कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झापामा जुट उत्पादन घट्दो

पर्वत पाेर्तेल

गौरीगन्ज, झापा — विगतमा १५, २० विघामा जुट खेती गर्ने दक्षिण झापाको गौरीगन्ज गाउँपालिकाका किसान ग्रहणलाल गनगाई बर्सेनि ५०, ६० मन फलाउँथे र भारत निर्यात गर्थे । अहिले अवस्था फेरियो । जुट फलाउने अधिकांश खेतमा धान फलाउँछन् । जुट थोरै जमिनमा मात्रै छ । 

झापामा जुट उत्पादन घट्दो

‘१ बिघामा जुट लगाएको थिएँ,’ गनगाईले भने, ‘विगतको जस्तो अवस्था छैन, न फलाउन सकिन्छ न त वेच्न नै ।’ कुनै समय झापा जुट खेतीका लागि पनि उर्वर मानिन्थ्यो । जुटको व्यवसायिक खेती निकै फष्टाएको त्यो बेला भारत निर्यात हुन्थ्यो । तर, अहिले भारत र बंगलादेशवाट कच्चा जुट आयात गर्नुपर्ने अवस्था छ ।

उत्पादनमा लागत बढी र आम्दानी कम भएपछि यसको खेतीतिर किसानहरू विकर्षित भएका हुन् । केही वर्षयता जुटको उत्पादनमा नराम्ररी गिरावट आएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । ‘लागत वढी आम्दानी कम छ’, कृषि प्राविधिक शालिग्राम भट्टराईले भने, ‘लागत वढी भएपछि घाटा खाइखाई खेती गर्न किसानले मज्जाले जाँगर चलाएको पाइदैन ।’

जिल्लामा उत्पादन घटेपछि विभिन्न कारखानाले भारत तथा वंगलादेशवाट जुट मगाउदै आएको भट्टराई बताउँछन् । जुटबाट बन्ने बोरा, झोला, झल्लालगायत बस्तुका लागि ती मुलुकबाट जुट मगाउन वाध्य भएको पाइएको छ । जुट उत्पादन क्षेत्र वर्षेनी घटिरहेको छ । करिव ५ वर्षअघि करिव ७ सय हेक्टरमा जुट खेती हुने झापामा अहिले ५ सय ५० हेक्टर जमीनमा पनि हुदैन । दक्षिण भेगका कचनकवल, भद्रपुर, गौरीगञ्ज, झापा गाउँपालिका र हल्दीवारी क्षेत्रमा जुट खेती गरिन्छ । सरकारले जुट प्रवर्द्धन केन्द्रको स्थापना गरे पनि किसानको न्यून सक्रियताले खासै प्रभावकारी नभएको जनाइएको छ ।

मेची भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ मा २ अर्व २६ करोड ५ लाख ३१ हजार मूल्य वरावरको २ करोड ८७ लाख ८३ हजार ४ सय ४२ किलो कच्चा जुट भारत र बंगलादेशवाट आयात भएको छ । त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा २ अर्व ८३ करोड ६६ लाख मूल्यको करिव २ करोड ६७ लाख ६९ हजार ६ सय ७६ किलो जुट आयात भएको छ । प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले जुट आयातमा सरकारले प्रोत्साहन गरेका कारण कुनै राजश्व तिर्नु नपर्ने जनाए ।

औंद्योगिक क्षेत्रमा जुटको माग उच्च रहे पनि किसानले उचित मुल्य नपाएका कारण यस खेतीप्रति आकर्षण नभएको कोरोवारीका किसान नित्याकुमार ताजपुरियाले बताए । उनले भने ‘कडा परिश्रम गरिन्छ तर चाहे जतिको जुट हुँदैन ।’ २ वर्ष अघिसम्म १० कठ्ठा जमिनमा जुटको खेती गर्दै आए पनि घरायसी कामका लागि मात्र जुट खेती गर्ने गरेको उनले बताए ।

प्रकाशित : आश्विन १५, २०७८ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?