलेसनमै बस्न दिइएको छ,’ उनले भने ।

संक्रमित बढेपछि आईसीयू र एचडीयू कक्षको शय्या विस्तार पनि भइरहेको उनले जानकारी दिए । ‘हाल ३५ वटा शय्या छन्, ८० देखि ८५ वटासम्म शय्या विस्तार भइरहेको छ,’ उनले भने । वीरगन्जस्थित सीमामा बिहीबारदेखि कडाइ गरिएको छ । सशस्त्र प्रहरीले दुवै मुलुकबाट यात्रुवाहक सवारीसाधनको आवागमनमा रोक लगाएको छ । अत्यावश्यकबाहेकका सवारीसाधनको आवागमन बन्द गरिएको सशस्त्र प्रहरी निरीक्षक विष्णु अधिकारीले बताए ।

प्रकाशित : वैशाख ११, २०७८ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?