बाढीपीडित दोहोर्‍याएर खेती गर्दै- प्रदेश १ - कान्तिपुर समाचार

बाढीपीडित दोहोर्‍याएर खेती गर्दै

जितेन्द्र साह

देवानगन्ज, सुनसरी — हरियो सागसब्जी बजारमा पुग्ने बेला हो यो । तर तरकारी खेतीको केन्द्र मानिने सुनसरीको देवानगन्जका बाढीपीडित किसान नयाँ बेर्ना तयार पारेर फेरि तरकारी लगाउँदै छन् ।‘बाढीले क्षति नपुर्‍याएको भए अहिले बेचिरहेका हुन्थ्यौं,’ देवानगन्ज–५, साहेबगन्जका ६० वर्षीय नारायण मण्डलले भने, ‘अब माघ र फागुनसम्ममा फल्छ तर मलखादको अभावले चिन्ता बढाएको छ ।’

मण्डलले ७ लाख रुपैयाँ लगानीमा ४ बिघामा गरेको आलु खेती र १ बिघामा लगाएको काउली, भान्टा र खुर्सानीलगायत बूढीखोलाको बाढीले सखाप पार्‍यो । उनी फेरि तरकारी लगाउँदै छन् । ‘गत वर्ष यति बेला लगानी कटाएर ७ लाख रुपैयाँ आम्दानी गरेको थिएँ,’ मण्डल भन्छन्, ‘यो वर्ष लगानी पनि डुब्यो, फेरि तरकारी लगाउन थप ६ लाख रुपैयाँ ऋण लिनुपरेको छ ।’

सम्पूर्ण खर्च कटाएर तरकारी खेतीबाट बर्सेनि ७ लाख रुपैयाँ आम्दानी गर्ने देवानगन्ज–४, कप्तानगन्जका ४९ वर्षीय देवसुन्दर मेहता पनि भारी मनले दोहोर्‍याएर खेती गर्दै छन् । उनले तीन बिघामा आलु र १ बिघामा काउली, भान्टा, साग र मूला रोपेका थिए । बाढीले २ बिघाको आलु र एक बिघाको अन्य तरकारी बर्बाद पारेपछि उनी फेरि खेती गर्दै छन् । ‘उत्पादन बेच्ने बेलामा खेती गर्दा मन दुखेको छ,’ उनी भन्छन्, ‘घर खर्चको जोहो गर्न दोस्रो पटक थोरै तरकारी लगाएको छु ।’ भारतको बिहार राज्यको अररिया जिल्लासँग जोडिएको मधेसी, दलित, मुस्लिम र जनजाति बहुल यो गाउँमा ९० प्रतिशत किसान छन् ।

बेमौसमी बाढीबाट बिचल्लीमा परेका उनीहरू यतिखेर तरकारी रोपिरहेका वा बेर्ना तयार पारिरहेका भेटिन्छन् । ‘कात्तिकको बाढीपछिको झन्डै एक महिना खेततिर हेर्न पनि मन लागेन,’ देवानगन्ज–२ का ४८ वर्षीय नेवालाल मेहता भन्छन् । मोरिया खोलाको बाढीले उनको १ बिघा तरकारी, डेढ बिघा धान र १० कट्ठा उखु नष्ट भयो ।

फेरि रोपेको तरकारी देखाउँदै सनसरीको सीमावर्ती गाउँपालिका देवानगञ्ज–२ का बाढीपीडित किसान ५५ वर्षीय रामदेव मेहता । तस्बिर : जितेन्द्र साह/कान्तिपुर

‘काँक्रो, भान्टा, गाँजर, प्याज, खुर्सानी, केराउ, आलु, काउली र मूला उत्पादन भएर बजारसम्म पुर्‍याएर मुख्य आम्दानी गर्ने बेलामा पुनः खेती गर्दै छु,’ उनी भन्छन् । झारपात उखेल्नेलगायत खेतीपातीको हल्का काममा सघाउँदै आएकी मेहताकी आमा ७२ वर्षीया हरिहरदेवीले कात्तिकमा यस्तो बाढी आएको आफूले कहिल्यै नदेखेको बताउँछिन् । ‘कुनै खराब सपना जस्तो लागेको छ,’ उनी भन्छिन् । १० कट्ठामा तरकारी उब्जाएर दुई सन्तानसहित पाँच जनाको परिवार पाल्ने स्थानीय ३९ वर्षीया अञ्जु मेहताको अवस्था पनि बिजोग छ । उनी पनि बाढीले बिगारेको खेतलाई पुनः तयार पारी तरकारी रोप्दैछिन् ।

