कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लोकतन्त्रमा चुनावबाट भाग्न मिल्दैन : महतो

अवधेशकुमार झा

राजविराज — जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले लोकतन्त्रमा चुनावबाट भाग्न नमिल्ने बताएका छन् । सप्तरीको राजविराजमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला आफूहरूलाई मान्य हुने भन्दै निर्वाचनबाट भाग्न नचाहेको प्रस्ट पारे ।

लोकतन्त्रमा चुनावबाट भाग्न मिल्दैन : महतो

उनले अहिलेको समस्याको समाधान चुनाव वा पुन:स्थापना दुवैले दिन नसक्ने जिकिर पनि गरे । ‘अहिले न चुनाव न त प्रतिनिधिसभाको पुन:स्थापनले नै निकास दिन सक्छ,’ महतोले भने, ‘मुलुकको समस्याको स्थायी समाधान औपनिवेशिक चिन्तनको अन्त्य भए मात्र हुन सक्छ ।’

कम्युनिस्ट पार्टीहरूमा अहिले स्वार्थको लडाइ मात्र भएको दाबी गर्दै उनले भने, ‘बेइमानहरूको कुनै ठेगान छैन, कुन बेला फेरि प्रतिगमन सच्चियो भनेर गठजोर गर्दै कुर्सीमा बस्न पनि बेर लगाउँदैनन् ।’ प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हिटलरशाही’ देखाएको महतोले आरोप लगाए ।

नेपालमा कम्युनिस्ट र कांग्रेस असफल भएको दाबी गर्दै उनले वैकल्पिक शक्तिका रूपमा जनता समाजवादी पार्टीको उदय भएको पनि उनले बताए ।

प्रकाशित : माघ ९, २०७७ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?