कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घटेन भीडभाड

सार्वजनिक यातायात, बजार, विद्यालय तथा कलेजमा छैन स्वास्थ्य सतर्कता

सर्लाही — कोरोना संक्रमणको बढ्दो जोखिमका बीच पनि सर्लाहीमा भीडभाड पातलिएको छैन । स्थानीय प्रशासनले २५ जनाभन्दा बढी एक स्थानमा जम्मा नहुन निर्देशन गरेको छ । तर, निर्देशको अटेरी गर्नेमा विभिन्न संघसंस्था र राजनीतिक दल नै बढी छन् ।

घटेन भीडभाड

प्रशासनले चैत १० गते जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक गरी भीडभाड नगर्न सूचना जारी गरेको थियो । भारतसँगको खुला सीमानाकाका कारण आवतजावत बढ्नुका साथै मानिसहरूको चहलपहल अत्यधिक देखिएकाले संक्रमणको जोखिम उच्च रहेको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताए । सूचनामा सामाजिक कार्य गर्नै परे सकेसम्म धेरै ठूलो जमघट नगर्न, भोजभतेर तथा सभा समारोह नगर्न, गर्नै परे सामाजिक दूरी कायम गरी गर्न आग्रह गरिएको थियो । यसैगरी घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन, नियमित साबुनपानीले हात धुन, सेनिटाइजर प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न सार्वजनिक सेवा प्रवाह, व्यापार तथा व्यवसाय गर्दा अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न पनि सूचनामा आग्रह गरिएको थियो । स्वास्थ्य सुरक्षा पालना नगरेको पाइएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ । तर प्रशासनको सूचना उल्लंघन गर्दै जमघट र भीडभाड भइरहेको छ ।

यहाँ स्वास्थ्य मापदण्डलाई पूर्ण रूपले बेवास्ता गरिँदै आइएको छ । भीडभाड भएको स्थानमा न मास्कको प्रयोग भएको छ न त सेनिटाइजरको नै प्रयोग भएको पाइएको छ । डीसीसीएमसीको निर्णयको पालना राजनीतिक दल तथा विभिन्न संघसंस्थाले गर्नुपर्नेमा उनीहरूले नै यसको अवज्ञा गरिरहेका छन् । सार्वजनिक यातायात, बजार, विद्यालय तथा कलेजमा पनि भीडभाड त्यत्तिकै छ । बिहेबारीमा पनि भीडभाड उत्तिकै छ ।

बारा र पर्सा जिल्लामा संक्रमण बढिरहेको भए पनि त्यहाँबाट आउनेहरू निर्बाध रूपमा सामाजिक कार्यमा लागिरहेका छन् । स्थानीय प्रशासन पनि कोरोना नियन्त्रणमा कडाइ गर्नुपर्नेमा सूचनामा मात्र सीमित भएका छन् । यसलाई कडाइका साथ लागू नगर्दा समस्या देखिएको नागरिक समाजका महासचिव शिवचन्द्र चौधरीको भनाइ छ । ‘कोरोनाको दोस्रो लहर चलिरहेका बेला यसलाई न्यूनीकरणका लागि योजनाबद्ध रूपमा अगाडि बढ्नुपर्ने बेला राजनीतिक दलले भीड जम्मा गर्ने गरेका छन्, प्रशासन रमिता हेरेर बसेको छ,’ उनले भने ।

नाकामा प्रशासनले कडाइ गरेको बताए पनि भारतीय बजारमा घरायसी प्रयोजनका लागि सामान किन्न जानेको संख्या बढी छ । भारतमा रोजगारीमा गएकाहरू पनि धमाधम घर फिरिरहेका छन् । गत चैतमा गरिएको सीमा सिल अहिलेसम्म नखुल्दा उनीहरू चोर बाटोबाट आवतजावत गरिरहेका छन् । मलंगवा नाकामा मात्र हेल्थ डेस्क स्थापना गरिएको छ । हेल्थ डेस्कमा पनि ज्वरो मापन गर्ने र तथ्यांक राख्ने काम मात्र गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख श्रवणकुमार नायकले सर्लाहीमा दोस्रो चरणको कोरोना संक्रमितको संख्या एक मात्र फेला परेको बताउँदै भारतमा बढ्दै गएको कोरोनाको कहरबाट बच्न नाकाहरू पूर्ण रूपमा बन्द हुनुपर्नेमा जोड दिए । ‘सीमामा निर्बाध रूपमा आउजाउले भयावह स्थिति ल्याउन सक्छ,’ उनले भने, ‘भारतसँगको सीमा पूर्ण रूपमा बन्द गर्नु नै हाम्रा लागि उत्तम विकल्प हो ।’

प्रकाशित : वैशाख ७, २०७८ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?