कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजमार्गमा बढे स्तरीय होटल

रौतहट — गृह जिल्ला रौतहट पुग्दा एमाले नेता माधवकुमार नेपाल राजमार्गस्थित चन्द्रपुरको अल्पाइन होटलमा बस्थे । अरू गतिला होटल नभएकाले यही होटलले मात्रै विशिष्ट अतिथि पाउँथ्यो ।

पछि बनेको गौतम होटल पनि नेता नेपालको रोजाइँमा पर्‍यो । चार दिनअघि नेपाल चन्द्रपुर जाँदा तराई–इन होटलमा बास बसे । ‘चन्द्रनिगाहपुरमा गजबका होटलहरू खुल्न थाल्यो,’ नेपालले कार्यकर्तासित सुनाए, ‘जे होस् राजमार्गका होटलले प्रगति गर्दै छ ।’

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत पनि मंगलबार दिउँसो तराई–इनमा केही समय बिताए । २० करोड रुपैयाँ लगानीमा चन्द्रनिगाहपुरमा तराई–इन होटल भर्खरै सञ्चालनमा आएको सञ्चालक विजय खड्काले जनाए । होटलमा ४३ वटा कोठा छन् । पूर्वपश्चिम राजमार्गको चन्द्रनिगाहपुर खण्डमा पछिल्लो समय सुविधा सम्पन्न र आधुनिक होटल खुल्न थालेका छन् । भीआईपी र राजमार्गका यात्रुलाई लक्षित गरी खुलेका होटलहरू स्तरीय छन् ।

अहिले गौरमा एक र चन्द्रनिगाहपुरमा आधा दर्जन सुविधा सम्पन्न र महँगा होटलहरू छन् । चन्द्रनिगाहपुरमा तराई–इन, गौतम, आरोही, एएन प्लाजा, अमन होटल, अल्पाइन, आरआर गेस्ट हाउस, हिमालयन गेस्ट हाउस, पशुपति लज, उदय प्लाजा, चन्द्रनिगाहपुर गेस्ट हाउस, सुदर्शन होटल, ओम गेस्ट हाउस, रोमियो एन्ड जुलियट र गौरमा सिप्यालेस होटल राम्रोमा गनिन्छन् । गौतम होटलमा १७ करोड र आरोहीमा १० करोड रुपैयाँ लगानी रहेको सञ्चालकहरू बताउँछन् । चन्द्रनिगाहपुर क्षेत्रमा पार्किङ, सभाहलसहित विभिन्न प्रकारका खाना सुविधासहितका करोडौंको लगानीमा ठूला होटल खुलेका हुन् ।

नेपाल आउने भारतीय व्यापारी तथा पर्यटकहरूलाई लक्षित गरी ७ करोड लगानीमा गौरमा सियाप्यालेस होटल सञ्चालनमा ल्याइएको सञ्चालक अजय गुप्ताले बताए । होटल व्यवसायीहरूले यहाँ बस्न आउने पाहुनालाई आन्तरिक पर्यटन प्रवर्द्धन गर्न नुनथरक्षेत्र, सहिद पार्क, पुरनेवा दरबारलगायतका ठाउँ घुमाउने प्याकेजसमेत दिने तयारी गरेका छन् ।

प्रकाशित : वैशाख २, २०७८ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?