१ बिघामा तरकारी लगाउने स्थानीय किसान ५१ वर्षीय विजयकुमार मेहता हुन् वा ४ कट्ठामा खेती गर्ने ५५ वर्षीय रामदेव मेहता, सबैको स्थिति थोरधेर उस्तै छ । तीन सदस्यीय परिवारका अभिभावक रामदेव भन्छन्, ‘भान्टा, खुर्सानी र काँक्रो बचेन, अहिले काउली, आलु, खुर्सानी र केराउ लगाइरहेको छु ।’ यो गाउँपालिकाको ३५ हजार ६८ जनसंख्या र ५३.५६ वर्ग किमि क्षेत्रफल छ । कृषि प्राविधिक गुलाबचन्द मेहताका अनुसार गाउँपालिकाको हरेक वडामा खेती हुन्छ र झन्डै ४ सय बिघामा तरकारी लगाइन्छ ।

बाढीले २ सय बिघामा लगाएको आलु र बाँकी २ सय बिघाको अन्य तरकारी बर्बाद भएको छ । स्थानीय कृषक तीन तहकै सरकारबाट तत्कालै राहत पुग्ने गरी कुनै मद्दत नपाएको बताउँछन् । मेहताका अनुसार गाउँपालिका कार्यालयमा कृषकलाई गहुँ र मकैमा अनुदान दिनेबारे छलफल भएको छ ।

प्रकाशित : मंसिर ६, २०७८ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्

साहित्यिक ‘जक्सन’ इटहरी

‘कला–साहित्यमा काठमाडौंको विकल्प, काठमाडौंबाहेकका जिल्ला नै हुन्’
जितेन्द्र साह

सुनसरी — पूर्वाञ्चलको ट्राञ्जिट मानिने सुनसरीको इटहरी सहर साहित्यिक बहसको ‘जंक्सन’ पनि बन्दै गएको छ । ‘खुला साहित्यिक जमघटको थलो बनेको छ इटहरी,’ साहित्यकार ६५ वर्षीय बद्री भिखारी भन्छन्, ‘सञ्चार जगत् र इन्टरनेटको पहुँचले यो सहरलाई साहित्यको केन्द्र बनाइरहेको छ ।’

मोरङको सुन्दरहरैचा नगरपालिका–४, दुलारीबाट करिब डेढ दसक अघि इटहरी झरेका उनी मुख्यतः कविता, मुक्तक र निबन्ध लेखनमा कलम चलाउँछन् ।

चार दसक बढीदेखि साहित्यमा सक्रिय भिखारी जंक्सनहरू इटहरी–२० स्थित तरहरा, इटहरी–५ को पचरुखी र इटहरी चोकमा युवा साहित्यकारसँग सक्रिय संवादमा भेटिन्छन् । ‘समसामयिक लेख, कविता र कृतिबारे छलफल गर्छौं,’ भिखारी भन्छन्, ‘यहाँ गुट र वर्ग छैन, पुस्तान्तरको भेद छैन ।’ युवा कवि विकेश कविन र गजलकार सुमन रेग्मी उनका घनिष्ठ मित्रमा पर्छन् । ‘म १८ वर्षको र उहाँ ६५ को तर संवादको क्रममा कहिल्यै पनि उमेर बाधक बनेन,’ गजलकार सुमन भन्छन्, ‘साहित्यलाई गोडमेल गर्ने साझा रुचिले यो संभव भएको हो ।’ यही जमघटमा रमाइरहेका भेटिन्छन् गजलकार गंगाबहादुर खड्का उर्फ जीबी गजल । इटहरी–६ का उनी भन्छन्, ‘यो कवि र कविताको राजधानी सहर हो, विविधता थप्न गजल लेख्छु र मौका मिलेमा वाचन पनि गर्छु ।’

यहाँ २०५० को दसकदेखि गजल लेख्न सुरु भएको जीबी बताउँछन् । पहाडतिरबाट मधेस झरेका उनले रेडियोबाट साहित्यका कार्यक्रम सुन्दासुन्दै २०६२ देखि गजल लेख्न थाले । ‘त्यतिखेर युवामा गजल प्रति निकै आकर्षण थियो, म पनि यसबाट अछुतो रहिन । तर राजनीतिक उथलपुथलले निरन्तरता दिन सकिएन,’ उनी भन्छन्, ‘लेख्न पनि छाडेको छुइन ।’ उनको अनुसार पछि यहाँका नयाँपुस्तामा कविता प्रति बढि रुची देखियो । ‘इटहरीमा कवि बढी छन्, कविताको भविष्य उज्ज्वल छ,’ जीबी भन्छन् ।

