कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुन:स्थापना केन्द्रमै बालबालिकाको दसैं

कान्तिपुर संवाददाता

धनकुटा — चार वर्षीय शक्ति राई यसपालिको दसैं बाल पुनःस्थापना केन्द्रमा मनाउँदै छन् । बाबुआमा नभएका राई जस्तै अनाथ, असहाय यहाँका बालबालिकाले केन्द्रमै दसैँ मनाउन लागेका हुन् । राई ७ महिनादेखि पुनःस्थापनामा बस्दै आएका छन् । उनका बाबु बेपत्ता छन् । आमा अर्कैसँग विवाह गरेर गएपछि असहाय बनेका हुन् । धनकुटा नगरपालिका–४ देब्रेबासको श्रीपञ्चमीस्थित केन्द्रका अधिकांशले आपसमा खुसी साटासाट गर्दै दसैँ मनाउँदै छन् ।

पुन:स्थापना केन्द्रमै बालबालिकाको दसैं

दुई वर्षदेखि पुनःस्थापना केन्द्रमा बस्दै आएकी १० वर्षीया अप्सरा भुजेलको पनि अवस्था उस्तै छ । उनको आफन्त भन्नु नै त्यहाँ रहेका संरक्षिका र अन्य बालबालिका हुन् । पिङ खेल्ने र मिठो खानेकुरा खाएर उनी दसैँ मनाउने सुरमा छिन् । कतिपय द्वन्द्वका बेला अभिभावक गुमाएका बालबालिका छन् । अधिकांश भने विभिन्न कारणले बाबुआमा गुमाएपछि संरक्षणका लागि राखिएका छन् । उनीहरूलाई एकै खाले पीडा भोगेर आएका भए पनि एउटै घरमा बस्दा परिवार जस्तो अनुभव गर्छन् ।

त्यहाँ बसोबास गर्नेमध्ये ठूलाले सानालाई भाइबहिनी र सानाले ठूलालाई दाजुदिदीको साइनो लगाउँछन् । ७ वर्षदेखि बस्दै आएकी सुमना तिवारी अन्य बेलाभन्दा चाडपर्वमा आफन्तको बढी याद आउने बताउँछिन् । धनकुटा–९ बेलहारा घर भएकी उनले बडादसैँको दिन काका काकीकोमा टीका लगाएर फर्कने तयारीमा छिन् । ‘चाडपर्वमा बाबुआमा र आफन्तको याद आउँछ,’ उनले भनिन्, ‘तर के गर्ने यहाँ रहेका भाइबैनीसँग घुलमिल हुँदा मन बुझाउन सजिलो नै हुन्छ ।’

केन्द्रमा हाल ८ जना बालबालिका रहेको संरक्षिका सुशीला मिश्रले बताइन् । १० कक्षामा अध्ययरत आयुश्मा दर्नाल सबैकी दिदी हुन् । बाबुआमा गुमाएपछि सात वर्षदेखि त्यहाँ बस्दै आएकी उनी अन्य बालबालिकाको अभिभावकको व्यवहार गर्छिन् ।

प्रकाशित : आश्विन २५, २०७८ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?