घटेन भीडभाड- प्रदेश २ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घटेन भीडभाड

सार्वजनिक यातायात, बजार, विद्यालय तथा कलेजमा छैन स्वास्थ्य सतर्कता
कान्तिपुर संवाददाता

सर्लाही — कोरोना संक्रमणको बढ्दो जोखिमका बीच पनि सर्लाहीमा भीडभाड पातलिएको छैन । स्थानीय प्रशासनले २५ जनाभन्दा बढी एक स्थानमा जम्मा नहुन निर्देशन गरेको छ । तर, निर्देशको अटेरी गर्नेमा विभिन्न संघसंस्था र राजनीतिक दल नै बढी छन् ।


प्रशासनले चैत १० गते जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक गरी भीडभाड नगर्न सूचना जारी गरेको थियो । भारतसँगको खुला सीमानाकाका कारण आवतजावत बढ्नुका साथै मानिसहरूको चहलपहल अत्यधिक देखिएकाले संक्रमणको जोखिम उच्च रहेको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताए । सूचनामा सामाजिक कार्य गर्नै परे सकेसम्म धेरै ठूलो जमघट नगर्न, भोजभतेर तथा सभा समारोह नगर्न, गर्नै परे सामाजिक दूरी कायम गरी गर्न आग्रह गरिएको थियो । यसैगरी घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन, नियमित साबुनपानीले हात धुन, सेनिटाइजर प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न सार्वजनिक सेवा प्रवाह, व्यापार तथा व्यवसाय गर्दा अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न पनि सूचनामा आग्रह गरिएको थियो । स्वास्थ्य सुरक्षा पालना नगरेको पाइएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ । तर प्रशासनको सूचना उल्लंघन गर्दै जमघट र भीडभाड भइरहेको छ ।

यहाँ स्वास्थ्य मापदण्डलाई पूर्ण रूपले बेवास्ता गरिँदै आइएको छ । भीडभाड भएको स्थानमा न मास्कको प्रयोग भएको छ न त सेनिटाइजरको नै प्रयोग भएको पाइएको छ । डीसीसीएमसीको निर्णयको पालना राजनीतिक दल तथा विभिन्न संघसंस्थाले गर्नुपर्नेमा उनीहरूले नै यसको अवज्ञा गरिरहेका छन् । सार्वजनिक यातायात, बजार, विद्यालय तथा कलेजमा पनि भीडभाड त्यत्तिकै छ । बिहेबारीमा पनि भीडभाड उत्तिकै छ ।

बारा र पर्सा जिल्लामा संक्रमण बढिरहेको भए पनि त्यहाँबाट आउनेहरू निर्बाध रूपमा सामाजिक कार्यमा लागिरहेका छन् । स्थानीय प्रशासन पनि कोरोना नियन्त्रणमा कडाइ गर्नुपर्नेमा सूचनामा मात्र सीमित भएका छन् । यसलाई कडाइका साथ लागू नगर्दा समस्या देखिएको नागरिक समाजका महासचिव शिवचन्द्र चौधरीको भनाइ छ । ‘कोरोनाको दोस्रो लहर चलिरहेका बेला यसलाई न्यूनीकरणका लागि योजनाबद्ध रूपमा अगाडि बढ्नुपर्ने बेला राजनीतिक दलले भीड जम्मा गर्ने गरेका छन्, प्रशासन रमिता हेरेर बसेको छ,’ उनले भने ।

नाकामा प्रशासनले कडाइ गरेको बताए पनि भारतीय बजारमा घरायसी प्रयोजनका लागि सामान किन्न जानेको संख्या बढी छ । भारतमा रोजगारीमा गएकाहरू पनि धमाधम घर फिरिरहेका छन् । गत चैतमा गरिएको सीमा सिल अहिलेसम्म नखुल्दा उनीहरू चोर बाटोबाट आवतजावत गरिरहेका छन् । मलंगवा नाकामा मात्र हेल्थ डेस्क स्थापना गरिएको छ । हेल्थ डेस्कमा पनि ज्वरो मापन गर्ने र तथ्यांक राख्ने काम मात्र गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख श्रवणकुमार नायकले सर्लाहीमा दोस्रो चरणको कोरोना संक्रमितको संख्या एक मात्र फेला परेको बताउँदै भारतमा बढ्दै गएको कोरोनाको कहरबाट बच्न नाकाहरू पूर्ण रूपमा बन्द हुनुपर्नेमा जोड दिए । ‘सीमामा निर्बाध रूपमा आउजाउले भयावह स्थिति ल्याउन सक्छ,’ उनले भने, ‘भारतसँगको सीमा पूर्ण रूपमा बन्द गर्नु नै हाम्रा लागि उत्तम विकल्प हो ।’

