आफ्नै बस चलाउँदै प्रदेश २ सरकार

प्रदेश सरकारले आफ्नै सार्वजनिक बस सञ्चालनमा ल्याएको यो नै पहिलो हो
सन्तोष सिंह

धनुषा — प्रदेश २ सरकारले सार्वजनिक यातायातका लागि पाँचवटा बस चलाउने भएको छ । जनकपुर–वीरगन्ज, जनकपुर–राजविराज र वीरगन्ज–राजविराज रुटमा प्रदेश परिवहनको बससेवा सुरु गर्न लागिएको हो ।

आफ्नै बस चलाउँदै प्रदेश २ सरकार

भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले शनिबार बस सार्वजनिक गर्दै फागुनभित्र सञ्चालन गरिसक्ने बताए । त्यसका लागि कार्यविधि तयार रहेको र सञ्चालक समिति गठन प्रक्रिया अन्तिम चरणमा पुगेको उनको भनाइ छ । ‘प्रदेश सरकारले आफ्नै सार्वजनिक बस सेवा सञ्चालनमा ल्याएको यो नै पहिलो हो,’ मन्त्री सोनलले भने, ‘प्रदेशका हरेक जिल्लामा गुड्ने बससेवाले यात्रुलाई सहज हुनेछ ।’

मन्त्रालयले बसको भाडा र चालक तथा अन्य कर्मचारी नियुक्तिका लागि मन्त्रिपरिषद्मा छिट्टै प्रस्ताव लैजाने तयारी गरेको छ । मन्त्रालय स्रोतका अनुसार बसको भाडा अन्य सार्वजनिक र निजी बससेवाभन्दा सस्तो हुनेछ । भारतको नयाँदिल्लीमा बनाइएका ५० सिट क्षमताका बस आरामदायी र आधुनिक रहेको प्रदेश सरकारको दाबी छ । बसमा जीपीएससमेत जोडिएको छ । तीन महिनाअघि किने पनि नीति–नियम नबनेकाले चलाउन ढिलाइ भएको मन्त्रालयले जनाएको छ ।

‘बस सञ्चालनमा आएपछि केही बिसौनीमा रिफ्रेसमेन्ट हाउस बनाउने योजना पनि छ,’ मन्त्री सोनलले भने, ‘ठाउँ–ठाउँमा शौचालय पनि बनाइनेछ ।’ मन्त्रालयको वार्षिक समीक्षात्मक कार्यक्रममा जनशक्ति अभाव भए पनि विकास निर्माणलाई गति दिइएको उनले दाबी गरे । दुई आर्थिक वर्षको बजेट सञ्चालन गर्दै प्रदेशको नीतिअन्तर्गत प्रदेश परिवहन सञ्चालनदेखि सडक, सिँचाइ, दलित छात्रावास, ज्येष्ठ नागरिक आवास, जनता आवास र पुल निर्माण गरिएको मन्त्री सोनलले बताए । ‘दुई आर्थिक वर्षमा ३ सय ५६ किलोमिटर सडक निर्माण र प्रदेशका ८ वटै जिल्लामा सिँचाइका योजना सम्पन्न हुने अवस्थामा छन्,’ मन्त्री सोनलले भने । निर्माणाधीन १० झोलुंगे पुलमध्ये तीनवटा सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : फाल्गुन १, २०७७ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?