कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मल अभावले तोरी छर्न पाएनन्

विनोद भण्डारी

विराटनगर — तोरी छर्न दुई बोरा डीएपी मल खोजेको दुई साताभन्दा बढी हुँदा पनि मोरङको कानेपोखरी–१ होक्लाबारीका किसान निरबहादुर पराजुलीले अझै पाएका छैनन् । आसपासका सहकारीमा धाउँदा उनले मुस्किलले २५ केजीमल जुगाड गरे ।

मल अभावले तोरी छर्न पाएनन्

‘डीएपीको आस गर्दागर्दै तोरी छर्ने समय नै बित्न लाग्यो,’ पराजुलीले दुखेसो गरे, ‘मुस्किलले पाएको २५ केजी डीएपीले पाँच कट्ठामा तोरी छरे । बाँकी १५ कट्ठामा अझै छर्न पाइएन ।’

होक्लाबारीकै गजेन्द्र भट्टराईले पनि डीएपी अभावमा दुई बिघा खेतमा तोरी छर्न नपाएको गुनासो गरे । ‘कृषि सामग्री कम्पनीले मागेजति डीएपी नै दिँदैन । एक लटमा मुस्किलले ५० बोरा दिन्छ,’ होक्लाबारीका मल बिक्री गर्ने सहकारी प्रतिनिधि रवीन्द्र तिवारीले भने, ‘एक लटमा दुई सय बोराको माग हुन्छ । तर कृषिले ५० बोरामात्र उपलब्ध गराएपछि प्रत्येक किसानलाई बढीमा २५ केजीमात्र उपलब्ध गराइएको छ ।’

रंगेली आमतोलाका रुद्र भट्टराईको पनि डीएपी मल अभावमा दुई बिघा खेतमा तोरी छर्ने योजना पूरा हुन सकेको छैन । माटो तयारी भएको छ । तर डीएपी मल नपाउँदा तोरी छर्न नपाएको उनको गुनासो छ । दुई बिघा खेतका लागि कम्तीमा चार बोरा डीएपी चाहिन्छ । भट्टराईले भने, ‘दुई सातासम्म भौंतारिँदा बल्ल एक बोरा उपलब्ध भएको छ । त्यति मलले कति तोरी छर्नु ?’

सुनसरीको बर्जु–४ सिताजनजका जीतबहादुर खड्काले स्थानीय सहकारी संस्थाले डीएपी उपलब्ध नगराएपछि सीमावर्ती भारतीय बजारमा उपलब्ध हुने कमसल खालको डीएपी ल्याएर दुई बिघा खेतमा तोरी छरे । माटो तयार गरेर डीएपीको पर्खाइमा दुई सातासम्म कुरे पनि नपाएपछि उनले सीमावर्ती बजारमा उपलब्ध हुने कमसल डीएपी ल्याएर तोरी छर्न बाध्य भए । उनले दुई बिघा खेतमा गहुँ छर्ने तयारी गरेका छन् । खड्काले भने गहुँ छर्न पनि डीएपीकै सकस भोगी रहेको बताए ।

बर्जुकै बिन्दे साहले पनि तोरी छर्न माटो तयार गरेर सातासम्म डीएपी खोजी गर्दा नपाएपछि सीमावर्ती बजारबाट ल्याएर तोरी छरेको गुनासो गरे । ठूला किसानले मागेजति डीएपी कृषि सामग्रीबाटै ल्याएर तोरी र गहुँ छर्छन् ।

उनले भने, ‘साना किसानले मल नपाउँदा सीमावर्ती बजारमा निर्भर हुन बाध्य छौं ।’मागअनुसारको डीएपी आयात हुन नसक्दा तोरीको सिजनलाई डीएपीको अभाव भएको प्रदेश १ कृषि मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले बताए । प्रदेश १ मा मात्र तोरीका लागि ७–८ हजार टनभन्दा बढी डीएपीको माग छ । उनले भने कृषि सामग्री कम्पनीले ६ हजार ५ सय टनमात्र आयात गरेको छ । त्यसमा पनि दुई हजार टन दुई नम्बर प्रदेशमा जान्छ । उप्रेतीले भने बाँकी रहेको ४ हजार ५ सय टनले प्रदेश १ को तराई र पहाडी क्षेत्रलाई पुर्‍याउनुपर्ने बाध्यताले तोरीको सिजनमा डीएपीको समस्या भएको हो ।

मागका आधामा डीएपी उपलब्ध छ । सामग्रीले हरेक डिलरलाई एक लटमा ५० बोरामात्र वितरण गर्दै आएको छ । उप्रेतीले भने डिलरले प्रतिव्याक्ति २५ केजीका दरले वितरण गर्नुपर्ने बाध्यताले किसानले आवश्यकता अनुसार डीएपी पाएका छैनन् । आयात गरिएको ६ हजार ५ सय टनमध्ये १ हजार दुई सय टनमात्र आइपुगेको कृषि सामग्री कम्पनी विराटनगरका प्रमुख नवरत्न गौतमले बताए । अहिले आइपुगेको बाह्र सय टन डीएपी प्रतिडिलरलाई ५० बोराका दरले वितरण गरिएको छ ।

गौतमले भने किसानको माग अनुसार डीएपी उपलब्ध हुन सकेको छैन । ५ हजार ३ सय टन डीएपी आउने क्रममा छ । उनले भने त्यही डीएपीले गहुँ खेतीलाई पनि पुर्‍याउनुपर्ने बाध्यता छ । मूल्य वृद्धिका कारण आवश्यकताअनुसार डीएपी खरिद गर्न नसक्दा अभाव भएको गौतमको भनाइ छ ।

प्रकाशित : मंसिर १७, २०७८ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?