कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश २ को नाम र राजधानीबारे छलफल आज

प्रदेशको नाममा ७ र राजधानीका लागि ६ प्रस्ताव दर्ता

धनुषा — प्रदेश २ को नामका लागि प्रदेशसभा सचिवालयमा ७ वटा प्रस्ताव दर्ता भएका छन् । प्रदेशको स्थायी राजधानीका लागि ६ वटा प्रस्ताव दर्ता भएका प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले बताए ।

प्रदेश २ को नाम र राजधानीबारे छलफल आज

उनका अनुसार दर्ता भएका प्रस्तावबारे शुक्रबारको प्रदेशसभा बैठकमा छलफल हुनेछ । बैठकमा संशोधन र प्रस्ताव दर्ता गराउने सांसदहरूलाई छलफलमा सहभागी गराइनेछ ।

नेपाली कांग्रेसले अन्तिम समयमा बिहीबार प्रदेशको नाम ‘मिथिला–भोजपुरा’ प्रस्ताव गरेको छ । यसअघि सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रले ‘मधेस’ र एमालेले ‘जानकी’ तोक्न प्रस्ताव दर्ता गराएको थियो । एमालेकै शारदादेवी थापाले ‘जनक’ र कांग्रेसका राजेश्वरप्रसाद साहले ‘मध्य मधेस’ को प्रस्ताव गरेका छन् । राजधानीका लागि सत्तारुढ जसपा, माओवादी केन्द्र, एमाले र कांग्रेसले जनकपुरधामलाई प्रस्ताव गरेका छन् । कांग्रेस सांसद राजेश्वरप्रसाद साह र जसपा सांसद सिंहाशन साह कलवारले व्यक्तिगत रुपमा वीरगन्जलाई राजधानी तोक्न प्रस्ताव दर्ता गराएका छन् । प्रदेशसभा सचिवालयले वैशाख २–९ सम्म प्रदेशको नाम र राजधानीको लागि प्रस्ताव आह्वान गर्दै सूचना निकालेको थियो । नामाकरण र राजधानीसम्बन्धी प्रस्तावलाई शुक्रबार बस्ने प्रदेशसभामा बैठकमा टेबल गरिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

यसअघि २०७६ चैत ४ मा प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने विषयमा प्रदेशसभामा मतदान भएको थियो । तर सत्तारुढ जसपाले मात्र प्रस्ताव गरेको ‘मधेस’ प्रदेशमा सहमति नजुट्दा राजधानीको पनि टुंगो लाग्न सकेको थिएन । यस पटक दलहरूले फरक–फरक नाम प्रस्ताव गरेका कारण सहमति जुट्ने सम्भावना न्यून देखिन्छ । प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्ताव पारित गर्न दुई तिहाइ बहुमत चाहिने संवैधानिक प्रावधान छ ।

१०७ सांसदमध्ये चार जनालाई माओवादी केन्द्रले पदमुक्त गर्दा प्रदेशसभा हाल १०३ जना मात्रै छन् । जसअनुसार नाम र राजधानी खुट्याउन ६९ मत आवश्यक पर्नेछ । हाल प्रदेशसभामा जसपाका ५५, माआोवादी केन्द्रका ७, कांग्रेसका १९, एमालेका २१ र नेपाल संघीय समाजवादी पार्टीका एक सांसद छन् । ‘मधेस’ प्रदेशको प्रस्ताव गरेका जसपा र माओवादी केन्द्रका सांसद जोड्दा ६२ मत पुग्छ । यो नाम पारित गराउन अझै ७ मत आवश्यक पर्छ ।

प्रकाशित : वैशाख १०, २०७८ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?