कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अल्पमतमा परेका मुख्यमन्त्री आचार्य मन्त्रिपरिषद् विस्तार गर्दै

देवनारायण साह

मोरङ — अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा जुटेका छन् । मन्त्रीको नाम टुंगो लगाउन मुख्यमन्त्री आचार्य र पूर्व मुख्यमन्त्री शेरधन राईबीच छलफल जारी रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । 

अल्पमतमा परेका मुख्यमन्त्री आचार्य मन्त्रिपरिषद् विस्तार गर्दै

छलफलमा आर्थिक मामिला तथा योजना मन्त्रीमा संखुवासभाका प्रदेश सांसद तुलसी न्यौपाने र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा झापाका हिरा थापाको नाममा सहमति जुटिसकेको छ । यस्तै, दुई जना राज्यमन्त्रीमा सोलुखुम्बुको उत्तमकुमार बस्नेत र मोरङका ज्ञानेश्वर राजबंशीको नाम टुंगो लागिसकेको सचिवालयले जनाएको हो ।

मन्त्रिपरिषद्‌मा महिला सहभागिताका लागि मोरङकी यशोदा अधिकारीले मन्त्री बन्न अस्विकार गरेपछि उदयपुरकी अम्बिका थापाको नाममा छलफल भइरहेको छ । मुख्यमन्त्री आचार्यले मोरङका प्रदेश सांसद लिलाबल्लभ अधिकारीलाई पनि मन्त्री बनाउन चाहेको तर टुंगो लाग्न बाँकी रहेको स्रोतले जनाएको छ । मन्त्रीमा नाम छनोट भएकाहरुलाई बुधबार नै शपथ ग्रहण गराउने सरकारको तयारी रहेको सचिवालयले जनाएको छ ।

एमालेबाट नेकपा एकीकृत समाजवादीमा गएका १० जना प्रदेश सांसदले आइतबार प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारमा समर्थन नरहने पत्र दर्ता गराएका छन् । उनीहरुको पत्रले मुख्यमन्त्री आचार्य नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ ।

निर्वाचन आयोगको पत्रले ९२ सदस्यीय प्रदेशसभामा एमालेको ५१ सदस्यसहित कायम रहेको एकल बहुमत गुमाएको छ ।

संविधानको धारा १८८ (२) मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नु पर्ने उल्लेख छ । तर मुख्यमन्त्री आचार्यले विश्वासको प्रस्ताव नराखी मन्त्रिपरिषद् विस्तारमा जुट्नु भएको हो ।

यता, प्रमुख प्रतिपक्षी कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसहितको गठबन्धनको बुधबार बसेको बैठकले असोज ८ गतेभित्र मुख्यमन्त्री आचार्यले सदनबाट विश्वासको मत लिने प्रक्रिया अघि नबढाए अविश्वासको प्रस्ताव दर्ता गराउने निर्णय गरेको छ ।

माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री असोज ८ गते अगावै विश्वासको मत लिने प्रक्रिया सुरु नगरे अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराउने गठबन्धन दलको बैठकले निर्णय गरेको बताए ।

मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गर्न ४६ सांसद आवश्यक हुन्छ । ९२ सदस्यीय प्रदेशसभामा एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको १/१ जना प्रदेश सांसद छन् ।

प्रकाशित : भाद्र ३०, २०७८ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?