सामुदायिक विद्यालयमा डिजिटल साक्षरता
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
तेह्रथुम — विद्यार्थी, अभिभावक, शिक्षक र समुदायलाई एकैसाथ सूचना प्रविधिमा अभ्यस्त गराउन तेह्रथुमका ४ सामुदायिक माध्यमिक विद्यालयमा डिजिटल साक्षरता अभियान सुरु गरिएको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![सामुदायिक विद्यालयमा डिजिटल साक्षरता](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2021/miscellaneous/1-05121-1-digital-education-news-23-1-15122021043129-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
ई–एजुकेसनको माध्यमबाट समुदायलाई कम्प्युटर प्रविधिमा जोड्न प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले यो अभियान सुरु गरेको हो । ‘प्रदेश समृद्धिका आधार, शिक्षामा डिजिटल पूर्वाधार’ नाराका साथ मेन्छ्यायाम गाउँपालिकाको गौखुरी मावि र श्रीजुङ मावी, फेदाप गाउँपालिकाको जनज्योति मावि र छथर गाउँपालिकाको भगवती माविमा एकसाथ डिजिटल साक्षरता अभियान सुरु गरिएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख लीलानाथ पोखरेलले जानकारी दिए ।
शैक्षिक गुणस्तर सुधारका लागि यो कार्यक्रम प्रभावकारी भएको प्रमुख पोखरेलले बताए । दस वर्षभित्रमा प्रदेशका सबै सामुदायिक विद्यालयलाई ‘पेपरलेस’ बनाएर कम्प्युटर प्रविधिमार्फत पठनपाठन गराउने योजना रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले पहिलो चरणमा प्रदेशभरका छनोटमा परेका एक सय सामुदायिक विद्यालयमा डिजिटल साक्षरता अभियान सुरु गरिसकेको छ । मन्त्रालयले दोस्रो चरणमा १ सय १२ विद्यालयलाई छनोट गरी कार्यक्रम अघि बढाउने तयारी गरेको छ ।
मन्त्रालयका अनुसार पहिलो चरणमा सामाजिक विकास मन्त्रालयको २ करोड, स्थानीय निकाय, इक्वालिटी फाउन्डेसन अमेरिका, युनाइटेड वर्ल्ड स्कुल र रोटरी क्लब इन्टरनेसनलको सहयोगमा अभियान सञ्चालन गरिएको हो । विद्यालयले आमा समूह र पूर्वविद्यार्थी समाज गठन गरेर अभियानमा सहभागी गराएको छ ।
विद्यार्थीसँगै उनीहरूका आमा वा महिला अभिभावकले पनि डिजिटल प्रविधि सिक्नुपर्छ भनेर अभियानमा सहभागी गराइएको गौखुरी मावि मोराहाङका शिक्षक तथा अभियानका फोकल पर्सन कमलप्रसाद सापकोटाले बताए ।
यस कार्यक्रमअन्तर्गत आमा, दिदीबहिनीहरूका लागि कम्प्युटर, मोबाइल फोन, ट्याब्लेटको प्रयोग र त्यसको सही सदुपयोग गर्नेबारे डिजिटल प्रविधिमा आधारित शिक्षा दिइने गरिएको शिक्षक सापकोटाले बताए ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)