सीमा–नाका खोल्ने निर्णय भएन कार्यान्वयन- प्रदेश १ - कान्तिपुर समाचार

सीमा–नाका खोल्ने निर्णय भएन कार्यान्वयन

भारतीय पर्यटक आउन रोकिएपछि सीमावर्ती होटल व्यवसायी मर्कामा
देवनारायण साह

मोरङ — सरकारले गत मंगलबारदेखि सीमा नाका पूर्ण रूपमा खुला गर्ने भने पनि उक्त निर्णय अझै कार्यान्वयन हुन सकेको छैन । सरकारी निर्णय कार्यान्वयन नहुँदा मालवाहक सवारी साधनबाहेकका गाडी नेपाल–भारत आउजाउ हुन सकेको छैन ।

विराटनगरस्थित रानी भन्सार नाकाबाट कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले २०७६ चैत १२ गते लकडाउन गरेदेखि मालवाहक सवारीबाहेकका अरू साधन चलेका छैनन् । गाडी नचल्दा आफन्तको घर जान आउन नपाएको विराटनगरका मो. नसरुलले गुनासो

पोखे । फाटफुट मात्र चलेका सवारी ठूलो संख्याका यात्रुका लागि पर्याप्त छैन । स्थानीय प्रशासनले साउन २७ गतेबाट नै पैदल यात्रीका लागि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सीमा नाका खुला गरिसकेको छ । तर सुरक्षाकर्मीले साइकल पनि लिएर आउजाउ गर्न दिएको छैन ।

सीमामा खटिएका सुरक्षाकर्मीले माथिको आदेश भएकाले कुनै पनि किसिमको सवारीसाधन आउन जान नदिएको बताउँछन् । मोरङस्थित रानी, तरिगामा, रंगेली, आमतोला, दरैया, मटेरुवा, इस्लामपुरलगायत नाकाबाट लकडाउन भएदेखि कुनै पनि सवारीसाधन आउनजान सकेको छैन । जसले गर्दा सीमावर्ती सर्वसाधारण मर्कामा परेका छन् । सर्वसाधारणका साथै सबभन्दा बढी पर्यटन व्यवसायी समस्यामा परेका हुन् । विराटनगरका होटल व्यवसायी भविश श्रेष्ठले भारतीय पर्यटक खुला रूपमा नआएसम्म तराई क्षेत्रका होटल व्यवसाय उक्सिन गाह्रो हुने भएकाले सरकारले पूर्ण रूपमा सीमा नाका खोल्ने निर्णय तत्काल कार्यान्वयन गर्न माग गरे ।

होटल व्यवसायी संघ प्रदेश १ का अध्यक्ष राजन श्रेष्ठले सरकारले सीमा नाका पूर्ण रूपमा खोल्ने निर्णय गरे पनि कार्यान्वयन नगरेकाले सर्वसाधारणका साथै तराई क्षेत्रका समग्र पर्यटन व्यवसाय मर्कामा परेको गुनासो पोखे । ‘अहिले ३५/४० प्रतिशत मात्रै होटल व्यवसाय चलेको छ,’ उनले भने, ‘भारतीय पर्यटक नआउन्जेल होटल व्यवसाय पूर्ण रूपमा सञ्चालन हुन सक्दैन ।’

अहिले पैदल आउनजान खुला गरिएको तर खर्च गर्न सक्ने र घुम्न आउने पर्यटक आफ्नै गाडी लिएर आउने गरेकोले त्यो व्यवस्था नहुञ्जेल होटेल व्यवसाय तंग्रिन नसकिने श्रेष्ठको भनाइ छ । नेपाल ट्राभल्स एन्ड टुर्स एसोसिएसन प्रदेश १ का वरिष्ठ उपाध्यक्ष पुण्य भट्टराईले यहाँको पर्यटन व्यवसाय भारतीय पर्यटकमा आश्रित भएकाले भारतीयलाई स्वतन्त्र रूपमा आउने व्यवस्था सरकारले गर्नुको विकल्प नभएको बताए । उनले सरकारले पूर्ण रूपमा सीमा नाका खोल्ने गरेको निर्णय तत्काल कार्यान्वयन गरेर भारतीय पर्यटकलाई भित्र्याउने वातावरण निर्माण गर्न माग गरे । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सीमा नाका पूर्ण रूपमा खोल्ने सरकारको निर्णय प्रमाणीकरण भएर नआएको बताए । ‘सरकारले गरेको निर्णय कार्यान्वयनका लागि परिपत्र नआएसम्म पूर्ण रूपमा सीमा नाका खुला गर्न सकिँदैन,’ उनले भने, ‘सीमा नाका खोल्नु अगाडि सुरक्षा समितिको बैठक बसेर नाका व्यवस्थित रूपमा सञ्चालन गर्ने निर्णय गरेर अघि बढ्ने तयारीमा जुटेका छौं ।’

प्रकाशित : आश्विन १०, २०७८ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्

सडक विस्तारमा व्यवसायीको अवरोध

बाटो अतिक्रमण गरी राखिएको फलफूल पसल हटाउन अटेर
शिव पुरी

रौतहट — पूर्वपश्चिम राजमार्गको चन्द्रनिगाहपुर चोकमा सडकमै ठेला राखेर फलफुल व्यवसाय गर्नेको अटेरीले सडक बिस्तार प्रभावित भएको छ । उनीहरूले ठेला हटाउन नमाने पछि दुई दिनदेखि काम रोकिएको हो ।

