कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बारा-पर्सामा एकै दिन १० जना संक्रमित

अजित तिवारी

जनकपुर — भारतका विभिन्न राज्यमा कोरोना संक्रमण दर फेरि बढेसँगै सीमा जोडिएको प्रदेश २ का बारा र पर्सामा एकै दिन १० जना संक्रमित थपिएका छन् । केही महिनायता कोरोना संक्रमण दर शून्यमा झरेको प्रदेश २ मा सोमबार एकैसाथ १० जनामा संक्रमण पुष्टि भएको हो ।

बारा-पर्सामा एकै दिन १० जना संक्रमित

जनकपुरस्थित प्रदेश २ स्वास्थ्य निर्देशनालयले जारी गरेको बुलेटिनमा नारायणी अस्पताल वीरगन्जमा २४ घण्टाभित्र ५० जनामा स्वाब परीक्षण गर्दा १० जना संक्रमित भेटिएको उल्लेख छ ।

निर्देशनालयका अनुसार बाराको जितपुर–सिमरा उपमहानगरपालिकाका फरक–फरक वडाका ६ जनामा संक्रमणको पुष्टि भएको छ । जसमा २७ र २८ वर्षीया दुई महिला र ३२, २०, २४ र ३१ वर्षका ४ पुरुष छन् ।

यस्तै, वीरगन्जका ३ जनामा पनि संक्रमण भएको छ । सोमबार थपिएका वीरगन्जका संक्रमित २२, २८ र ३८ वर्षका छन् । वीरगन्जमै गरिएको परीक्षणमा झापाको मेचीनगर–१२ का २५ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ । पर्साका एक संक्रमित भने दुई साताअघि भारतको मुम्बईबाट फर्किएका थिए ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा होम आइसोलेसनमा रहेको नारायणी अस्पतालका वरिष्ठ डाक्टर नीरज सिंहले बताए । प्रदेश २ मा हाल २० पुरुष र १० महिला सक्रिय संक्रमित छन् । कोरोना संक्रमणबाट प्रदेश २ भरि २ सय ९ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा सबैभन्दा बढी पर्सामा ५१ र बारामा २४ जना छन् । यही दुई जिल्लामा संक्रमितको संख्या लामो अन्तरालपछि एकै दिन १० जना थपिँदा त्रास बढेको छ ।

संक्रमण दर उच्च भएका भारतीय क्षेत्रमा रहेका नेपाली स्वदेश फर्किन थालेका छन् । चिकित्सकले नाकामा स्वास्थ्य सतर्कता अपनाउन सुझाइरहे पनि नेपाल छिर्नेलाई सीमाका सुरक्षाकर्मीेले सामान्य सोधपुछबाहेक स्वास्थ्य सचेतनाका काम गर्न सकेका छैनन् ।

प्रकाशित : चैत्र १०, २०७७ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?