कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लागूऔषध ओसारपसार आरोपमा ३ भारतीयसहित ५ जना पक्राउ

प्रदीप मेन्याङ्बो

सुनसरी — आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय सुनसरीले सोमबार पाँच जनालाई पक्राउ गरेको छ ।

लागूऔषध ओसारपसार आरोपमा ३ भारतीयसहित ५ जना पक्राउ

पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिकाका वडाध्यक्षलाई फोन गरेर धम्की दिदै २० लाख रुपैयाँ माग्नेदेखि लागूऔषध ओसारपसारमा संलग्नहरू रहेका छन् ।

प्रहरीकाअनुसार लागूऔषध ओसारपसारमा संलग्न भएको आरोपमा पक्राउ पर्नेहरूमा सप्तरीको हनुमान नगर कंकालनी–७ बस्ने २१ वर्षीय सुरज ठाकुर, भारतको विहारस्थित सुपौल भगवानपुर पञ्चायत सम्दाहागडी–१२ बस्ने २२ वर्षीय अवशेषकुमार मण्डल र २५ वर्षीय रोशन मण्डल छन् । उनीहरूलाई प्रहरीले कोसी गाउँंपालिकाको कोसी कटान क्षेत्रबाट ६० बोतल डाईलेक्स डीसी, १ हजार थान स्पास्मोप्रोक्सीभन क्याप्सुल र भारतीय नगद २० हजार रुपैयासहित पक्राउ गरिएको हो ।

सप्तरी जिल्लाको हनुमाननगरबाट ठुलो मात्रामा लागूऔषध सुनसरीतर्फ ल्याइँदै छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त समुहलाई पक्राउ गरेको हो ।

प्रहरीले जिल्लाको भोक्राह नर्सिङ–६ बाट अर्का एकजना भारतीय नागरिकलाई पनि लागूऔषधसहित पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा विहारको अररीया जिल्लाको बेलगामा पञ्चायत घुर्ना थाना–५ घर भएका १९ वर्षीय रुपेस कुमार मेहता छन् । उनको साथबाट डाईलेक्स डीसी सय एमएलको १६ बोतल, नाईट्रोसन ८० ट्याब्लेट स्पास्मोप्रोक्सिभन प्लस १ सय २० क्याप्सुल बरामद गरेको प्रहरीले जनाएको छ ।

उनीहरू विरुद्ध लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिमको कारबाही प्रक्रियाका लागि सुनसरी जिल्ला अदालतबाट ७ दिन म्याद थपेर कानुनी पक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ । यसैगरी प्रहरीको चेकिङ टोलीले इनरुवा नगरपालिका– ४ बसपार्क आसपास आकस्मिकरुपमा जाँच गर्ने क्रममा हरिनगरा गाउँपालिका–४ बस्ने ४० बर्षीय विष्णु ऋषिदेवलाई १२ हजार २ सय ४० फाइल ट्रामाडोल क्याप्सुल आइपी ५० एमजीकोसहित पक्राउ गरेको जनाएको छ । ऋषिदेवलाई भने प्रहरीले आवश्यक कानुनी कारबाहीका लागि औषधि व्यवस्था विभाग विराटनगर पठाएको छ ।

प्रहरीले इटहरी उपमहानगरपालिका वडा– १९ का वडा अध्यक्ष नारायण चौधरीलाई फोन गरी गालीगलौज, धम्की दिई नगद २० लाख रुपैयाँ मागी मागी फरार रहेका झापा दमक नगरपालिका १ बस्ने २४ वर्षीय पुण्यबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय दमक झापाको सहयोगमा उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । श्रेष्ठलाई मुलुकी अपराध (संहिता) ऐन– २०७४ अनुसार अभद्र व्यवहार शीर्षकमा कारबाही गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीबाट कानुनी प्रक्रिया बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र २८, २०७८ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?