चन्द्रपुर नगरपालिका–४ स्थित मुख्य चोकको उत्तरतर्फ सडकमै लामो समयदेखि फलफूल पसल थापेर बसेकाहरू हट्न मानेका छैनन् । सडक डिभिजन कार्यालयले फलफूल व्यवसायीले ठेला हटाउन नमान्दा काम रोकिएको जनाएको छ । प्रहरी नगरपालिकाले हटाउन अग्रसरता नदेखाएको भन्दै चुप बसेको छ । नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले आइतबारबाट कडा रुपमा प्रस्तुत हुने बताए । ‘मुख्य राजमार्गको दुबैतिर २५/२५ मिटरको क्षेत्र खाली गराउँदै छौं । अब सडकमै ब्यवसाय गर्न दिँदैनौं,’ उनले भने, ‘सडकमै ठेला राख्नु राम्रो होइन । यसले नगरलाई कुरुप बनाएको छ ।’ स्थानीयको प्रतिरोधपछि केही ठेला व्यवसायीले हटाएका थिए ।

एक वर्षअघिसम्म राजमार्गमा फाट्टफुट्ट फलफूल पसल थिए । अहिले लाइनै जस्तो राखिएको छ । पछिल्लो समय व्यस्त सडकमा ठेलामा फलफूल राखेर व्यवसाय बढेको हो । केही यातायात व्यवसायीले काउन्टरसमेत राखेका छन् । यसले सहरलाई अस्तव्यस्त बढाएको भन्दै चौतर्फी आलोचना हुँदै आए पनि नगरपालिका मौन बसेको थियो । राजमार्गमा पसल थापिएपछि त्यही सवारी रोक्ने हुनाले दुर्घटनाको सम्भावना बढेको स्थानीयको भनाइ छ । तर, फलफूल व्यवसायी दिपेश कुमारले ठाउँ नै नभएपछि सडकमै राख्न बाध्य भएको सुनाए । ‘कतै ठाउँ पाइएन,’ उनले भने, ‘जबरजस्ती भए पनि सडकमा राख्नुपरेको हो । अब हटाउँछौं ।’ केही व्यवसायीले सडकको पेटीमा समेत पसल थापेका छन् । उनीहरू राति चारैतिरबाट प्लास्टिकले छोपेर ठेलालाई सडकमै छाड्ने गर्छन् । बिहानबाट व्यवसाय सुरु गर्छन् ।

सडकका प्राविधिक शम्भु थापाले ठेला पसलेका कारण काम गर्न नपाएको बताए । ‘हटाऊ भन्दा मान्दैनन् । जनप्रतिनिधिलाई खबर गर्दा पनि आउँदैनन्,’ उनले भने, ‘यस्तै रबैया रह्यो भने सडक विस्तारको काम अघि बढ्न सक्दैन ।’ सडक कार्यालयले दुवैतिर सडक चौडा गरेर कालोपत्रको काम सुरु गर्न लागेको हो ।

यता गौर–चन्द्रनिगाहपुर खण्डमा सडकमै पसल थाप्ने, पशु बाँध्ने, गोठ बनाउनेजस्ता कार्य भइरहेकोले तत्काल हटाउनुपर्ने माग हुँदै आएको छ । सडक डिभिजनले बेवास्ता गरेको र अतिक्रमण हुँदा पनि चासो नदेखाएको भन्दै स्थानीयले विरोध जनाउँदै आएका छन् । सडकका कर्मचारी नरेश केशरीले पटकपटक अतिक्रमण स्थान खाली गर्न सूचना जारी गरेको बताए । ‘हामीले पूर्वपश्चिम राजमार्ग र गौर खण्ड अतिक्रमण धेरै बढेको भन्दै सूचना जारी गरेका थियौं,’ उनले भने, ‘विस्तारै हटाउने अभियान थाल्छौ । जथाभावी सडकमै पशल थाप्न पाइँदैन ।’ यो खण्डको दुवैतर्फ स्थानीयले पशु बाँध्ने, परालका टाल राख्ने र पसलका समान राख्ने गरेका छन् ।

यो मार्गमा सबैभन्दा बढी अतिक्रमण बालचनपुर पडोरिया क्षेत्रमा भएको छ । पशुलाई खुवाउन परालका टालहरू सडककै छेउमा राखिएका छन । चन्द्रनिगाहपुरदेखि गौर (४२ किमि) सम्मका दायाँबायाँ सडकनजिकै पोखरी खनिएका छन् । कतै चिम्नी उद्योगले माटो खनेर इँटा उत्पादन गरिरहेको छ । केही स्थानमा मोटरसाइकलका ग्यारेज राखिएको छ । सडक नै अतिक्रमण गरी यी काम हुँदा सवारी पास हुनै मुस्किल हुने गरेको छ । राष्ट्रिय राजमार्गमा २५ र सहायक मार्गमा १५ मिटर छाडेर मात्र व्यक्तिगत उपभोग गर्नुपर्ने व्यवस्था भए पनि रौतहटका बजार क्षेत्रमा यसको पालना हुन सकेको छैन ।

प्रकाशित : आश्विन १०, २०७८ १२:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×