कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जो कर्मले चिनिँदै छन्

जितेन्द्र साह

विराटनगर — दलित समुदायकी ४७ वर्षीया सानु दुलालभन्दा उनले बनाएका जुत्ता बढी चर्चित छ, विराटनगर बजारमा । ‘सानु दिदीले बनाएको जुत्ता बढी टिक्ने’ विश्वास गर्छन् महानगरवासी । कामप्रतिको इमानदारिताले गर्दा उनले व्यावसायिकसँगै सामाजिक प्रतिष्ठा आर्जन गरेकी हुन् । दुलालको विराटनगर–रंगेली मुख्य मार्गछेउमा जुत्ता पसल छ ।

जो कर्मले चिनिँदै छन्

२८ वर्षदेखिको श्रम र समर्पणले पहिचान बनाउ सफल भएको उनी बताउँछिन् । विशुंखेकी छोरी उनले जुत्ताचप्पल बनाउने कला संखुवासभा खाँदबारीस्थित माइतीमा दाजुदिदीबाट सिकेकी थिइन् । अढाई दशकअघि बिहे गरी विराटनगर आएकी सानुका श्रीमान् मोहन एक जुत्ताचप्पल कारखानामा काम गर्थे । सानुले पनि मुख्य बजारमा जुत्ताचप्पलकै कारोबार सुरु गरिन् । अरूका उत्पादन ल्याएर बेच्दा खासै नाफा नभएपछि आफैंले बनाएर बेच्न थालेकी हुन् ।

४० हजार रुपैयाँमा कोठाबाट जुत्ताको उत्पादन सुरु गरिन् । घरधन्दा सकेर उनी पसल चलाउँथिन् । पछि उनको उत्पादनले पूर्वाञ्चलभर बजार लियो । शिक्षण संस्था र मेलामा उनको गुणस्तरीय तर सस्तो जुत्ताको माग हुन बढ्न थाल्यो । अढाई दशकमा आफ्नो व्यवसायलाई उनले ४० लाख रुपैयाँको बनाइसकेकी छन् । जेठी छोरी अहिले स्थानीय निजी अस्पतालमा कार्यरत छिन् । कान्छो छोराले भने लेखापालका रूपमा आमाकै व्यवसायलाई साथ दिइरहेका छन् । ‘कर्म ठूलो हुन्छ भन्ने कुरा आमाले गरेरै सावित गरिदिनुभयो,’ छोरा प्रवीण भन्छन् ।

व्यवस्थापन संकायमा स्नातक दलित समुदायका ३१ वर्षीय पुष्पराज खाती पनि महानगरमा सुनचाँदीको गहना व्यवसायमा परिचित नाम हो । कडा मिहिनेत र सीपले ६ वर्षमै उनले यहाँ अलग पहिचान बनाइसकेका छन् । महानगरका झन्डै एक सय सुन पसलमा ६ वटा मात्र दलित जातिकाको छ । कर्मलाई धर्म मान्ने उनले पनि विभेदको सामना गर्नुपरेको छैन । ‘हामी पनि बाहुन क्षेत्रीकोमा जान्छौं, उनीहरू पनि हाम्रोमा आउँछन्,’ खाती भन्छन् । मिश्रित सामाजिक बनावटले गर्दा विराटनगरमा जातीय भेदभाव नरहेको उनी बताउँछन् । उनका अनुसार अब पुराना पुस्ताका थोरैमा मात्र संकीर्ण जातीय सोच छ । नयाँ पुस्ता जाति वा पुर्ख्यौली सानभन्दा कर्ममा विश्वास राख्ने गरेको उनी बताउँछन् ।

अढाइ दसकदेखि बंगुर पालन गर्दै र मासु बेच्दै आएका डोम (दलित) समुदायका ४६ वर्षीय किरण मरिक जातिकै कारणले अहिले कुनै समस्या नभोगेको बताउँछन् । कुनै बेला हाटबजारमा गएर मासु बेच्थे । विराटनगर जनपथका उनको रंगशालाको सटरमा मासु पसल छ जहाँ बिहानदेखि भीड हुन्छ । सरदर दैनिक आउने ५० बढी ग्राहकमा सबै समुदायका हुने गरेको उनी बताउँछन् । ‘ग्राहकमा सबै समुदायका छन् तर जाति, रंग वा कर्मका कारण भेदभाव छैन,’ उनी भन्छन्, ‘हाम्रो बीचमा केवल ग्राहक र व्यापारीको सम्बन्ध हुन्छ, गुणस्तरीय मासु बेच्नु मेरो पहिचान हो ।’

सडक सफाइ कर्मचारी दम्पति अशोक मरिक र सोनी मरिकले श्रम गरेर समृद्धि पथमा अग्रसर छन् । उनीहरूको मुख्य सहरी क्षेत्रमा सुन्दर घर र आफ्नै सवारीसाधन छ । छोरी दशजोड दुईमा कम्प्यूटर विज्ञान विषय पढ्दैछिन् । पहिले जस्तो अहिले जातीय विभेद नरहेको ४९ वर्षीय अशोक बताउँछन् । त्यसताक समान हक र व्यवहारका लागि निकै लड्नु परेको उनी अझै सम्झन्छन् । ‘३५ वर्ष अघि म विद्यार्थी उमेरमा हुँदा पीडादायी स्थिति थियो, डुम भनेर चिनेपछि चिया पसल र सैलुनमा छिर्न दिंदैन्थे,’ उनी संझिदै भन्छन्, ‘त्यो बेला विरोधको क्रममा एक पसलमा तोडफोड समेत गर्यौं ।’

दलित समुदायले दिनरातको श्रमको बलमा आर्जन गरेको समृद्धि देखेर केही वर्षदेखि अन्य समुदायको सोचमा समेत परिवर्तन आएको स्थानीय एक मन्दिरका पूजारी ५९ वर्षीय रमेश झा बताउँछन् ।

प्रकाशित : आश्विन २०, २०७८ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?