कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सवारी भाडा दरमा विभेद

कान्तिपुर संवाददाता

ओखलढुंगा — सरकारले २८ प्रतिशत वृद्धि गरेको सार्वजनिक सवारीको भाडादर दुई महिना बित्दासमेत वाग्मती प्रदेशमा कार्यान्वयन हुन सकेको छैन । जसका कारण अन्य प्रदेशका यात्रुलाई लिने भाडादर र वाग्मती प्रदेशका यात्रुबीचमा विभेद देखिएको छ । 

सवारी भाडा दरमा विभेद

संघ सरकारले गरेको निर्णय अन्य प्रदेशमा लागू भए पनि वाग्मतीमा प्रदेश सरकारले भाडादर कार्यान्वयन रोकेपछि अन्य प्रदेशका यात्रुहरूले विभेद भएको आरोप लगाएका छन् ।

वाग्मती प्रदेशसँग सीमा जोडिएका जिल्लाको पश्चिमी गाउँपालिकाहरू चम्पादेवी, लिखु र खिजिदेम्बामा चल्ने अरनिको यातायातका बसले रामेछापको सीमासम्मका यात्रुलाई साविककै भाडा दर लिने गरेका छन् । तर ओखलढुंगा प्रवेश गर्नेबित्तिकै काठमाडौंदेखि लाग्ने भाडामा २८ प्रतिशत भाडा जोडेर लिने गरिएको छ ।

‘रामेछापको साँघुटारसम्म आउने यात्रुले साविकको भाडा दर ७ सय १० मै काठमाडौंबाट आउन पाउँछ ।’ चम्पादेवी गाउँपालिका वडा नं. १० का वडाध्यक्ष उज्जन बुढाथोकीले भने, ‘तर लिखु तर्नेबित्तिकै यात्रुहरूलाई बढेको भाडा लिइन्छ । यसरी हेर्दा त पारि र वारिको यात्रु अर्कै देशमा बसेजस्तो विभेद भएन र ? पाँच किलोमिटर थप गाडी चढ्दा नै ३ सयसम्म भाडा बढी तिर्नुपर्छ ।’

भाडा दर वृद्धि हुँदा सबैलाई बराबर लागू हुनुपर्नेमा प्रदेशपिच्छे विभेद हुन नहुने उनले बताए । यातायात व्यवसायी भने वाग्मती प्रदेश सरकारको ढिलासुस्तीले गर्दा यस्तो भएको बताए । अन्तरप्रदेशमा भाडा लिन पाइने संघ सरकारले अनुमति दिइसकेपछि आफ्नो प्रदेशभित्रको भाडा दर वृद्धि लागू गर्ने काममा वाग्मती प्रदेशले अवरोध गरेकोले विभेद जस्तो देखिएको बताए ।

‘वाग्मतीबाहेक सबै प्रदेशमा बढेकै भाडा दर लागू भइसकेको छ ।’ अरनिको यातायात प्रालिका अध्यक्ष चित्रबहादुर कुँवरले भने, ‘अब देशभरि नै वृद्धिदर लागू हुने हो । वाग्मती प्रदेशले कार्यान्वयनमा समस्या ल्याएकैले हामी त्यसको विरोधमा छौं । त्यही भएर हामीले टिकट यात्रुलाई दिन सकेका छैनौं ।’

यातायात व्यवसायी महासंघले तत्काल समस्या समाधान गर्नुपर्ने भन्दै प्रदेश सरकारलाई दबाब दिएको जनाएको छ । चाडबाडका बेला भाडा दरमा एकरूपता कायम नहुँदा सर्वसाधारणले व्यवसायीलाई किन भाडा दरमा विभेद भएको ? भन्दै दैनिक विवाद गर्ने गरेका छन् ।

प्रकाशित : आश्विन १४, २०७८ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?