कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वीरगन्जमा कोरोनाबाट थप दुई जनाको मृत्यु

शंकर आचार्य

पर्सा — कोरोना संक्रमणका कारण वीरगन्जमा थप दुई जनाको मृत्यु भएको छ ।

वीरगन्जमा कोरोनाबाट थप दुई जनाको मृत्यु

नारायणी अस्पतालमा उपचाररत वीरगन्ज महानगरपालिका–१९ बिन्दवासिनी निवासी ६३ वर्षीय पुरुषको बिहीबार उपचारका क्रममा बिहान ९ बजेर ५० मिनेटमा मृत्यु भएको हो ।

उनी वैशाख ५ गते अस्पतलामा भर्ना भएका थिए । अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासका अनुसार मृतकमा निमोनिया र श्वासप्रश्वासको समस्या थियो ।

यस्तै बिहीबार बिहान १ बजेर १५ मिनेटमा नारायणी अस्पतालमै उपचाररत वीरगन्ज १६ की ६१ वर्षीया महिलाको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । उनी वैशाख ५ गते अस्पताल भर्ना भएकी थिइन् ।

यससँगै वीरगन्जमा दुई सातायता कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ । नारायणी अस्पतालमा ८ र नारायणी वयोधा अस्पतालमा २ गरी कूल ९ जनाको मृत्यु भएको हो ।

नेपालमा संक्रमित थपिएसँग वीरगन्जस्थित नेपाल भारत सीमामा बिहीबारदेखि केही कडाइ गरिएको छ । सीमास्थित सशस्त्र प्रहरीले दुवै मुलुकबाट यात्रुवाहक सवारी साधनको आवागमनमा रोक लगाएको छ । अत्यावश्यक बाहेकका सवारी साधनको आवागमन बन्द गरिएको छ ।

यात्रुहरु वीरगन्ज भन्सारदेखि सीमा पारीसम्म पैदल आवागमन गरिरहेका छन् । सीमामा दुई मुलुकतर्फ आवागमन गर्नेहरुको लर्को लागेको छ । मुख्य बाटोबाट कडाइ गरिएकाले केही बटुवा खेतको बाटोबाट समेत सीमा वारपार गरिरहेका छन् ।

प्रकाशित : वैशाख ९, २०७८ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?