गाउँपालिकाले टेरेन पञ्जीकरण विभाग र अदालतको निर्देशन- प्रदेश २ - कान्तिपुर समाचार

गाउँपालिकाले टेरेन पञ्जीकरण विभाग र अदालतको निर्देशन

भूषण यादव

वीरगन्ज — गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निर्देशन र उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जको अन्तरिम आदेश पर्साको कालिकामाई गाउँपालिकाले नटेरेको पाइएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजनाको लागि गत वर्ष राष्ट्रव्यापी खुला प्रतियोगिताबाट एम.आइ.एस अपरेटर र फिल्ड सहायक छनोट गरेको थियो । यसरी छनोट भएका एम.आइ.एस अपरेटर र फिल्ड सहायक मुलुकको ७५३ वटै पालिकाको सेवा इकाइमा नियुक्त भएका थिए ।

सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली अनलाइन गरी सुदृढ गर्न अन्य पालिकाझैं पर्साको कालिकामाई गाउँपालिकामा पनि गत २०७६ पुसमा एम.आइ.एस अपरेटरमा लक्ष्मण साह र फिल्ड सहायकमा भेष साह नियुक्त भएका थिए । आयोजनाको कार्य सम्पन्न नहुँदै विभागको स्वीकृति बिना गाउँपालिकाले दुवै कर्मचारीलाई कामबाट हटाएको छ । दैनिक ज्यालादारीमा गैरकर्मचारीबाट काम गराइएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक जितेन्द्र बस्नेतले पुस २० मा गाउँपालिकालाई आयोजनाको अवधि बाँकी रहेको र अनुभव भएका कर्मचारीको आवश्यकता आयोजनालाई अझै विद्यमान रहेको हुँदा दुवै कर्मचारीको करार सम्झौता म्याद थप गरी कार्य गराउन उपयुक्त हुने भएकोले आयोजना अवधिभरको लागि एक पटकमा बढीमा एक वर्ष अवधि कायम गर्ने गरी सेवा करार सम्झौताको म्याद थप्न पत्राचार गरेका थिए ।

गत पुस १४ मा गाउँपालिका अध्यक्ष नथुनी प्रसादले काम र प्रगति विवरण सन्तोषजनक नरहेको भन्दै पुस ११ मा बसेको कार्यपालिकाको बैठकमा निर्णय भएकोले करार नविकरण गर्न नसक्ने जनाएका थिए । २०७७ मंसिर ८ मा करार अवधि सकिने भएकाले एम.आइ.एस अपरेटर र फिल्ड सहायकले कात्तिक २४ मा गाउँपालिकामा म्याद थपका लागि निवेदन दिएका थिए । गाउँपालिकाले म्याद नथपेपछि विभागमा उजुरी दिएका थिए ।

गाउँ कार्यपालिकाले काम र प्रगति विवरण सन्तोषजनक नरहेको भन्दै म्याद नथप्ने निर्णय गरेपनि गाउँपालिका कार्यालयको मंसिर ८ को टिप्पणी र आदेशमा एम.आइ.एस अपरेटर लक्ष्मण साहको कार्यसम्पादन सन्तुष्ट रहेको उल्लेख भएको पाइएको छ । गाउँपालिकाका प्रशासन शाखा प्रमुख अधिकृत राजु अधिकारीले प्रमुख प्रशासकीय अधिकृतलाई पेश गरेको प्रतिवेदनमा एम.आइ.एस अपरेटरको कार्यसम्पादन स्तर सन्तुष्ट रहेको तथा उक्त कार्यक्रमसँग सम्बन्धित कार्यहरु सम्पादन समेत बाँकी रहेको एवम् राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट समेत करार अवधि नविकरण सम्बन्धी परिपत्र समेत भएको हुँदा उक्त कर्मचारीसँग करार सम्झौता गरि बढीमा एक वर्ष नबढने गरि म्याद थप्न मनासिब देखिएको उल्लेख छ ।

विभागको निर्देशन नटेरेपछि एम.आइ.एस अपरेटर लक्ष्मण साहले माघ १४ मा गाउँपालिका विरुद्ध उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा मुद्दा दर्ता गराएका थिए । माघ १९ मा उच्च अदालतले एम.आइ.एस अपरेटरलाई हाजिर गराई काम गर्न दिन अन्तरिम आदेश दिएको थियो ।

‘अदालतको आदेशको प्रमाणित प्रतिलिपी लिएर गाउँपालिका पुग्दा पनि काम गर्न दिइएको छैन्,’ एम.आइ.एस अपरेटर लक्ष्मण साहले भने, ‘अदालतको आदेश आएपछि माघ २६ देखि एउटा छुट्टै रजिष्ट्ररमा हाजिरी मात्र गराएका छन्, काम गर्न दिएका छैनन् ।’ राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले छनौट गरि पठाएका कर्मचारीको म्याद नविकरण नगरि गाउँपालिकाले गैरकर्मचारी सुनिल पटेलबाट व्यक्तिगत घटना दर्ता गराइरहेको छ ।

