कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश १ सभाको हिउँदे अधिवेशन असोज २२ गते आह्वान

देवनारायण साह

मोरङ — प्रदेश १ को प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशन असोज २२ गते आह्वान गरिएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारीले असोज २२ गते दिउँसो २ बजे प्रदेशसभाको हिउँदे अधिवेशन बोलाएको प्रदेशसभा सचिवालयका सचिव गोपाल प्रसाद पराजुलीले बताए ।

प्रदेश १ सभाको हिउँदे अधिवेशन असोज २२ गते आह्वान

प्रदेश प्रमुख अधिकारीले संविधानको धारा १८३ (१) अनुसार अधिवेशन आह्वान गरेको हो । प्रदेशसभा सचिवालयका सचिव पराजुलीले प्रदेशसभा नियमावली २०७४ को नियम ३ (१) बमोजिम प्रदेश सांसदहरुको जानकारीको लागि बिहीबार सूचना प्रकाशित गरेको बताए ।

यो हिउँदे अधिवेशनमा मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशसभामा विश्वासको मत लिने छन् । एमालेका १० जना प्रदेश सांसद नेकपा एकीकृत समाजवादीमा गएर मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारको समर्थन नरहने पत्र प्रदेशसभा सचिवालयमा आइतबार दर्ता गराएपछि सरकारले बहुमत गुमाएको हो ।

विश्वसको मत प्राप्त गर्न मुख्यमन्त्री आचार्यलाई ४६ प्रदेश सांसदको मत आवश्यक हुन्छ । तर ९२ सदस्यीय प्रदेशसभामा ५१ सदस्यसहित एकल बहुमत रहेको एमालेका १० जना सांसद एकीकृत समाजवादीमा गएपछि अल्पमतमा परेको छ ।

मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गर्ने विश्वासका साथ प्रदेशसभा बैठक आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको बताए । उनले आफूले काम गर्न सरकारको नेतृत्व गरेकोले जनताको काम गर्ने पक्षमा रहेका प्रदेश सांसदहरुले विश्वासको मत दिने विश्वास व्यक्त गरे ।

यसैबीच, विपक्षी गठबन्धन कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको बुधबार बसेको बैठकले मुख्यमन्त्री आचार्यले असोज ८ गतेभित्र प्रदेशसभामा विश्वासको मत लिने प्रक्रिया सुरु नगरे अविश्वासको प्रस्ताव दर्ता गराउने निर्णय गरेको छ ।

९२ सदस्यीय प्रदेशसभामा एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १–१ जना प्रदेश सांसद छन् ।

प्रकाशित : भाद्र ३१, २०७८ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?