कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५३

तेह्रथुमका विद्यालयमा डिजिटल साक्षरता अभियान

कान्तिपुर संवाददाता

तेह्रथुम — विद्यार्थी, अभिभावक, शिक्षक र समुदायलाई एकैसाथ सूचना प्रविधिमा अभ्यस्त गराउने उद्देश्यले जिल्लाका ४ वटा माध्यमिक तहका सामुदायिक विद्यालयमा डिजिटल साक्षरता अभियान सुरु गरिएको छ । 

तेह्रथुमका विद्यालयमा डिजिटल साक्षरता अभियान

ई–एजुकेसनको माध्यमबाट सिंगो समुदायलाई कम्प्युटर प्रविधिमा जोड्ने उद्देश्यले प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले डिजिटल साक्षरता अभियान सुरु गरेको हो । ‘प्रदेश समृद्धिको आधार, शिक्षामा डिजिटल पूर्वाधार’ नाराका साथ मेन्छ्यायाम गाउँपालिकाको गौखुरी मावि र श्रीजुङ मावि, फेदाप गाउँपालिकाको जनज्योति मावि र छथर गाउँपालिकाको भगवती माविमा एकैसाथ डिजिटल साक्षरता अभियान सुरु गरिएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख लीलानाथ पोखरेलले बताए ।

विद्यार्थी, अभिभावक र शिक्षकसमेतको प्रविधिमा आधारित शैक्षिक गुणस्तर सुधारका लागि यो कार्यक्रम प्रभावकारी भएको प्रमुख पोखरेलले बताए । आगामी १० वर्षभित्रमा प्रदेशका सबै सामुदायिक विद्यालयलाई ‘पेपरलेस’ बनाएर कम्प्युटर प्रविधिमार्फत पठनपाठन गराउने योजना रहेको प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले पहिलो चरणमा प्रदेशभरका छनोटमा परेका एक सय सामुदायिक विद्यालयमा डिजिटल साक्षरता अभियान सुरु गरिसकेको छ । मन्त्रालयले दोस्रो चरणमा १ सय १२ विद्यालयलाई छनोट गरी कार्यक्रम अघि बढाउने तयारी गरेको छ ।

मन्त्रालयका अनुसार पहिलो चरणमा सामाजिक विकास मन्त्रालयको २ करोड, स्थानीय निकाय, इक्वालिटी फाउन्डेसन अमेरिका, युनाइटेड वर्ल्ड स्कुल र रोटरी क्लब इन्टरनेसनलको सहयोगमा अभियान सञ्चालन गरिएको हो । जिल्लाका ४ वटै विद्यालयले आमा समूह र पूर्वविद्यार्थी समाज गठन गरेर समेत अभियानमा सहभागी छन् । अभिभावकले पनि डिजिटल प्रविधि सिक्नुपर्छ भनेर अभियानमा सहभागी गराइएको गौखुरी मावि मोराहाङका शिक्षक तथा अभियानका फोकल पर्सन कमलप्रसाद सापकोटाले बताए ।

प्रकाशित : कार्तिक २८, २०७८ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×