भन्सारबाट छुटेको ट्रकमा अवैध कपडा

वीरगन्ज — वीरगन्जको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) बाट धान भनी जाँचपास भएको ट्रकबाट १ करोड ५ लाख रुपैयाँ बराबरको कपडा बरामद भएको छ । मंगलबार बिहान आईसीपीबाट जाँचपास भई निस्केको बीआर ०६ जीबी ४१५६ नम्बरको भारतीय ट्रकलाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएर जाँच गर्दा धानको बोरामुनि राखिएको ९३ पोका कपडा बरामद भएको हो ।

ट्रक चालक भारतीय नागरिक सुनिल यादवलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । थप अनुसन्धानका लागि ट्रकलाई राजस्व अनुसन्धान विभाग पथलैया पठाएको सशस्त्रका एसपी राजेन्द्र खड्काले जनाए । ‘वीरगन्जको रामगढवा निवासी दीपेन्द्रप्रसाद कलावरको नाममा रहेको तिरुपति खाद्यान्न तथा भुसा सप्लायर्सको नाममा भन्सार प्रज्ञापनपत्र काटेको पाइएको छ,’ सशस्त्रका एसपी खड्काले भने, ‘प्रज्ञापनपत्रमा ५ सय ५० बोरा धान उल्लेख भए पनि जाँच गर्दा ३ सय बोरा मात्र बरामद भएको छ ।’

उनका अनुसार ट्रकको माथिल्लो भागमा धानको बोरा र त्यसको मुनि कपडाका पोका राखिएका थिए । ९३ वटा पोकाभित्र सर्टिङ, सुटिङ, कुर्ता सुरुवाल, महँगा साडीलगायत कपडा छन् । राजस्व अनुसन्धान कार्यालयले कपडाको बजार मूल्य १ करोड ५ लाख रुपैयाँ मूल्यांकन गरेको एसपी खड्काले जनाए ।

प्रकाशित : चैत्र १२, २०७७ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?