कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रामराजा प्रतिष्ठान : दुई वर्षदेखि जग्गा प्राप्तिमै अलमल

मन्त्रालयमै अड्कियो फाइल, विनियोजित बजेट खर्च भएन

राजविराज — गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको नाममा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने संघीय सरकारको योजना अलपत्र परेको छ । करिब दुई वर्षअघि सप्तरीको राजविराजमा प्रतिष्ठान स्थापना गरिए पनि जग्गा प्राप्ति प्रक्रिया अड्किएकाले निर्माण सुरु हुन नसकेको हो ।

२०७५ पुस २३ गतेको मन्त्रिपरिषद्को बैठकले रामराजा प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो । लगत्तै, प्रदेश २ को सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठान बनाइछाड्ने प्रतिबद्धता दोहर्‍याएका थिए । उनकै प्रतिबद्धतापछि रामराजा प्रतिष्ठान निर्माणका लागि सम्भाब्यता अध्ययन, वातावरणीय परीक्षणलगायतका प्राविधिक काम टुंगिएको थियो । राजविराज नगरपालिकाले वडा नम्बर १० विरौलमा ६२ बिघा जग्गा प्रतिष्ठानका लागि उपलब्ध गराउने निर्णय गरेको थियो ।

‘नगरपालिका, गृह मन्त्रालयलगायत सबै निकायबाट प्रक्रिया पूरा गरेर जग्गासम्बन्धी फाइल भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा बुझाइयो,’ राजविराजका नगरप्रमुख शम्भुप्रसाद यादवले भने, ‘मन्त्रालयबाट जग्गाको कागजात अघि बढ्न नसक्दा प्रतिष्ठान निर्माणको काम अन्योलमा परेको छ । सुन्दै छु, जग्गाको फाइल मन्त्रालयको दराजमा थन्काइएको छ ।’ प्रतिष्ठानको पूर्वाधार विकास समितिले मंगलबार पुनः जग्गासम्बन्धी कागजात भूमिसुधार मन्त्रालयमा पठाएको छ । ‘ढिलाइ भएपछि फेरि आवश्यक सबै कागजात मन्त्रालयमा बुझाएका छौं,’ रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिका निर्देशक डा. रञ्जित झाले भने ।

सरकारले अघिल्लो आर्थिक वर्षमा ४० करोड रुपैयाँ प्रतिष्ठानका लागि विनियोजन गरेको थियो । तर, जग्गा हस्तान्तरणकै कारण त्यो रकम खर्च हुन सकेन । चालु आर्थिक वर्षमा सरकारले प्रतिष्ठानका लागि १० करोड रुपैयाँ विनियोजन गरेको छ । विनियोजित रकममध्ये साढे ५ करोड रुपैयाँ रकमान्तर भएको छ । अहिले साढे ४ करोड रुपैयाँ मात्र बाँकी रहेको प्रतिष्ठानको निर्देशक झाले जानकारी दिए । ‘जग्गाको समस्या समाधान भए मात्र बाँकी काम अगाडि बढ्न सक्छ,’ नगरप्रमुख यादवले भने, ‘सबैको चासो छ, प्रतिष्ठान कहिले बन्ला भन्नेमै छ । हामीले पनि दुई वर्षदेखि प्रतिष्ठानको नाममा जग्गा ल्याउनै कसरत गरिरहेका छौं ।’

प्रकाशित : वैशाख ४, २०७८ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?