कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

कोरोना रोकथामका लागि प्रदेश २ मा बढाइयो सतर्कता    

श्यामसुन्दर शशि

जनकपुर — कारोना संक्रमण फैलिन नदिन प्रदेश–२ स्थित स्वास्थ्य निर्देशनालयले मातहतका स्वास्थ्य संस्थाहरुलाई निर्देशन जारी गरेको छ । गत आइतबार पर्सामा कोरोना संक्रमित फेला परेपछि कोरोनाको दोस्रो चरण आउन सक्ने अनुमान गरी यस्तो निर्देशन जारी गरिएको हो । 

कोरोना रोकथामका लागि प्रदेश २ मा बढाइयो सतर्कता    

प्रादेशिक स्वास्थ्य निर्देशक विजयकुमार झाका अनुसार चैत ९ गते प्रदेश भित्रका सरोकारवालाहरुको बैठक बसी मातहतका अस्पताल र हेल्थ पोष्टहरुलाई जनस्वास्थ्यका विधिहरु अपनाउन तथा आआफ्ना स्वास्थ्य संस्थामा तयारी अवस्थामा रहन निर्देशन जारी गरिएको हो ।

‘होलीमा सामूहिक जमघट बढ्छ । पर्व मनाउन भारतबाट पनि धेरै जना फर्किन्छन् । यस्तोमा संक्रमण बढ्न सक्छ । प्रथम चरणमा जनस्वास्थ्यका विधिहरु अपनाउन निर्देशन दिएका हौं’ झा कान्तिपुरसँग भने ।

होलीपछि मुख्यमन्त्रीको अध्यक्षतामा रहेको प्रदेशस्तरीय कोरोना नियन्त्रण तथा निर्देशन समिति बैठक बस्ने जानकारी पनि निर्देशक झाले दिए । उनका अनुसार प्रदेश सरकारले प्रत्येक पालिकामा न्युनतम ५ शय्याको अस्थायी कोरोना अस्पताल निर्माण गर्न बजेट पठाइसकेको छ । सामान्य लक्षण भएका संक्रमितहरुलाई सम्बन्धित पालिकामै उपचार गर्ने रणनीति प्रदेश सरकारको छ । तर अधिकांश पालिकाले भने हालसम्म अस्थायी कोरोना अस्पताल निर्माण गरेका छैनन् ।

प्रदेश–२ का अधिकांश जिल्लामा जिल्लास्तरीय कोरोना नियन्त्रण समन्वय समितिको बैठक बसी क्वारेन्टीन र आइसोलेसन व्यवस्थापन विषयमा छलफल भएको जानकारी पनि उनले दिए ।

कोरोना जाँच गर्न प्रदेश २ का आठवटै जिल्ला अस्पतालमा आरटी पीसीआर मेसिन जडान भइसकेकोले स्वाब संकलन गर्ने समस्या नहुने उनले बताए । प्रदेश–२ मा हालसम्म १७ हजार २ सय २९ जना संक्रमित भएका छन् । तीमध्ये २ सय ९ जनाको मृत्यु भएको छ । चैत महिनामा २६ वटा संक्रमित फेला परेको उनले जानकारी दिए ।

प्रकाशित : चैत्र १३, २०७७ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×