कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेची राजमार्गमा पहिरोसँगै सडक झरेपछि यातायात अवरुद्ध

सदरमुकामको नारायणस्थान क्षेत्र पनि जोखिममा
विप्लव भट्टराई

इलाम — मेची राजमार्गको इलामस्थित नारायणस्थान खण्डमा सवारी साधन सञ्चालन हुन नसक्ने गरी सडक धस्सिएपछि विकल्पका रूपमा बजार क्षेत्रबाट आवागमन सञ्चालन गरिएको छ ।बर्खाको सुरुमा नै त्यसको करिब १ सय मिटरमाथि नारायणस्थानको खोल्सी क्षेत्र पहिरोले बढाउँदै लगेको थियो ।

मेची राजमार्गमा पहिरोसँगै सडक झरेपछि यातायात अवरुद्ध

उति बेलै स्थानीयले पहिरोका कारण त्यस क्षेत्रका दर्जनौं घर, विद्यालय, धार्मिक क्षेत्र जोखिममा पर्ने भन्दै नगरपालिकामा पटक/पटक ध्यानाकर्षणसमेत गराएका थिए । अहिले अचानक त्यस तलको राजमार्ग धस्सिएपछि स्थानीय थप त्रसित भएका छन् । सडकको आधाभन्दा धेरै भाग झरेको छ । अहिले राजमार्गमा गुड्ने सवारीसाधनलाई बजार क्षेत्रबाट घुमाइएको छ । बजार क्षेत्रमा ठूला सवारीसाधनसमेत प्रवेश गरेपछि जाम बढेको छ ।

राजमार्गको माथिल्लो भागबाट पनि निरन्तर पहिरो झरेकाले नारायणस्थान क्षेत्र जोखिममा छ । राजमार्ग अवरुद्ध हुने गरी पहिरो झरेको ठाउँमा तल्लोपट्टि पनि अग्लो भीर रहेकाले पुनः राजमार्ग सञ्चालन गर्न निकै समय लाग्ने देखिएको छ । ‘तत्काललाई झापातर्फबाट आउने गाडीलाई जिरो किलोमिटरबाट र पाँचथरतर्फबाट आउने गाडीलाई धोबीधाराबाट एकतर्फी रूपमा आउजाउ गर्ने व्यवस्था मिलाइएको छ,’ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख योगेन्द्र दाहालले भने । मेची राजमार्गको धोबीधाराबाट बजार छिर्ने सडकको नारायणस्थान खोल्सीमा नै पहिरो गइरहेको अवस्थाले त्यहाँका बासिन्दा सशंकित भएका हुन् । ‘पटक/पटक नगरपालिकालाई यस क्षेत्रको बस्ती जोखिममा छ भनेर जानकारी गराएका हौं,’ स्थानीय सन्तोष राईले भने, ‘अहिले राजमार्गसमेत भत्किएको अवस्थामा माथिको बस्ती कति सुरक्षित होला ?’

सडक डिभिजन कार्यालयले टेन्डर प्रक्रियामा नै गएर सडक मर्मत गर्ने जनाएको छ । यसरी समय धेरै लाग्ने हुँदा बजार क्षेत्रबाट सवारी आवागमनलाई निरन्तरता दिनुपर्ने बाध्यता छ । तर बजार क्षेत्रमा नै कतिपय स्थानको सडक साँघुरो रहेको, बिजुली तथा टेलिफोनको तारका कारण ठूला सवारीसाधन कटाउन जोखिम देखिएको छ । इलाम नगरपालिकाले राजमार्गमा डाइभर्सन बनाएरै भए पनि यातायात सञ्चालन गर्नुपर्ने जनाएको छ । तर अहिले भत्किएको स्थानको माथिबाट डाइभर्सन बनाउँदा त्यसमाथिको क्षेत्र थप जोखिममा पर्न सक्ने स्थानीय बताउँछन् । सडकमाथि पनि पहिरो गइरहेकाले जोखिम थप बढ्ने देखिएको हो ।

राजमार्गमा क्षमताभन्दा धेरै तौल बोकेर सवारीसाधन आउजाउ गरेकाले यो समस्या आएको इलाम उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वर चिपालु बताउँछन् । ‘हामीले वर्षौंदेखि १० टनभन्दा धेरै भार नबोक्ने व्यवस्था गर्न माग गर्‍यौं,’ उनले भने, ‘सुनुवाइ नहुँदा राजमार्गको धेरै स्थानमा यस्तो समस्या आइरहेको छ ।’ इलाम र त्यसमाथिका जिल्लामा हुने जलविद्युत्लगायतका ठूला पूर्वाधार विकासका लागि हेभी गाडीले निर्माण सामग्री बोक्ने गरेका छन् । मेची राजमार्गको राजदुवाली, कोल्वुङ, पाँचथरको पाँङ्रेभीरलगायतका क्षेत्रमा सधैं जोखिम हुने गरेको छ ।

अत्यधिक घुम्ती रहेको यस राजमार्गको विभिन्न स्थानमा बर्खामा पहिरो खस्ने क्रम निरन्तर छ । राजदुवालीमा ५ करोड धेरै खर्च गरेर रक एंकरिङ प्रविधिबाट सडक बनाइए पनि सडक धस्सिने क्रम रोकिएको छैन । धेरै माथिदेखिको भल जम्मा भएर बग्ने र दिगो नालीको व्यवस्था नहुँदा पनि पहिरोले ठूलो रूप लिँदै गएको स्थानीयको भनाइ छ । पीपलबोटे, गढीलगायत क्षेत्रको भल यही खोल्सी भएर बग्ने गरेको छ ।

प्रकाशित : आश्विन २१, २०७८ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?