कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१४ वर्षपछिको कुम्भकर्ण आरोहण असफल

आनन्द गौतम

ताप्लेजुङ — एउटा कुम खसेको जस्तो तर शिर उच्च देखिने फरक आकृतिको कुम्भकर्ण हिमाल आरोहणको यो वर्षको प्रयास असफल भएको छ । ७ हजार ७ सय ११ मिटर उचाइको यो हिमाल १४ वर्षपछि आरोहण प्रयास गरिएको हो ।

१४ वर्षपछिको कुम्भकर्ण आरोहण असफल

यस वर्ष चार जना अमेरिकी नागरिक आरोहणका लागि आएका थिए । काठमाडौंको ग्रान्ड हिमालयन ट्रेक्स एन्ड एक्सपिडिसनबाट आएकाहरूले दुई पटकसम्म शिखरमा पुग्ने प्रयास गरे पनि मौसमले साथ नदिएको कम्पनीका प्रबन्धक ओङमु शेर्पाले वताइन् । पर्यटन विभागको तथ्यांकअनुसार यसअघि सन् २००७ मा दुई जना रसियन नागरिकले आरोहण गरेका थिए । विभागका सूचना अधिकारी मोहन जीसीले भने, ‘त्यसपछि आरोहण भएको देखिँदैन ।’

पहिलो आरोहण भने सन् १९६२ मा फ्रान्सका नागरिकले गरेको पाइन्छ । नेपालको १५ औं र बिवश्वको ३२ औं अग्लो यो हिमाल हेर्दा आकर्षक देखिए पनि आरोहणका लागि निकै अप्ठेरो रहेको शेर्पाहरू बताउँछन् । डोरी टाङ्नकै लागि कठिन भएको उनीहरूको बुझाइ छ । यस सिजनमा गएका आरोही पहिलो पटक ७ हजार मिटरसम्म पुगेको र मौसमका कारण फर्किएर फेरी प्रयास गर्दा पनि सफल नभएको ओङ्मु बताउँछिन् । आरोही पहिलो पटकको तुलनामा दोस्रो पटक ७ हजार २ सय मिटरसम्म पुगेका थिए । ५ सय ११ मिटर चढ्न बाँकी रहँदा कुहिरो, हावाका कारण उनीहरू फर्किएका हुन् ।

आरोहणका लागि सरकारबाट अनुमती लिएर गएका आरोहण टोलीलाई किराँत धर्मावलम्बीले केही दिन रोकेका थिए । आफूहरूको धार्मिक स्थल भएकाले आरोहण गर्न नमिल्ने भन्दै रोकेको ओङ्मुले बताइन् । छलफलपछि उनीहरूले अवरोध नगर्ने जनाए । त्यसपछि क्याम्प साइड बनाउने, डोरी टाङ्ने काम सुरु भएको थियो । यो हिमाललाई किराँत धर्मावलम्बीले आफूहरूको पवित्र धार्मिकस्थल मान्छन् ।

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले तपस्या गरेको र पवित्र भूमि भएकाले दर्शनका लागि यहाँ बर्सेनि सयौं किराँत धर्मावलम्बी जाने गरेका छन् । ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङलगायत देशका विभिन्न स्थान र हङकङ, बेलायत लगायतका देशमा रहेका किराँत धर्मावलम्बी पूजाका लागि आउने गरेका छन् । अधिकांश हिँडेरै जान्छन् भने कतिपयले हेलिकोप्टर चार्टर गरेर जाने गरेका छन् । विशेष गरी किराँत धर्मगुरु आत्मानन्द लिङदेनको प्रवचनबाट प्रभावित भएकाहरू प्रत्येक वर्ष जाने गरेका छन् ।

पहिला इलामको लारुम्बाबाटै पैदल जाने तीर्थयात्री अहिले फक्ताङलुङ गाउँपालिकाको तापेथोकसम्म गाडीमा गएर त्यसपछि पैदल जाने गरेका छन् । यो हिमाल फक्ताङलुङ गाउँपालिका–६ लेलेपको खम्बाछेन छेउमा पर्छ । किराँतीहरूले नामकरण गरेको आधारमा गाउँपालिकाको नाम पनि रहेको छ ।

प्रकाशित : मंसिर ४, २०७८ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?