प्रमुख प्रशासकीय अधिकृत जयचन्द्र साहले अदालतको आदेश बमोजिम आफूले कार्य गरेको दाबी गर्छन् । ‘हाजिर गराएका छौं,’ कान्तिपुरसँग फोनमा उनले भने, ‘अदालतको आदेश बमोजिम भइरहेको छ ।’ एमआइएस अपरेटरलाई छुट्टै रजिष्ट्ररमा हाजिरी गराएर कामचाहिँ गैरकर्मचारीबाट गराइएको प्रश्नमा उनले भने, ‘म अहिले एउटा मिटिङमा छु, पछि कुरा गरौंला ।’

प्रकाशित : फाल्गुन १३, २०७७ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्

कलामा ऐतिहासिक दस्ताबेज

पुरातात्त्विक महत्त्वका संरचनालाई भूकम्पले के गर्‍यो र पुनर्निर्माणपछिको परिवर्तन कस्तो आयो भन्ने कविराजका चित्रमा छन् ।
सुशीला तामा‌ङ

काठमाडौँ — विभिन्न समय र कालखण्डमा आएका उतारचढावले सबै चिजबिजमा परिवर्तनको चक्र चली नै रहेका छन् । चक्रसँगै परिवर्तित वस्तु तथा तत्कालीन कालखण्डले पछिल्लो पुस्ताका लागि कस्तो सम्बन्ध राख्ला ?

हिजोको दिनलाई नियाल्दै आजको पुस्ताले भोलिको परिकल्पना कसरी गर्न सक्ला ? हाम्रो आफ्नोपन जोडिएका चिजबिजलाई हाम्रा सन्ततिले कसरी पहिचान गरेर आत्मीयता देखाउला ? यिनै प्रश्नको एकमुष्ट जवाफ खोज्दै चित्रकार कविराज लामा मौलिक पहिचान बोकेका सम्पदालाई झन्डै एक दशकदेखि खोतलेर कलाकृतिमा उतार्दै छन् ।

धार्मिक तथा सांस्कृतिक रूपमा महत्त्वपूर्ण मानिएका काठमाडौं उपत्यकाका मठमन्दिर, विश्व सम्पदा सूचीमा परेका सम्पदाको २०७२ को भूकम्पपछिको भग्नावशेष रूप तथा पुनर्निर्माण चरणहरूलाई समेटेर तयार गरिएका लामाका कलाकृति यतिबेला बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा प्रदर्शनीमा छन् । ‘साइकल्स अफ इम्पेर्मेन्स’ शीर्षक राखिएको प्रदर्शनीमा भूकम्पपछिको काठमाडौं, ललितपुर र भक्तपुरसँगै केही ग्रामीण बस्तीका संरचनालाई कलाकृतिमा उतारिएको छ । भूकम्पपछि तत्कालै अध्ययन, अनुसन्धान तथा अवलोकन गरी तयार गरिएका चार वर्षको अवधिमा सिर्जना गरिएका कलाकृति एकल प्रदर्शनीका रूपमा अगाडि ल्याइएको लामाले बताए ।

सांस्कृतिक सम्पदालाई कलामा दस्ताबेजका रूपमा समेट्न लागिपरेका लामा नेपालमा प्रिन्ट मेकिङ चित्रकला विधामा स्थापित चित्रकार हुन् । प्राकृतिक प्रकोप तथा विपत्तिबाट हाम्रा वरपरका परिवर्तित वस्तु तथा तत्कालीन कालखण्ड पछिल्लो पुस्ताका लागि इतिहास बन्ने उनको ठहर छ । ‘भूकम्पजस्ता आपत्कालीन समयलाई चित्रण गर्ने हामीसँग फोटाहरू प्रमाणका रूपमा छन्,’ उनी भन्छन्, ‘म आफू कलाकार भएका तानाले ती बिग्रेका र भत्केका चिजलाई मैले कलामा डकुमेन्टेसन गर्ने अठोट लिएर अगाडि बढेँ ।’

त्यसैले त जापानबाट भर्खरै जस्तो प्रिन्ट मेकिङ चित्रकला अध्ययन गरी फर्केका लामाले भूकम्पपछि सिर्जनाकर्मलाई सिरिजमा झनै फराकिलो बनाउँदै लगे । भूकम्पले क्षतविक्षत बनाएका सहर तथा ग्रामीण क्षेत्रका भौतिक संरचनालाई प्रत्यक्ष रूपमा अवलोकन गरे । लथालिंग बनेका ऐतिहासिक सम्पदा देख्दा उनलाई नरमाइलो लाग्यो । बन्दै गएका संरचनामा प्रयोग गरिएका आधुनिक शैली, वस्तु तथा मानव श्रमले उनको मन छोयो । प्रत्येक दिन कलामा उतार्दै लगे । आफ्नो पुर्ख्यौली थलो काभ्रेमा भग्नावशेष रूपमा देखिएको घरदेखि भूकम्पले नै प्रभाव पारेको काठमाडौंमा वसन्तपुर क्षेत्र, स्वयम्भू, बौद्धनाथ, पशुपति क्षेत्र, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार क्षेत्रसम्मलाई क्यानभासमा उतारे ।

