कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीको पठनपाठन रोकिदियो

देवनारायण साह

मोरङ — नोबेल मेडिकल कलेज विराटनगरले अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीहरूको पठनपाठन बुधबारदेखि रोकिदिएको छ ।

नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीको पठनपाठन रोकिदियो

जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशनमा पुस ११ गतेदेखि पठनपाठन सञ्चालन गरेको कलेज प्रशासनले बुधबार अतिरिक्त शुल्क नबुझाए पढाउन नसक्ने भन्दै विद्यार्थीको नियमित पढाइ रोकेको हो ।

कलेजले पुस ११ गतेबाट कक्षा सुरु गरेको तर १२ र १३ गते सुरक्षा गार्ड राखेर अतिरिक्त शुल्क बुझाएपछि मात्रै कक्षामा प्रवेश दिने व्यवस्था गरेको एमबीबीएसमा भर्ना भएका एक विद्यार्थीले बताए । तर अभिभावकको आग्रहमा तीन दिन पढ्न दिए पनि बुधबारबाट अतिरिक्त शुल्क नबुझाउनेको पठनपाठन रोकेको हो ।

कलेजमा भर्ना भएका ९६ विद्यार्थीमध्ये ९ जना भारतीय, १० जना छात्रवृतिका र ५ जना अतिरिक्त शुल्क बुझाएका विद्यार्थीलाई छुट्टै कक्षा कोठामा राखेर पढाउन थालेको र आफूहरूको पठनपाठनमा रोक लगाएको विद्यार्थीहरूले गुनासो गरे ।

‘सुरुमा कलेजका प्रशासन फाँटका कर्मचारीले अतिरिक्त शुल्क नबुझाए पठनपाठन हुँदैन भन्नुभयो । प्रशासनका कर्मचारीले कलेजको सम्बन्धन खारेज गरिदिए, एमबीबीएस पठाउन बन्द गरौंला तर अतिरिक्त शुल्क बिना नपढाउने जानकारी गराउनुभयो । त्यसपछि कलेजका प्रिन्सिपल रामहरी घिमिरेले अतिरिक्त शुल्क नबुझाउनेलाई कलेजले पढाउन नसक्ने जानकारी गराएर पठनपाठनमा रोक लगाइएको हो, ती विद्यार्थीले भने ।

नोबेल मेडिकल कलेजमा एमबीबीएसमा भर्ना भएका विद्यार्थी र अभिभावकले पुस ५ गते जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापन पत्र बुझाएर आन्दोलन समेत गरेका छन् । कलेजले आयोगले तोकेभन्दा विपरीत पठनपाठन सुरु नै नगरी ४ लाख ८२ हजार अतिरिक्त शुल्क बुझाउन दबाब दिएपछि अभिभावक तथा विद्यार्थीले प्रदेश १ का मुख्यमन्त्री, मन्त्रीदेखि जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाएर न्यायका लागि अपील गरेका थिए ।

तर मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पुस ६ गते कलेज प्रशासन र विद्यार्थी तथा अभिभावकलाई राखेर छलफल गराएका थिए । छलफलपछि प्रजिअ दाहालले नोबेल मेडिकल कलेज विराटनगरलाई एमबीबीएसमा भर्ना भएका विद्यार्थीसँग चिकित्सा शिक्षा आयोगले तोकेभन्दा अतिरिक्त शुल्क नलिन र पुस ११ गतेदेखि पठनपाठन सुरु गर्न निर्देशन दिएका थिए ।

चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि कूल ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क निर्धारण गरेको छ । त्यसमध्ये प्रथम वर्षको १४ लाख ८५ हजार अभिभावकले बुझाइसकेका छन् । तर कलेज सञ्चालक सुनिल शर्मा अतिरिक्त २० लाख शुल्क बुझाउने सर्तमा हस्ताक्षर गराएपछि मात्रै पठनपाठन सुरु गर्ने अडानमा छन् ।

कलेजका प्रिन्सिपल डा. रामहरी घिमिरे र कलेजका जनसम्पर्क अधिकृत नारायण दाहाललाई पटकपटक सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहेका छैनन् ।

प्रजिअ दाहालले चिकित्सा शिक्षा आयोग र मेडिकल काउन्सिलले अनुगमन गरेर विद्यार्थीको समस्या समाधान गर्नुपर्ने बताए । उनले कलेजले अतिरिक्त शुल्क लिएको बीलसहित उजुरी लिएर आएमा कलेज सञ्चालकलाई ठगी मुद्दामा कारबाही गर्ने बताएका छन् ।

प्रकाशित : पुस १४, २०७८ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×