यहाँ अघिल्लो पुस्ताका कविमा पिताम्बर भोला लम्साल, मुक्ति पोखरेल, भरत शर्मा, गैरी पिपली, जीवी लुगुन र कृष्णविनोद लम्साल, बीचका मनु मञ्जिल, हेमन्त यात्री र देवान किराती तथा नयाँ पुस्तामा प्रज्ज्वल पराजुली, विराट अनुपम, टिका आत्रेय, राजन आशातीत, विनय सरगम, किरण शिवा, विवेक विवश रेग्मी, विकेस कविन, मिरा पोखरेल, नवराज मैनाली, राम खरेल र आलोक खनाललगायत छन् ।

कविता प्रतिको स्थानीयको प्रेम देखेर स्थानीय साहित्यिक संस्था ‘शब्द प्रवाह’ मार्फत इटहरीमा चैतदेखि मासिक रुपमा काव्य सन्ध्याको थालनी गरिएको युवाकवि २९ वर्षीय विराट अनुपम बताउँछन् । ७ चैतमा सम्पन्न पहिलो शृंखलामा कवि देवान किरातीले प्रस्तुति दिइसकेका छन् । ‘दोस्रो श्रृंखलाको घोषणा गरिसकेका छौं तर कोरोना संक्रमणले रोकिएका छौं,’ उनी भन्छन्, ‘सिमित संख्यामा भौतिक दुरीका साथ भेला भएर र अन्य माध्यमबाट साहित्यिक छलफल जारी छ ।’ अनुपमले यो काव्य सन्ध्यामा हरेक महिना काठमाडौं बाहिरका जिल्लाका एक/दुई कविलाई सहभागिता गराइने बताउँछन् । ‘काठमाडौंको विकल्प काठमाडौं बाहेकका सबै जिल्लाहरू हुन्,’ अनुपम गर्वकासाथ भन्छन् । अनुपम ११ वर्षदेखि कविता, गजल र नियात्रा विद्यामा लेखिराखेका छन् ।

यहाँ ३५ प्रतिभाले साहित्यिक गतिविधिलाई निरन्तरता दिइरहेका छन् । यसमा अधिकांस युवा कवि छन् । कविहरूमा मनु मञ्जिल, देवान किराती, बद्रि भिखारी र हेमन यात्री राष्ट्रिय स्तरमा चर्चित भइसकेका छन् । यहाँ दोस्रो स्थानमा गजल छ । कविता र नाटकबीच कडा प्रतिस्पर्धा रहेको अनुपम बताउँछन् । ४४ वर्षीय कवि देवानले कविता इटहरीको साँस्कृतिक पहिचान बनेको बताउँछन् । ‘समग्रमा भन्दा इटहरीलाई चिनाउने एउटा सशक्त पाटो साहित्य हो,’ उनी भन्छन्, ‘मुलुकमै स्वतन्त्र लेखनमा इटहरी अगाडि हो, यहाँको साहित्य क्षेत्रमा दल, गुट, जाति र वर्गको विभेद छैन, फरक विचारको सम्मान हुन्छ, बरिष्ठ वा कनिष्ठको भेद छैन ।’ दिक्तेलको बुइपा पहाड घर भएका उनी २८ वर्षदेखि कविता लेखिरहेका छन् ।

यहाँको जमातमा अझै पनि महिला साहित्यकार कम छन् तर जति छन्, सशक्त र सबल छन् । संखुवासभा खाँदबारीबाट मधेस झरेकी ४६ वर्षीया मिश्रा गुरुङले इटहरीको माहौलले कवि र लेखक बनाएको बताउँछिन् । गुरुङ यात्रा संस्मरणको क्षेत्रमा समेत परिचित नाम हुन् । गुरुङ भन्छिन्, ‘बाल्यकालदेखि साहित्यमा रुची थियो, यहाँको समावेशी वातावरणमा रचनात्मक सोचको भरपुर मलजल भयो ।’ उनको अनुसार यहाँ मनग्यै राम्रा साहित्यकार छन् जो क्रियासिल हुन चाहिरहेका छन् । ‘यसरी नै निरन्तरता दिन सक्यौं भने साहित्य क्षेत्रमा काठमाडौंलाई उछिन्छौं,’ गुरुङ भन्छिन् ।

