कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पालिकालाई ‘असारे विकास’को चटारो

समयमै योजना सम्झौता र कार्यान्वयन नहुँदा तेस्रो चौमासिक लाग्दासमेत न्यून खर्च 
ओमप्रकाश ठाकुर

सर्लाही — आर्थिक वर्ष सकिन अढाई महिना मात्र बाँकी छँदा सर्लाहीका स्थानीय तहको विकास खर्च निराशाजनक छ । उपभोक्ता समितिमार्फत असारको अन्तिममा फुटकर योजनामा बजेट खन्याउने ध्याउन्नमा जनप्रतिनिधि छन् । असार लागेपछि मात्रै विकास बजेट खर्चिने बेथितिले सर्लाहीका अधिकांश स्थानीय तहको पुँजीगत खर्च ३० प्रतिशतभन्दा कम छ ।

बजेट निकासामा ढिलाइ र समयमै योजना सम्झौता तथा कार्यान्वयन नहुने समस्याका कारण तेस्रो चौमासिक लाग्दासमेत खर्च हुन नसकेको स्थानीय तहले जनाएका छन् । उनीहरूले वडाले समयमा योजनाको सम्झौता नगराउँदा पनि विकास बजेट अन्त्यतिर मात्रै खचिर्नु परेको बताउँछन् ।

कविलासी नगरपालिकाले पुँजीगत बजेट अहिलेसम्म १७ प्रतिशत मात्र खर्चिएको छ । १२ करोड ८२ लाख बजेट पुँजीगत खर्चतर्फ छुट्याइए पनि १७ प्रतिशत मात्र खर्च भएको छ भने चालुतर्फ छुट्याइएको ८ करोड ३० लाख बजेटमा ३५ प्रतिशत खर्च भइसकेको छ । यो नगरपालिका लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा छ । कविलासी नगरपालिका बनेयता एक किलोमिटर पनि कालोपत्रे सडक नबनेको स्थानीय बताउँछन् । नगरका निमित्त प्रमुख श्यामकिशोर यादवले वडाको ढिलाइका कारण समयमा बजेट खर्चिन नसकेको जानकारी दिए । उनले योजना कार्यान्वयन र बजेट खर्चका लागि असारसम्म समय भएकाले अब द्रुत गतिमा काम अघि बढाइने जानकारी दिए ।

असारे विकासको हतारो हुँदा यहाँका पालिकाहरू अहिले उपभोक्ता समिति धमाधम गठन र योजना कार्यान्वयनमा व्यस्त छन् । चक्रघट्टा गाउँपालिकाले भने पुँजीगततर्फ ८ प्रतिशत र चालुतर्फ ४० प्रतिशत मात्र खर्च गरेको छ । पुँजीगत खर्चतर्फ १९ करोड ३७ लाख ९६ हजार रुपैयाँ बजेटको जम्मा ८.३२ प्रतिशत मात्र खर्च गरेको छ । चालुतर्फको बजेट २० करोड ७ लाख ५७ हजार एक सय ६६ रुपैयाँ बजेटमा भने ५६.४२ प्रतिशत खर्च भएको छ । यहाँ पनि राजनीतिक किचलोका कारण काम हुन सकेको छैन । गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले गाउँसभाबाट गाउँस्तरीय योजना मात्र पास भएको बताए । वडास्तरीय योजना विशेषसभा बोलाएर पास गर्ने प्रक्रियामा रहेकाले खर्च कम भएको उनको भनाइ छ । उनले यस क्षेत्रमा विकास भनेको नाला निर्माण गर्ने र सडक ढलान गर्ने मात्र बुझेकाले त्यस्ता योजना एक महिनामै पूरा हुने भएकाले पनि कार्यान्वयनमा तदारुकता नदेखाएको जानकारी दिए । ‘गाउँपालिकामा एक त राजनीतिक किचलो छ, दोस्रोमा विकास भनेको नाला र सडक ढलान मात्र बुझेका छन्, त्यसैले चाहेअनुसारको खर्च हुन सकेन,’ उनले भने ।

चन्द्रनगर गाउँपालिकामा भने हालसम्म पुँजीगत खर्चमा विनियोजित ३२ करोड ४४ लाख ९८ हजार बजेटको जम्मा २९.९६ प्रतिशत खर्चेको छ । गाउँपालिकाले चालु खर्चतर्फ विनियोजित २४ करोड १३ लाख ७४ हजार ८ सय १० रुपैयाँ बजेटमा ४०.६९ प्रतिशत खर्चेको छ । प्रमुख प्रशासकीय अधिकृत अशोक साहका अनुसार छनोट भएका योजना सम्झौता भई अधिकांश सम्पन्न भए पनि विभिन्न कारणले भुक्तानी रोकिँदा भौतिक प्रगति न्यून देखिएको हो । यता, मलंगवा नगरपालिकामा भने पुँजीगत र चालु खर्च ६० प्रतिशतको हाराहारीमा छ । पुँजीगततर्फ ४७ करोड छुट्याइएकोमा करिब ६० प्रतिशत र चालुतर्फ ११ करोड बजेटमा ६० प्रतिशतभन्दा बढी नै खर्च भएको छ ।

प्रकाशित : वैशाख ८, २०७८ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?