जग्गा विवादमा हत्या- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जग्गा विवादमा हत्या

पर्वत पोर्तेल

काँकडभिट्टा — देवरसँगको जग्गा विवादका कारण एक महिलाको हत्यामा संलग्‍न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले बुधबार पत्रकार सम्मेलनमार्फत आरोपीलाई सार्वजनिक गरेको हो ।

झापा गाउँपालिका-१ माइती घर भई भारत विहारको किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने करिब ५० वर्षीया डोली भन्ने धोन्नी टुडुको हत्यामा संलग्न भएको आरोपमा मृतकको भान्जा किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने २३ वर्षीय ऐतवार सोरेन, मृतकको सौताको छोरो झापा गाउँपालिका-१ बस्ने ३७ वर्षीय लखन टुडु सतार, सोही स्थान बस्ने ५६ वर्षीय सिरी साइला भन्ने सोमाई हेमरम सतार र सोही स्थान बस्ने २७ वर्षीय हेमरम सतारलाई प्रहरीले पक्राउ गरेको हो ।

गत भदौ २४ गते राति धोन्नी टुडुको माईखोला किनारमा धारिलो हतियारको प्रयोगबाट हत्या भएको प्रहरीले जनाएको छ । हत्या भएको भोलिपल्ट आधा शरीरसहितको शव फेला पारेको थियो । हत्याका मुख्य योजनाकार भनिएका मृतकका देबर किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने ४५ वर्षीय हेमरम मण्डल (सतार) भने फरार छन् । उनकै योजना अनुसार महिलाको हत्या भएको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मृतकका छोराछोरी कोही छैनन् । उनको हत्या भएको १५ दिनअघि मात्रै पतिको मृत्यु भएको थियो ।‘हत्याको मुख्य कारण चाहीँ देवरसँगको जग्गा विवाद देखिन्छ, ’ जिल्ला प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईले भने ।

प्रकाशित : आश्विन ६, २०७८ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्

सप्तरीमा दिदीभाइको मृत्यु

अवधेशकुमार झा

काठमाडौँ — सप्तरीमा ओछ्यानमै बेहोस अवस्थामा भेटिएका दुई बच्‍चाको मृत्यु भएको छ । खडग नगरपालिका २ सिस्वा बेल्हीका राजेश मण्डलकी १४ वर्षीया छोरी सुनिता र ९ वर्षीय छोरा कृष्ण मंगलबार मृत्यु भएको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

उनका अनुसार खाना खाएर सोमबार राति एउटै ओछ्यानमा सुतेका दिदीभाइ मंगलबार बिहान दुबैको ओछ्यानमै मुखबाट फिज आइरहेको देखेपछि परिवारका सदस्यले लहान अस्पताल लगेका थिए । लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालमा उपचारका क्रममा सुनिताको मृत्यु भएको नायव उपरीक्षक काफ्लेले बताए । यस्तै कृष्णलाई थप उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको काफ्लेले बताए । दिदीभाइको मृत्युको कारण भने खुलेको छैन ।

ओछ्यानमा सर्पले डसेर उनीहरुको मृत्यु भएको आशंका गरिए पनि पोस्टमार्टम रिपोर्ट नआएसम्म यकीन नहुने काफ्लेले बताए । ‘पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ, अनुसन्धान पनि सुरु गरेका छौं’, काफ्लेले भने, ‘चाँडै मृत्युको कारण खुल्ने छ ।’

प्रकाशित : आश्विन ६, २०७८ १५:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×