कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सशस्त्र प्रहरी निरीक्षकले ४० हजार ‘घूस’ फिर्ता दिए

लक्ष्मी साह

बारा — बोर्डर आउट पोस्ट (बीओपी) पचरौतामा खटिएको सशस्त्र प्रहरीले स्थानीय एक भैंसी व्यापारीसित लिएको ४० हजार रुपैयाँ घूस फिर्ता गरेको छ । पोस्टका सशस्त्र प्रहरी निरीक्षक सिंहवीर (सागर) मल्लले व्यापारीका भाइ गजेन्द्र यादवलाई मंगलबार कार्यालयमै बोलाएर उक्त रकम फिर्ता गरेका हुन् ।

पचरौता नगरपालिका–३ का देयाली यादवले गाउँघरबाट ६ वटा भैंसी र राँगा खरिद गरी चितवनको नारायणगढ बजार लग्दै गर्दा सशस्त्र प्रहरीले कोतवाली गाउँ नजिकबाट भैंसी र गाडी सोमबार राति पक्राउ गरी ४० हजार घूस लिएर छाडेको थियो । भारतबाट भैंसी ल्याएको भन्दै प्रहरीले घूस लिएको थियो ।

दसगजासितै जोडिएको पचरौता नगरपालिकामा केही महिनाअघि मात्रै सीमा सुरक्षाका लागि बीओपी स्थापना भएको हो । घूस लिएको विषयमा गाउँमा हल्लीखल्ली मच्चिएपछि प्रहरीले उक्त रकम फिर्ता गरेको हो । बीओपीका सशस्त्र प्रहरी निरीक्षक मल्ल र जवान नन्दकिशोर ठाकुरले घूस लिएको व्यापारी यादवले बताए । यादवसित रकम लेनदेनको अडियो रेकर्डसमेत छ । नेपाल–भारत दसगजा भन्दा ७/८ किमी उत्तरबाट प्रदेश२–०३००१च१९२३ नम्बरको गाडीमा लोड गरिएको भैंसी पक्राउ गरिएको थियो ।

५५ हजारबाट बार्गेनिङ सुरु भई ४० हजारमा कुरा मिलेपछि भैंसी छाडिएको व्यापारीले बताए । प्रहरीले भारतबाट पैठारी गरी भैंसी किन ल्याएको भन्दै पैसा नदिए भन्सार चलान गरिदिने भनेपछि राति नै ४० हजार रुपैयाँ बेनौली बजारमा प्रहरीलाई दिएको व्यापारीले बताए । भारतबाट चौपाया पैठारी एक वर्षदेखि बन्द छ । भारतले नै रोक लगाएपछि नेपालमा वैधानिक रुपले पैठारी हुँदैन, लुकीछिपी भारतबाट ल्याउने गरेका छन् ।

भारतबाटै लुकीछिपी ल्याएको आशंकामा प्रहरीले व्यापारीलाई डरत्रास देखाएर ४० हजार लिएका थिए । ‘५५ हजार माग गरे पनि ४० हजार दिनुपर्यो,’ व्यापारी देयालीका भाइ गजेन्द्र यादवले भने, ‘भैंसी नेपालमै खरिद गरिएको वडाले गरेको सिफारिस देखाएपछि ४० हजार इन्सपेक्टर मल्लले मंगलबार दिउँसो फिर्ता दिनुभयो ।’ प्रहरी निरीक्षक मल्लले ४० हजार फिर्ता दिएको स्वीकारेका छन् ।

‘४० हजार रकम फिर्ता दिएको छु,’ प्रहरी निरीक्षक मल्लले भने, ‘मैले होइन, बिचौलियाले पैसा खाएको छ ।’ उनले विचौलियाको परिचय भने खुलाएनन् । प्रहरी निरीक्षक मल्लको आदेशमा प्रहरी हवल्दार बलराम बर्तौला र जवान नन्दकिशोर ठाकुरले भैंसी नियन्त्रणमा लिई गरी कार्यालयमा बुझाइको थियो । आफू र जवान नन्दकिशोरले प्रहरी निरीक्षकको आदेशमा भैंसी पक्राउसम्म मात्र गरेको हवल्दार बर्तौलाले बताए । ‘सरले पक्राउ गर्न आदेश दिएपछि पक्राउ गरेर ल्याइदियौं, त्यसपछि के भयो आफूहरुलाई थाहा छैन्,’ बर्तौलाले भने ।

व्यापारीसित भएको अडियो रेकर्डमा जवान नन्दकिशोरले रकमको बार्गेनिङ गरेका छन् । ‘इन्सपेक्टर साब र बिचौलियालाई घूसको बारेमा थाहा छ, मलाई थाहा छैन,’ जवान नन्दकिशोरले भने । सशस्त्र प्रहरी १२ नम्बर गण कलैयाका सशस्त्र प्रहरी नायब उपरीक्षक सञ्जीव पाण्डेले घूसबारे छानबिन हुने बताए ।

प्रकाशित : माघ ७, २०७७ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?