इचिङ, लिथोग्राफी र उड कटका माध्यममा तयार गरिएका चित्रमा लामाले भग्नावशेष सम्पदासँगै पुनर्निर्माण चरणलाई विशेष रूपमा प्रस्तुत गरेका छन् । स्वयम्भू, बौद्धनाथ, पाँचतले मन्दिरमा बाँस तथा फलामको खट लगाएर मानिसले पुनर्निर्माण गर्दै गरेको क्षणलाई उनले जस्ताको त्यस्तै उतारेका छन् । ती कलाकृतिले पछिल्लो पिँढीलाई भूकम्पले क्षतिग्रस्त अवस्थादेखि त्यसलाई पुन:स्थापना गर्दाको क्षणिक समयलाई प्रतिबिम्बित गर्ने लामाले जनाए । उनी भन्छन्, ‘हामीले अहिले बाँस र फलामको खट बनाएर हाम्रा सम्पदाको पुनर्निर्माण प्रक्रिया देख्यौं । के थाहा, भोलि हाम्रा पुस्ताले यस्तो चरण नदेख्न पनि सक्लान् । त्यसैले मेरा पेन्टिङ यो समयको प्रयोग र माध्यमलाई झल्काउने डकुमेन्ट पनि हुन् ।’

प्रदर्शनीमै राखिएका ढुंगेधारा सिरिजका उनका चित्रमा पनि उनको भनाइ झल्कन्छ । ढुंगेधारा चित्रित पहिलो चित्रमा पानी झरेको देखाइएको छ भने दोस्रोमा धाराको शैलीमा पानी आउने पाइप जडान गरिएको छ । तेस्रोमा भने पानीविहीन सुक्खा ढुंगेधारा देखाइएको छ । समयसँगै आधुनिक सहरीकरण विस्तारले विस्थापित बन्दै गएका परम्परागत ढुंगेधारालाई प्रतीकात्मक रूपमा चित्रण गरिएको लामाले सुनाए । यी चित्रलाई अवलोकन गरिरहँदा यसलाई अस्थिरताको एक प्रमाणका रूपमा उनका कलाकृतिले बोलिरहेको भान हुन्छ ।

भूकम्प गएको झन्डै ६ वर्ष टेक्न लाग्दा पनि पशुपति मृगस्थली क्षेत्रका पूर्ण रूपमा पुनर्निर्माण हुन नसकेका सम्पदालाई उनले विशेष बनाई इंगित गरेका छन् ।

राणाकालीन समयमा निर्माण भएको मृगस्थलीमा रहेको लथालिंग अवस्थाको विश्वरूपालाई उनले चित्रमा उतारेका छन् । सर्वसाधारणलाई अवलोकनका लागि निषेध गरिएको विश्वरूपालाई उनले सामाजिक सञ्जाल तथा विभिन्न स्रोतबाट प्राप्त फोटोका आधारमा चित्रमा उतारेका हुन्, जहाँ पार्वतीलाई ढलेको देखाइएको छ भने मूर्तिका भग्नावशेष अंगलाई यत्रतत्र छरिएको देख्न सकिन्छ । वसन्तपुरस्थित गद्दी बैठकको अगाडि लक्ष्मीनारायण मन्दिरको मूर्ति पनि उनले बनाएको चित्रमा छ ।

भूकम्पलाई कलामा दस्ताबेजका रूपमा उतार्न सम्पदा नै किन रोजाइमा पर्‍यो त भन्ने प्रश्नमा लामाले तुरुन्त जवाफ फर्काए, ‘म आफैं पनि आर्टिस भएकाले कलाको आर्टिस्टिक भ्यालु । हामीले अहिले जति गरेका छौं, त्यो बेलाको कलाकारले यति महत्त्वपूर्ण कलाकृतिका लागि कति साधना र मेहनत गरेका होलान् । यसलाई हामीले जोगाएनौं भने यत्तिकै बिलाएर जान सक्छ । कलाप्रतिको आत्मीयता र प्रेमले नै मेरो कला सिर्जना यतैतिर मोडियो ।’ सम्पदा संरक्षणका लागि राज्य तथा सम्बन्धित निकायलाई आफ्ना कलाकृति खबरदारीका रूपमा रहेको लामाले खुलाए ।

रङ, क्यानभास तथा आधुनिक प्रविधिको विकासले परम्परागत प्रिन्ट मेकिङ विधालाई केही ओझेल पारेको उनको अनुभव छ । ग्यालरीका अनुसार लामाका कलाको प्रदर्शनी चैत ६ गतेसम्म रहनेछ ।

प्रकाशित : फाल्गुन १३, २०७७ ११:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×