कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेतालाई ‘प्रवेश निषेध’

चुनावी आश्वासन पूरा नगरेको र समानुपातिक विकास नभएको भन्दै स्थानीयले नेता बहिष्कारको रणनीति बनाएका हुन्
विनोद भण्डारी

विराटनगर — विकासको आश्वासन दिएर भोट मागेर निर्वाचन जितेपछि भने कुनै वास्ता नगरेको भन्दै विराटनगर महानगरपालिका–४ र ५ का युवाले धरान–विराटनगर लोकमार्गको पश्चिम क्षेत्रमा तीन तहकै नेतालाई ‘प्रवेश निषेध क्षेत्र’ घोषणा गरेका छन् । उल्लंघन गर्नेलाई उनीहरूले कारबाहीको समेत चेतावनी दिएका छन् ।

नेतालाई ‘प्रवेश निषेध’

महानगरपालिका भए पनि स्थानीयले आधारभूत सुविधासमेत नपाएको र विकासको काम पटक्कै नभएको भन्दै विराटनगरको जामुनगाछीदेखि केसलिया खोलासम्म दुई सातादेखि नेताहरूलाई प्रवेश गर्न नदिएको स्थानीय सतिश पोखरेलले बताए । उक्त क्षेत्र वडा ४ र ५ को सीमा हो । यस क्षेत्रको सडक खण्डमा जताततै खाल्डा छन् । सामान्य हिँडडुल गर्नै पनि समस्या छ । स्थानीयका अनुसार धुलो उडेर बसिसक्नु छैन । वर्षायाममा भने सडकमा घुँडासम्म पानी जम्छ । खाल्डामा पानी जम्दा बालबालिका डुब्ने त्रास उत्तिकै छ ।

गत स्थानीय निर्वाचनमा वडा ४ का अध्यक्ष देवेन्द्र पोखरेल, वडा ५ का अध्यक्ष मीन आचार्य, नगर प्रमुख भीम पराजुली र संघीय सांसद लालबाबु पण्डित, प्रदेश १ (क) का सांसद चुमनारायण तबदार र १ (ख) का सांसद केदार कार्कीले उक्त क्षेत्रलाई उच्च प्राथमिकतामा राख्ने आश्वासन दिएका थिए । मोरङको क्षेत्र नं ६ मा पर्ने यहाँबाट एमालेका लालबाबु पण्डित संघीय सांसदमा निर्वाचित भएर सामान्य प्रशासन मन्त्रीसमेत बनेका थिए । त्यसैगरी क्षेत्रको प्रदेश क्षेत्र १ (ख) बाट कांग्रेसका केदार कार्की विजयी हुँदै अहिले प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री छन् । यो कांग्रेस नेता डा. शेखर कोइरालाको पनि क्षेत्र हो ।

पाँच वर्ष बित्न लाग्दा पनि तीन तहलाई प्रतिनिधित्व गर्नेहरूले चुनावताकाको बाचा पूरा गरेनन् । हार्ने उम्मेदवार पनि फर्केर आएनन् । अभियानका अर्का सदस्य सरल पोखरेलले सडकका खाल्डामा परेर पुरिएला जस्तो अवस्था रहेको टिप्पणी गर्दै भने, ‘वर्षामा डुबान र हिउँदमा धुलोको सास्ती भोग्नुपर्ने बाध्यता छ । यिनै सास्तीलाई दूर गर्न यस क्षेत्रका युवा एक भएर नेता बहिष्कार अभियान सुरु गरेका हौं ।’ यहाँका युवाको अभियानलाई बेवास्ता गर्दै नेताहरू निषेधित क्षेत्रमा प्रवेश गरे कारबाही गरिने उनले बताए ।

युवा अभियानकर्ताले २३ बुँदे माग राखेर सरोकारवालालाई ज्ञापनपत्रसमेत बुझाएका छन् । विकास निर्माण समानुपातिक ढंगले हुनुपर्ने, चुनावको समयमा विभिन्न दलका उम्मेदवारले गरेका प्रतिबद्धता पूरा गर्नुपर्ने र चुनाव सकिएपछि पनि जित्ने वा हार्ने नेताले जनताको घर दैलोमा पुग्नुपर्ने उनीहरूको जोडदार माग छ । त्यसैगरी भएका विकास निर्माणका कार्यक्रममा निकटलाई पोस्न छाड्नुपर्ने, विकासका काममा लिने कमिसनको अन्त्य गर्नुपर्ने, जनभावनाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्ने, जनताले समान्य आधारभूत सुविधा पाउनुपर्ने, जहाँका लागि छुट्याइएको योजना त्यही कायम गरिनुपर्ने र आस्था एवं प्रभावका रूपमा गरिँदै आएका विकास निर्माण कार्य रोक्नुपर्नेलगायत स्थानीय युवाको माग छ ।

