टी बोर्डले बगानमै प्रशिक्षण दिने- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टी बोर्डले बगानमै प्रशिक्षण दिने

विप्लव भट्टराई

इलाम — चिया खेतीको विस्तार एवं प्रवर्द्धनमा अपेक्षित काम गर्न नसकेको आरोप खेपिरहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड यति बेला कृषकको बगानसम्म पुगेर आवश्यक प्राविधिक ज्ञान दिने अभियानमा लागेको छ ।

चियाको मुना पलाउन छाडेको यो सिजन काँटछाँटको हो । यही मौकामा टी बोर्डले जिल्लाका झन्डै ३ हजार चिया कृषकको बगानमा नै पुगेर प्रत्यक्ष रूपमा तालिम सञ्चालन गर्दै छ ।

हरेक ३० कृषक समूह बराबर २ जना अगुवा छानेर प्रयोगात्मक रूपमा तालिम सञ्चालनका लागि बोर्डले आवश्यक कृषक छनौट गरिसकेको छ । पुस २ देखि जिल्लाका ११ बगानमा एकैसाथ काटछाटको प्रक्रिया सुरु हुँदै छ । ‘अब बगानको जुन काम गर्ने समय हुन्छ त्यसैसम्बन्धी प्रयोगात्मक रूपमा कार्यक्रम सञ्चालन गरिनेछ,’ बोर्डका कार्यकारी निर्देशक विष्णु भट्टराईले भने, ‘यो अभियानमा आवश्यक विज्ञ प्राविधिकको व्यवस्था भइसकेको छ, भारतको दार्जिलिङबाट समेत प्राविधिक ल्याएर कृषकलाई चिया टिप्नेदेखि प्रशोधनसम्मका काममा दक्ष बनाउने हो ।’

चियालाई दीर्घकालीन विकास र बजारीकरणका लागि गुणस्तर सुधार पहिलो सर्त हो । यसका लागि चियाको बोटदेखि उपभोक्ताको ओठसम्मका प्रक्रियालाई ध्यान दिनुपर्ने विज्ञहरूको सुझाव छ । चियाको गुणस्तर सुधार गरेर अन्य देशमा निर्यात बढाउने विकल्पका लागि यहाँको चिया अर्गानिक र गुणस्तरीय भएको विश्वास दिलाउन जरुरी छ ।

यही भएर पनि पछिल्लो समय कृषकस्तरसम्मै पुगेर अर्गानिक प्रमाणीकरणदेखि नेपालको ट्रेडमार्क दिनेसम्मका काम गरिरहेको बोर्डको दाबी छ । अर्थोडक्स चियाको गुणस्तर वृद्धि गर्दै अन्तर्राष्ट्रिय वजारमा पहुँच बढाउन नेपाल सरकारबाट पहिलो पटक नेपाली चियाको दिगो निर्यात परियोजना सञ्चालनमा छ ।

यो परियोजनाअन्तर्गत बोर्डले गुणस्तर सुधारका लागि यो अभियान सुरु गरेको हो । परियोजनाले कृषकले भोग्नुपरेको मल, प्राविधिक ज्ञान, अर्गानिक प्रमाणिकरणमा हुने खर्च र झन्झट, हरियो पत्तीको उचित मूल्य निर्धारण जस्ता विषयमा देखिएका समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास कृषकमा छ ।

‘यी समस्या समाधानकालागि बोर्डको अगुवाइ जरुरी छ,’ केन्द्रीय चिया सहकारीका महासचिव रविन राईले भने । कोरोना कालमा चियामा परेको असरका बारेमा पनि बोर्डले केही गर्नुपर्ने स्थानीय उद्यमी र कृषकको भनाइ छ ।

प्रकाशित : पुस १, २०७८ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्

४० वर्षपछि घर आउँदै गरेका छोरा पर्खँदै धनमाया (तस्बिरहरु)

विप्लव भट्टराई

इलाम — ४० वर्षसम्म भारतका विभिन्न जेलमा बन्दी जीवन बिताएर फर्कँदै गरेका छोरा दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) प्रतीक्षामा माइ नगरपालिकाकी धनमाया बसिरहेकी छन् ।

उनीमात्र होइन अरु आफन्त र गाउँले नै भेला भएर उनलाई पर्खिरहेका छन् । वर्षौंदेखि अलग्गिएको छोरो कतिबेला आइपुग्छ भन्ने जिज्ञासा धनमायाको अनुहारमा प्रष्टै देखिन्छ ।

अदालतको आदेशपछि शनिबार दुर्गाप्रसाद तिम्सिना (दिपक जैसी) कोलकातास्थित दमदम जेलबाट मुक्त गरिएका थिए ।

दुर्गाप्रसादलाई लिन उनका भाइ प्रकाशचन्द्र, कोलकातास्थित नेपाली वाणिज्य दूतावासका सचिव सतिश थापालगायतको टोली कोलकाता पुगेका थिए ।

आइतबार बिहानसम्म झापाको काँकडभिट्टा आइपुगेका दिपक घर आउका लागि त्यहाँबाट टोलीसहित हिँडिसकेका छन् ।

जेलबाट छुटेपछि दुर्गाप्रसादले आफू निर्दोष रहेको बताएका छन् । उनले आफूलाई जेलमा कुटपिट गर्दै यातना समेत दिइएको बताएका छन् ।

कोलकाताको उच्च अदालतका न्यायाधीशद्वय थोट्टाथिल बी नायर राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयले बुधबार उनलाई छाड्न आदेश दिएको थियो ।

दुर्गाप्रसादका वकिल हिरक सिन्हाका अनुसार हरेक ६ महिनामा दुर्गाप्रसादको मानसिक अवस्थाबारे कोलकातास्थित नेपाली महावाणिज्य दूतावासलाई जानकारी गराउनुपर्नेछ ।

प्रकाशित : चैत्र ८, २०७७ १५:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×