सेनाको गाडीको ठक्करबाट एकको मृत्यु
राजविराज — नेपाली सेनाको गाडीको ठक्करबाट बुधबार सप्तरीमा एकजनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको रुपनी गाउँपालिका-१ रुपनी चोकमा सेनाको बा १ ग १९८१ नम्बरको वानटन गाडीले स ५ प ५०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार अग्नीसाइर कृष्णासवरण गाउँपालिका २ का ६५ वर्षीय रामचन्द्र चौधरीको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएक चौधरीलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपाली सेनाको सूर्यदल गण विराटनगरबाट भैरव दल गण ललितपुरका लागि अदलीबदली गर्न ३२ जनाको टोली लिएर जाँदै गरेको वानटनले मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्कर दिने गाडी र चालक धरान १७ का मनिषराज राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित : पुस २२, २०७७ १५:२०