यहाँका साहित्यकारमा पाँच/छ जना मात्र महिला भए पनि पुरुषभन्दा कम नरहेको गुरुङ बताउँछिन् । उनका अनुसार पूर्व र पश्चिमको मिलन बिन्दु मानिने यो सहरमा स्वतः स्फूर्त रुपमा साहित्यिक गतिविधि बढिरहेको छ । यसलाई जीवन्त राख्न प्रेरणादायी कदम चालिनु पर्ने र यसकालागि साहित्यिक संस्था र संघसंगठनको आवश्यकता रहेको उनी बताउँछिन् । यहाँको माहोलले वरिपरिका जिल्लाकालाई आफूतिर तान्छन् । ‘मुख्यतः पत्रकारितामा रुचि छ, इटहरीकाहरूसँगको संगतले कविता पनि लेख्न थालेकी छु,’ २५ वर्षीया राजकुमारी तामाङ भन्छिन् । मोरंगको कानेपोखरी–३ की उनी इटहरीको साहित्यिक चर्चामा सहभागि हुन आइरहन्छिन् । ‘छलफलको क्रममा लेख्नदेखि वाचन कलासम्मको ज्ञान हुन्छ,’ तामाङ भन्छिन् ।

समावेशी कोणले हिमाल, पहाड र तराईको संगम थलो हो इटहरी । २७ वर्षदेखि रंगमञ्चमा लागेका ४२ वर्षीय सोनु जयन्ती पनि सार्वजनिक साहित्यिक भेलाका सक्रिय सदस्य हुन् । सुनसरीको झुम्कामा जन्मेहुर्केका उनले देश र विदेशमा नाटक मञ्चन गरे पनि इटहरीलाई केन्द्र बनाएका छन् । ‘कथा, कविता र उपन्यासलगायतका साहित्यिक विधाहरूको नाटकसँग सम्बद्ध छ,’ उनी भन्छन्, ‘यी सम्पूर्ण विधाका सशक्त हस्ताक्षरहरू इटहरीमा छन् ।’ उनले यहाँका साहित्यकारका कृतिलाई रंगमञ्चमा उतार्नुकासाथै पुराना रंगकर्मीका नाटकलाई पुनः मञ्चन समेत गरिरहेका छन् । ‘पुराना रंगकर्मीलाई एउटा कोठामा भेला गर्छौं, पुराना नाटक संझिन भन्छौं, रेकर्ड अन गरेर उहाँहरूलाई स्वतन्त्र छाडिदिन्छौं,’ जयन्ती भन्छन्, ‘उहाँहरूले संझेर भन्नु भएका पुराना नाटक पनि मञ्चन गर्छौं ।’ २०५२ देखि रंगमन्चमा लागेका उनले २०६५ मा इटहरीमा ‘कलालय’ नाट्य संस्था र २०६९ मा अन्तरदेशीय साझा रंगमञ्च स्थापना गरेका हुन् ।

पुराना साहित्यकारका अनुसार यहाँ रंगमञ्चका पहिलो पुस्ताका रुपमा २०१६ ताका क्याप्टेन नरवीर थापा, धरणीधर दाहाल र यज्ञ प्रकाश अधिकारीले नाटक मञ्चन गरेका थिए । दोस्रो पुस्तामा वसन्त सुवेदी, रमेश बिष्ट, मधु रिमाल र स्वर्गीय श्यामभाइ गौतम सक्रिय रहे । विगतको साखलाई जोगाउँदै नयाँ पुस्तालाई रंगमञ्चसँग जोड्ने प्रयास जयन्तीले गरिरहेका छन् । उनले २०६७ मा स्थानीय विभिन्न विद्यालयका नर्सरीदेखि १० कक्षासम्म अध्ययनरत ५० विद्यार्थीलाई तालिम दिए । ‘अहिले उनीहरू निखारिएका कलाकार भइसकेका छन्,’ उनी भन्छन्, ‘यस्तो प्रशिक्षणले बालबालिकालाई नाटक मञ्चन मात्र सिकाउँदैन, प्रदर्शन र मञ्चन बाहेक बाहिरको ठूलो संसार बारे जान्न तथा मान्छे बनाउने काम गर्छ ।’

प्रकाशित : कार्तिक २८, २०७८ ०९:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×