कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोरङको बैंक लुटपाटमा संलग्‍न थप एक भारतीय पक्राउ

कान्तिपुर संवाददाता

विराटनगर — मोरङको धनपालथान गाउँपालिका–४ स्थित कर्सियाको बीपी चोकमा रहेको सिटीजन्स बैंकको शाखा र विराटनगरको मेनरोडस्थित गार्मेन्टमा भएको लुटपाटमा संलग्न थप एक जना भारतीय पक्राउ परेका छन् । साथै उनको साथबाट पेस्तोलसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

बैंक लुटको घटनामा संलग्न तीन जना यसअघि नै पक्राउ परेका थिए । र दुई पेस्तोल बरामद भइसकेको छ । प्रहरीका अनुसार फरारमध्येका एक जनालाई शनिबार सीमा क्षेत्रबाट पक्राउ गरिएको हो ।

तर यसबारे प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन । मुख्य अनुसन्धान टोली व्यस्त रहेकोले विस्तृत सूचना सार्वजनिक गर्न नसकिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानमा भएको प्रगतिबारे मंगलबार प्रेस विज्ञप्ति मार्फत् जानकारी दिइने मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले बताए । गत सोमबार अपराह्न बैंक लुटेर भाग्ने क्रममा प्रहरीले मुख्य योजनाकार एक नेपाली नागरिक र दुई भारतीयलाई पक्राउ गरेको थियो । उक्त समूहले २२ असोजमा गार्मेन्ट र २५ असोजमा बैंक लुटेको थियो ।

प्रहरीका अनुसार उनीहरुले बैंकबाट करिब २४ लाख रुपैयाँ र गार्मेन्टबाट ११ हजार रुपैयाँ एवं ४ मोबाइल लुटेका थिए । लुटिएको रकम बरामद गर्न प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।

यसअघि पक्राउ परेका लुटेराहरुबाट कटुवा पेस्तोल र एक राउन्ड गोली, एक मोबाइल र बैंकका घाइते सुरक्षागार्ड ३८ वर्षीय शितल कुमालको शरीरबाट निकालिएको एक गोलीसमेत प्रहरीले बरामद गरेको थियो ।

सुरुआती अनुसन्धानमा बैंक लुटमा तीन पेस्तोल प्रयोग भएको देखिएको प्रहरीले जनाएको छ । जसमध्ये दुई बरामद भइसकेको छ । बाँकी एक पेस्तोल रकम लिएर फरार भएकासँग हुनसक्ने प्रहरीको अनुमान छ ।

पक्राउ र फरारमध्ये केही अभियुक्तहरु भारतमा पनि ‘वान्टेड’ सूचीमा रहेकाले भारतको अररिया प्रहरीलेसमेत उनीहरुलाई खोजिरहेको छ । प्रहरीका अनुसार फरार अभियुक्तहरु सीमा वारिपारि नै निगरानीमा छन् । ‘धेरै दिनसम्म लुकेर बस्न र लुटिएको रकम खर्चिन सजिलो छैन,’एक अनुसन्धान अधिकृतले भने ।

सुरुआती अनुसन्धानमा पहिचान भएका बाँकी ५ फरार अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सीसीटीभी फुटेजमा सात लुटेरा बैंकभित्र र अरु दुई बाहिर बसेको खुलासा भएको थियो ।

फरारहरु एवं लुटिएको रकमको खोजीमा विशेष टोली परिचालन गरिएको प्रदेश १ प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसीले बताए । उनका अनुसार यो लुटपाटमा संलग्न मुख्य योजनाकार बाहेक सबै आपराधिक पृष्ठभूमि भएका भारतीय नागरिक छन् । दुवैतर्फको प्रहरीले आपसमा जानकारी आदानप्रदान गर्दै उनीहरुलाई खोजीरहेको डीआइजी बीसीले बताए ।

प्रकाशित : कार्तिक १, २०७८ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?