कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै

देवनारायण साह

मोरङ — प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले बुधबार प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । सभामुख प्रदीपकुमार भण्डारीले आज बिहान साढे ११ बजे बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत लिँदै छन् । 

मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै

प्रमुख प्रतिपक्षी दल एमाले अनुपस्थित भएपछि प्रदेश १ सभाको मंगलबारको बैठक स्थगित हुँदा मुख्यमन्त्री राईले विश्वासको मत लिन सकेका थिएन ।

विश्वासको मत लिनका लागि सत्तारुढ गठबन्धन दलले आफ्ना प्रदेश सांसदहरुलाई विराटनगरस्थित बिग होटल, रतना र इस्टर्न स्टार होटलमा राखेर हिृवप जारी गरेका छन् ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको पाँच दलीय गठबन्धनको समर्थनमा राई कार्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका हुन् । पाँच दलीय गठबन्धनको ५० जना सांसद रहेकाले मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त गर्न कठिनाइ नहुने अवस्था देखिएको छ ।

मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त गर्न ४६ सांसद आवश्यक छ । ९२ सदस्यीय प्रदेशसभामा एमालेका सभामुखसहित ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको १/१ जना प्रदेश सांसद छन् ।

एमालेका ४१ मध्ये एक जना प्रदेश सांसद गुलेफुन खातुन उच्च अदालत विराटनगरले किर्ते कागजात मुद्दामा दोषी ठहर गरेदेखि फरार छन् ।

मुख्यमन्त्री राईले प्रदेशसभाबाट विश्वासको मतका लागि प्रदेशसभा सचिवलाई आइतबार सूचना दिएका छन् । संविधानको धारा १६८ (४) मा धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था छ ।

संविधानको धारा १६८ (३) मा उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेशसभा सबैभन्दा बढी सदस्यहरु भएको दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित : मंसिर १, २०७८ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?