कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९८

चुरे दिवसमा वृक्षारोपण

विराटनगर — चुरे उत्थानशील आयोजना कोशीले चुरे दिवसको सन्दर्भ पारेर इलामको चुलाचुली–१ स्थित कमल सामुदायिक वनमा आइतवार वृक्षारोपण गरेको छ ।

चुरे दिवसमा वृक्षारोपण

चुरेको संरक्षण गर्ने प्रतिबद्धताका साथ रैथाने प्रजातिका एक हजार भन्दा बढी बिरुवा रोपिएको हो । चुलाचुली–१ स्थित कमल खोला किनारको चुरे क्षेत्रमा बाँस, अम्बा, अमला, जामुन, लगायतका रैथाने प्रजातिका एक हजार बिरुवा रोपिएका छन् । सब-डिभिजन वन कार्यालय चुलाचुली, बेलबारी, र डिभिजन वन कार्यालय त्रिवेणी उदयपुरले सहयोग गरेको कार्यक्रममा चुरे उत्थानशील आयोजनाले बिरूवा उपलब्ध गराएको थियो ।

चुरे उत्थानशील आयोजनाका राष्ट्रिय निर्देशक नबराज पुडासैनीले चुरे क्षेत्र संरक्षणमा जोड दिँदै चुरे क्षेत्र जोगाउन सकिएन भने तराईका सर्वसाधारणहरुको जीवन र जिविकामै जोखिम उत्पन्न हुन सक्ने बताए ।

पछिल्लो समयमा वनविनाश, नदीजन्य पदार्थको उत्खनन्, लगायतका मानवीय गतिविधिले चुरेको वातावरणमा जोखिम उत्पन्न भएको भन्दै पुडासैनीले चुरे नजोगाए मानव जीवनमै समस्या उत्पन्न हुने दावी गरे ।

यो क्षेत्रको संरक्षण पछिल्लो समयमा नेपाल सरकारको प्राथमिकतामा पर्दै आएको छ । १० वर्ष अगाडि असार २ गतेलाई चुरे दिवस घोषणा गरिएको थियो । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले ‘राष्ट्रपति चुरिया तराइ मधेस संरक्षण तथा विकास समिति’ अन्तर्गत संरक्षणका विभिन्न प्रयास जारी छन् ।

आयोजनाका कोशी प्रदेश संयोजक राज कुमार गुप्ताका अनुसार चुरेको संरक्षणका लागि सवै एकतावद्ध भएर लाग्नु पर्ने बताए । चुरे उत्थानशील आयोजनाले चुरे क्षेत्रका २६ वटा नदी प्रणालीमा जलवायु उत्थानशीलको वृद्धि गर्ने उद्देश्यले विभिन्न कार्य गर्दै आएको छ ।

वातावरण संरक्षण तथा जलवायु उत्थानशीलतामा चुरे उत्थानशील आयोजनाको निरन्तर कार्य अन्तर्गत वृक्षारोपण गरिएको हो । हाल कोशी प्रदेशमा आयोजनाका ७ वटा नर्सरी रहेका छन् जसमा कूल ४ लाख भन्दा बढी बिरुवा रहेका छन्। यी बिरूवामा रैथाने प्रजातिलाई प्राथमिकता दिइएको छ । बिरुवा रोप्न चाहने मानिसलाई बिरुवा निःशुल्क उपलव्ध गराइने गरेको गुप्ताले जनाए ।

प्रकाशित : असार २, २०८१ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?