कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

पानी लिन घण्टौं लाइन

ओमप्रकाश ठाकुर

सर्लाही — सुक्खा मौसम सुरुसँगै सर्लाहीको चुरे क्षेत्रमा खानेपानीको अभाव हुन थालेको छ । बर्सेनि यो मौसममा चुरेका स्थानीयले खानेपानीको संकट बेहोर्दै आएका छन् । कुवा, खोला, खोल्साको धमिलो पानीमै निर्भर हुनुपर्ने स्थानीयको गुनासो छ ।

पानी लिन घण्टौं लाइन

सर्लाहीको चुरे भेगमा पर्ने भालुखोप, केराबारी, वनमारा, बेलडाँडा, कालिन्जोर, परवानीपुर, नारायणखोला, अत्रौली, ढुंग्रेखोलालगायत ठाउँका १ हजारभन्दा बढी परिवार खानेपानीको पहुँचभन्दा बाहिर छन् । उनीहरू फागुन लागेसँगै खानेपानीको दुःख सुरु हुने बताउँछन् । हरिवन नगरपालिका–१ केराबारीकी रश्मिला जिम्बाले नजिकको कुवा सुकेपछि एक गाग्री पानी लिन घण्टौं उकालो–ओरालो गरेर मुहानमा पुग्नुपर्ने बताइन् ।

४० घरधुरी रहेको बस्तीको छेउमा एउटा कुवा भए पनि पर्याप्त पानी नै छैन । यसको पानी मुस्किलले ४–५ घरलाई पुग्ने गरेको जिम्बाले बताइन् । लिफ्ट प्रविधिमार्फत चुरेका केही बस्तीमा खानेपानी पुर्‍याइए पनि खोलामा पानी सुक्दा धारामा कम आउन थालेको छ । धाराको पानी थाप्न घण्टौं लाइनमा बस्नुपरेको लालबन्दी नगरपालिका–१२ भालुखोपका वीरबहादुर रानाको गुनासो छ । ‘पानीको मुहानै सुकेपछि धारामा पानी कम आउन थालेको हो,’ रानाले भने, ‘एक गाग्री पानीका लागि पाँच घण्टासम्म लाइनमा बस्नुपर्छ ।’ दूषित पानीका कारण चुरे क्षेत्रमा बेलाबेलामा झाडापखालाको महामारी फैलिने गरेको नागरिक अगुवा टमबहादुर घिसिङले बताए । बस्तुभाउ र मानिसले एउटै खोलाको पानी खाने गरेको उनको भनाइ छ ।

‘धमिलो पानी छानेर खानुपर्छ, यसले बिरामी पर्ने जोखिम बढाएको छ,’ उनले भने । बढ्दो वन विनाश, उत्खनन र यस वर्ष हिउँदमा वर्षा नभएकाले खानेपानीको स्रोत सुकेको खानेपानी तथा सरसफाइ कार्यालय, सर्लाहीले जनाएको छ ।

चुरे क्षेत्रमा खानेपानीको अभाव टार्न यस क्षेत्रका पालिकाहरूले खोलाबाट लिफ्ट प्रविधिमार्फत बस्तीमा खानेपानी पुर्‍याए पनि मूल नै सुक्दा प्रभावकारी बन्न सकेको छैन । अब पुराना इनार, कुवा मर्मत र नयाँ इनार खनेर पानी पुर्‍याउने योजनाअनुसार काम भइरहेको हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईंले जानकारी दिए । उनले ठाउँ–ठाउँमा डिपबोरिङ गर्न लागिएको बताए ।

प्रकाशित : वैशाख ९, २०७८ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?