कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिरहाको कल्याणपुर नगरपालिकामा तालाबन्दीले कामकाज ठप्प

भरत जर्घामगर

सिरहा — सिरहाको कल्याणपुर नगरपालिकामा जनप्रतिनिधिहरुले सोमबारदेखि लगाएको तालाबन्दीका कारण कामकाज ठप्प भएको छ । 

सिरहाको कल्याणपुर नगरपालिकामा तालाबन्दीले कामकाज ठप्प

जनहितका विषय प्राथमिकतामा नदिएको र नगरप्रमुख तथा प्रशासकीय अधिकृतको मिलेमतोमा व्यापक अनियमितता भइरहेको भन्दै नगरपालिकाका १२ जना वडाध्यक्षमध्ये ८ वडाध्यक्ष र ७ जना कार्यपालिका सदस्यले नगरपालिकामा सोमबार तालाबन्दी गरेका हुन् । उनीहरुले विभिन्न ११ बुँदे माग राखी नगरपालिकामा तालाबन्दी गरेपछि मंगलबार कामकाज ठप्प रह्यो ।

मेयर र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा कार्यपालिकालाई जानकारी नदिई कमिसन र घूस लिई सेटिङमा विभिन्न कार्यहरु हुँदै आएको वडा ३ का वडाध्यक्ष अशोक मण्डलले आरोप लगाए । नगरपालिकामा भएको अनियमितता छानबिन, आय-व्यय पारदर्शी, कार्यपालिका बैठक नै नबसी मनपरी तरिकाले भएको नियुक्ति खारेज, पोखरी ठेक्का प्रक्रियालाई पारदर्शी गर्नुपर्ने, अधिकृतले आफूखुसी बाँडेको योजनाहरू बदर गरी कार्यपालिकाको निर्णयअनुसार गर्नुपर्ने, सबै जनप्रतिनिधिहरूको जानकारीबिना हुने गरेको नगरस्तरीय योजनाको उपभोक्ता समिति गठन कार्य रोक्नुपर्ने लगायतका माग उनीहरूको छ ।

नगरपालिकाले ९ महिनादेखि सामाजिक सुरक्षा भत्ता वितरण नगरेको र यसबारे पटक-पटक ध्यानाकर्षण गराउँदा पनि नगरपालिकाले बेवास्ता गरेको कल्याणपुर–११ का वडाध्यक्ष राजेश्वर यादवले बताए । उनले नगरपालिकाका बेथितिहरु समाधानका लागि आफूहरू पटक-पटक प्रयास गरे पनि बेवास्ता भएकाले तालाबन्दी गर्नुपरेको सुनाए । ‘हामीले पटक-पटक ध्यानाकर्षण गरायौं, तर वास्ता भएन,’ उनले भने, 'अब निकास नआएसम्म ताला खुल्दैन ।’

नगरपालिकाकी कार्यवाहक मेयर रोहिनी यादवले भने आफूलाई मागबारे कुनै जानकारी नै नदिई तालाबन्दी गरिएको दाबी गरिन् । ‘तालाबन्दी गर्नुभन्दा पहिला मागबारे जानकारी गराउनुपर्थ्यो, संवाद र सहकार्य गरेर समस्या समाधान गर्नुपर्थ्यो,’ उनले भनिन् ।

कल्याणपुर नगरपालिकामा मेयरमा निर्वाचित सूर्यनाथ मण्डल घूस प्रकरणमा मुछिएपछि निलम्बित छन् । त्यसयता नगरपालिकाकी उपमेयर रोहिनी यादवले कार्यवाहक मेयरको रुपमा कार्यभार सम्हाल्दै आएकी छन् ।

नगरपालिकामा १२ वटा वडामध्ये ६ वटा वडामा तत्कालीन राजपाका, ३ वटामा तत्कालीन एमालेका, २ वटामा कांग्रेसका र एउटामा स्वतन्त्र वडाध्यक्ष छन् ।

प्रकाशित : चैत्र ३१, २०७७ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?