२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

पर्वको तयारीमा जुटे बाढीपीडित

कान्तिपुर संवाददाता

मोरङ — लोहन्द्रा खोलाको बाढीले दक्षिणपूर्वी मोरंगको धनपालथान गाउँपालिकामा खेतबारी डुबायो, घरआँगन भत्कायो भने खाद्यान र कपडा काम नै नलाग्ने बनायो । स्थानीयले घर छाडेर केही दिन स्थानीय विद्यालयमा शरण लिए । दसैं नसकिँदै र तिहार नआउँदै सामना गर्नुपरेको प्राकृतिक प्रकोपबाट पनि उनीहरू हरेस भने खाएनन् ।

लोहन्द्रा खोलाको बाढीले २ कात्तिकमा धनपालथान गाउँपालिकाको वडा ६ र ७ मा सबैभन्दा बढी असर गरेको थियो । विराटनगर–रंगेली जोड्ने मुख्य हुलाकी मार्गको बीचमा रहेको उक्त दुई वडाका सडक भएर खोला बगिरहेको थियो । अहिले मौसम खुलेपछि जनजीवन सामान्य हुँदैछ । पीडा बिर्सेर उनीहरू तिहारको तयारीमा जुटेका छन् । खोलाले बगाएर खेत छेउमा थुपारेको माटोले लिपपोत गरी घर टाल्दै छन् ।

‘जस्तोसुकै संकट र दुःख आए पनि सामना गर्दै अघि बढ्नैपर्छ,’ धनपालथान–६, दादरबेरिया बस्तीकी २५ वर्षीया पूजा राजवंशी भन्छिन् । उनले वर्षभरिका लागि सञ्चय गरेर राखेको खाद्यान घरभित्र पसेको बाढीले सोत्तर पारेको थियो । चार जनाको परिवारसहित नजिकैको विद्यालयमा शरण लिइन् । तर बाढीको पानी सुक्नेबित्तिकै राजवंशी खाल्डाखुल्डी परेको घरलाई आफैंले मर्मत गरी गिलो माटोले टालटुल गर्दै छिन् । ‘तिहारको तयारी गर्दै छु, जे जसरी हुन्छ धर्म, संस्कृति र परम्पराअनुरूप मनाउनैपर्‍यो,’ उनी भन्छिन् ।

बाढीले बेहाल बनाएको घरलाई तिहारका लागि चिटिक्क पार्नमा व्यस्त छिन्, बस्तीकी अर्की गृहिणी ४३ वर्षीया अनुराधा राजवंशी । बाढीले उनको पनि केही दिनसम्म उठीबास भयो । ६ परिवारकी हर्ताकर्ता उनको आँगनमा घर मर्मतका लागि राखिएको पराल एवं गिलो माटोको थुप्रो देखिन्छ । उनी भन्छिन्, ‘पराल र माटोले भत्केको ठाउँलाई सम्याउँदै छु, मौसम सफा रहेमा तिहार अगाडिसम्म घरआँगन चिटिक्क पारिसक्छु ।’ छोरी नीताले आमालाई सघाउँदैछिन् । ‘तिहारका लागि घरको मर्मतमा आमा लाग्नुभएकाले बाँकी घरव्यवहार मैले सम्हालेको छु,’ उनी भन्छिन्, ‘तिहारमा झिलीमिली गर्नैपर्‍यो ।’

मुख्य सडकछेउमा रहेको धनपालथान गाउँपालिका–६ को कदमाहा बस्तीलाई पनि बाढीले तहसनहस पारेको छ । बाढीले बगाएर ल्याएको खोलाको माटोले नै भत्केको घरको अहिले स्थानीयले पुनर्निर्माण गर्दै छन् । ‘वर्षमा एक पटक आउने चाडबाड दुःखी भएर मनाउनु हुन्न,’ स्थानीय ३८ वर्षीया रीता मण्डल भन्छिन्, ‘बाढीले कंगाल बनाए पनि लक्ष्मीमाताको कृपा रह्यो भने बाढीले नष्ट पारेको सबथोक पुनः प्राप्त हुन्छ ।’

मौसम खुलेर पानी घटेपछि सनपाट धुनेलगायतका कृषि कर्ममा स्थानीय फर्केका छन् । घाम लाग्न थालेको हुनाले एक दिनमा सनपाट सुकेर बेच्नलायकको हुन्छ । बाढीमा धानबाली बर्बाद भएकाले नगदेबाली सनपाट बेचेर आएको रकमले यसपालि तिहार एवं छठ पर्व मनाउने कृषकहरू बताउँछन् । सनपाट धोएपछि निस्केको सन्ठीको बोझा स्थानीयले घर लगिरहेका छन् । चुल्हो बाल्न, घेराबार गर्न र लक्ष्मीपूजाको राति खेतबारीमा मनाइने परम्परागत हुकाहुकी पर्वमा पनि सन्ठी चाहिन्छ । खेतीपाती नगर्नेले किसानसँग सन्ठी माग्छन् वा किन्छन् । मधेसी र आदिवासी समुदायले लक्ष्मीपूजाको साँझ मनाउने हुकाहुकीमा पितृप्रति श्रद्धा प्रकट गर्दै आशीर्वाद मागिन्छ ।

प्रकाशित : कार्तिक १५, २०७८ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?