उनीहरूले आफ्नो माग पूरा नभएसम्म अभियान जारी रहने बताएका छन् । त्यसका लागि अभियानका युवाले वडाका प्रत्येक घरघरमा नेता तथा दलविरुद्ध पर्चा टाँस्ने अभियान सुरु गरेका छन् । सामाजिक सञ्जालमा पनि अभियानले व्यापकता पाएको छ । अभियान सुरु गरेको दुई साता बित्दा यस क्षेत्रमा कुनै पनि दलका नेता तथा जनप्रतिनिधि आएका छैनन् । ‘यो वा त्यो दल भन्ने सवाल छैन, सबै दलका नेताको स्वार्थको सिकार भयौं,’ अभियानका अगुवा उत्तम दाहालले भने, ‘लोकमार्ग पश्चिमको क्षेत्रमा महानगरपालिकाको मापदण्डअनुरूप विकासको काम नभएपछि जनताले समस्या भोग्नुपरिरहेको छ, माग पूरा गर्नेतर्फ नलागेमा नेतालाई हाम्रो ठाउँमा छिर्नै दिँदैनौं ।’

अभियान सुरु भएपछि नेताहरूले आफूलाई फोन गरेर कार्यक्रम रोक्न दबाब दिँदै आएको दाहालले बताए । एमाले सांसद पण्डितले फोन गरेर म काठमाडौंबाट फर्केपछि भेट्छु भन्दै अभियान रोक्न आग्रह गरेको उनले बताए । ‘अरू दलका नेता र जनप्रतिनिधिले वास्ता गरेका छैनन्,’ उनले भने, ‘माग पूरा नभएसम्म कुनै पनि दलका संघीय मन्त्री र सांसद, प्रदेशका मुख्यमन्त्री र मन्त्री तथा महानगर प्रमुखलाई यो क्षेत्रमा प्रवेश दिने छैनौं ।’ जबर्जस्ती गरे नेतामाथि दुर्व्यवहारसमेत हुन सक्ने चेतावनी उनीहरूले दिएका छन् ।

‘सबै ठाउँको विकास समानुपातिक हिसाबले हुनुपर्ने हाम्रो माग हो,’ दाहालले भने, ‘धनाढ्य बसेकातिर विकासको बाढी छ, विपन्नको बसोबासतिर वास्ता छैन ।’ आएका योजना पनि नेताका आसेपासे मिलेर बाँडीचुँडी खाने गरेको उनले आरोप लगाए । विराटनगरको यस क्षेत्रलाई विकासविहीन बनाइएको दाहालको गुनासो छ । नेताहरूकै पक्षपातका कारण महानगरका बासिन्दा भन्न पनि लाजमर्दो भएको गुनासो गर्दै उनले भने, ‘यस क्षेत्रको विकासमा महानगरले ध्यान नदिए स्थानीयले तिरेको कर फिर्ता गर्नुपर्छ ।’

सांसद पण्डितले स्थानीय युवाको अभियानबारे आफूलाई केही जानकारी नभएको बताए । ‘भन्नु पनि केही छैन, आफ्नो क्षेत्रका जनता भएकाले फोन गरेर म आउँछु अनि कुराकानी गर्छु भन्नु स्वाभाविक हो,’ उनले भने । वडा ४ का अध्यक्ष देवेन्द्र पोखरेलका अनुसार उक्त सडक खण्ड महानगरले १० करोड रुपैयाँको टेन्डर गरेर निर्माण कार्य सुरु गर्दै छ । यस बाहेकका विकास निर्माणका काम प्राथमिकताका आधारमा भइरहेको पोखरेलले दाबी गरे । ‘केही काम सुरु भएको छ,’ उनले भने ।

स्थानीय युवाको उक्त अभियानबारे महानगर प्रमुख भीम पराजुलीले यो विपक्षी एमालेका कार्यकर्ताको चुनावी रणनीति भएको बताए । उनका अनुसार जामुनगाछीदेखि केसलिया खोलासम्मको हुलाकीमार्ग निर्माणाधीन छ । हुलाकी सडकको निर्माणमा १७ करोड रुपैयाँ खर्च हुँदै छ ।

‘त्यहाँ दुवैतर्फ महानगरले १२ करोड रुपैयाँको लागतमा नाला र कल्भर्ट बनाउँदै छ,’ उनले भने, ‘सडक खण्डमा परेका दुई/चार घर भत्काउन नसक्दा निर्माण कार्यले गति लिन नसकेको हो ।’ सडकमा धुलो उडेर स्थानीय प्रभावित भएकाले महानगरले दिनहुँ पानी हाल्ने काम गर्दै आएको पराजुलीले प्रस्ट्याए ।

प्रकाशित : पुस ३, २०७८ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?