प्रकाशित : वैशाख ७, २०७८ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्

भारतबाट धमाधम फर्कंदै विद्यार्थी

भवानी भट्ट

कञ्चनपुर — बुटवलका सुबोध क्षत्री अध्ययनका लागि दुई महिनाअघि मात्रै भारत उत्तराखण्डको देहरादून पुगेका थिए । सिभिल इन्जिनियरिङ अध्ययन गर्न गएका उनी भर्ना भएर कलेज जान थालेको डेढ महिना मात्रै भएको थियो ।

यसै सातादेखि पहिलो सेमेस्टरको परीक्षा तालिकासमेत प्रकाशित भएको थियो । त्यसका लागि मिहिनेत गरेर पढिरहेका थिए । तर अचानक कलेज बन्द भएपछि घर फर्किनुपर्‍यो ।

‘हामी परीक्षाका तयारीमा थियौं तर कलेज वरिपरि र विद्यार्थीहरूमा समेत कोरोना देखिएपछि बन्द भयो,’ आइतबार गड्डाचौकी नाका हुँदै घर फर्किएका क्षत्रीले भने, ‘परीक्षा पनि अनिश्चित बनेको छ, एक महिनापछि मात्रै सम्पर्क गर्न भनेको छ ।’ उनी माघ अन्तिमतिर देहरादून गएका थिए । फागुनमा भर्ना भएर पढाइ सुरु भएको थियो ।

देहरादूनमा पछिल्लो दुई सातादेखि कोरोनाको संक्रमण तीव्र भएको हो । कलेजहरू त्यतिबेलादेखि नै बन्द भएका थिए । उनका अनुसार त्यहाँ आइतबारदेखि लकडाउनसमेत घोषणा भएको छ । त्यही भएर होस्टेलका विद्यार्थीहरू पनि धमाधम घर फर्किन लागेको उनले बताए । ‘हाम्रो कलेजमा पढिरहेका १५ सयभन्दा बढी नेपाली विद्यार्थीहरू घर फर्किसकेका छन्,’ उनले भने, ‘बाँकी विद्यार्थीहरू पनि एक/दुई दिनमै फर्किने तयारीमा छन् ।’ क्षत्री आठ जना साथीभाइसँगै फर्किएका हुन् । ‘हरिद्वारको कुम्भमेलाका कारण बढी त्रास फैलिएको छ,’ सुनसरी इनरुवाका समिम अन्सारीले भने, ‘पोहोर पनि पढाइ भएन, यसपालि राम्ररी पढाइ होला भनेको फेरि उस्तै भयो ।’ उनी फेब्रुअरीमा देहरादून गएका थिए ।

कृषि विज्ञान अध्ययन गरिरहेका उनको पनि अप्रिल २२ देखि नै परीक्षा तोकिएको थियो । शुक्रबार मात्रै परीक्षा स्थगित भएको सूचना प्रकाशित भएपछि उनी साथीभाइसँगै घर फर्किएका हुन् । ‘मे २ पछि मात्रै अर्को निर्णय हुने भनेको छ,’ अन्सारीले भने, ‘परीक्षाका तयारी गरिरहेका थियौं, एकाएक रद्द भएपछि निराश भएर घर फर्कियौं ।’

‘हामीले परीक्षा दिन पनि पाएनौं, घरबाट गएको दुई महिनामै फर्किनुपर्‍यो,’ सर्लाहीको कविलासी–४ का विशालकुमार यादवले भने, ‘फेरि कलेज कहिले खुल्छ, परीक्षा कहिले हुन्छ, केही टुंगो छैन ।’ बीटेक सीएससी अध्ययन गरिरहेका उनी पनि पहिलो सेमेस्टरका विद्यार्थी हुन् । उनी होस्टेलमा बसेर पढिरहेका थिए । कलेजसँगै होस्टेलसमेत बन्द भएपछि घर फर्किनुपरेको उनले बताए । आइतबार गड्डाचौकी नाकाबाट ९ सय ११ जना नेपाल भित्रिएका थिए । यिनमा ५ सय जनाभन्दा बढी विद्यार्थी छन् । उनीहरू अधिकांश देहरादूनबाट फर्किएका हुन् । यसरी फर्किनेमध्ये नाकामा जाँच गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबार १ सय ४७ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

भारत उत्तराखण्डको चम्पावत र उद्यमसिंहनगरका सीमावर्ती बजारहरू खटीमा, वनबासा र टनकपुरमा आइतबार लकडाउन घोषणा गरिएको छ । कोरोनाको संक्रमण अत्यधिक बढेपछि हरेक साताको एक दिन हरेक आइतबार लकडाउन गर्ने निर्णय गरिएको हो । सशस्त्र प्रहरीको झलारीस्थित ३५ नं. गणका एसपी वीरेन्द्र ऐरका अनुसार नेपालतर्फ आउनेलाई रोकटोक नभएपनि भारततर्फ जानेलाई भने पूर्ण रूपमा रोक लगाइएको छ ।

प्रकाशित : वैशाख ७, २०७८ १०:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×