कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिरासतमा थुनुवा मृत्यु प्रकरण : बन्यो छानबिन समिति

प्रदीप मेन्याङ्बो

सुनसरी — जिल्ला प्रहरी कार्यालयको हिरासतमा युवकको मृत्यु भएको विषय छानबिन हुने भएको छ । आइतबार बिहान ३ बजेर १७ मिनेटमा हिरासतभित्रै भोक्राहा नरसिंह गाउँपालिका ५ बस्ने २२ वर्षीय मोहम्मद हकिव मियाँ झुन्डिएको अवस्थामा मृत भेटिएका थिए । 

हिरासतमा थुनुवा मृत्यु प्रकरण : बन्यो छानबिन समिति

मृतक मियाँका बुबा, जिल्ला प्रशासन, भोक्राहा नरसिंह र कोसी गाउँपालिकाका अध्यक्षहरुसहितको छलफलमा घटनाबारे छानबिन गर्न समिति गठन गर्ने सहमति भएको हो ।

सहमतिअनुसार छानबिन समिति संयोजकमा सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेल रहेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलको संयोजकत्वमा गठित छानबिन समितिमा जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्र कार्की, भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष गफार अन्सारी, कोसी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारी, दुईजना वडाध्यक्ष र दुईजना मृतकका आफन्त रहेका छन् ।

छानबिन समितिले मृतकका परिवारलाई क्षतिपूर्तिका लागि गृहमन्त्रालयमा सिफारिस गर्ने पोखरेलले बताए । उनले भने, ‘मृतक मियाँको बुबाले चित्त बुझाएर वार्तामा सहमति जनाउनु भएको छ । उहाँले प्रदर्शनकारीहरुलाई आन्दोलन फिर्ता लिन अनुरोध गर्नुभएको छ ।’

यसअघि आइतबार प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा इनरुवा क्षेत्र तनावग्रस्त बनेको थियो । १२ दिनदेखि थुनामा रहेका २२ वर्षीय मियाँको आइतबार मृत्यु भएपछि आफन्तले जिल्ला प्रहरी कार्यालय अगाडि नारा जुलुस लगाउँदै टायर बालेका थिए । झडपमा प्रदर्शनकारीलाई तितरबितर गर्न प्रहरीले १२ सेल अश्रुग्यास समेत प्रहार गरेको थियो ।

इनरुवा नगरपालिका–९ बवियाका खत्वे समुदायकी १९ वर्षीया युवतीसँग प्रेम सम्बन्धपछि गाउँबाट दुवै भागेका उनीहरुलाई १२ दिनअघि प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले युवतीलाई अभिभावकको जिम्मा लगाए पनि मियाँलाई भने अभद्र व्यवहार मुद्दामा अनुसन्धानको क्रममा थुनामा राखेको थियो ।

युवकको मृत्युपछि प्रदर्शनकारीहरुले हिरासतभित्रै हत्या गरिएको आरोप लगाएका थिए । तर, सीसीटीभी फुटेजमा भने उनी बिहान उठेर शौचालय गएको र फर्केर आएपछि हिरासतभित्रै गम्छाको सहायताले झुन्डिएको स्पस्ट देखिएको एसपी सञ्जयसिंह थापाले दाबी गरे ।

हिरासतभित्रै मृत्युको कारण खुलाउन माग गर्दै आन्दोलित स्थानीय बासिन्दा । तस्बिर : कान्तिपुर


प्रकाशित : आश्विन २४, २०७८ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?