कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिया क्षेत्रको समस्या समाधान प्रयास

हरियो पत्ती भारत जान रोक्ने, ट्रेडमार्कको प्रवर्द्धन गर्ने, गुणस्तर सुधार्ने र बजार विस्तार गर्ने रणनीतिमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड
विप्लव भट्टराई

इलाम — आन्तरिक खपत टार्दै विदेशी मुद्रा आर्जन गर्ने गतिलो माध्यम मानिएको चिया क्षेत्र अनेकौं समस्याले ग्रस्त छ । कृषकदेखि श्रमिक र उद्यामीलगायत सरोकारवाला सबै क्षेत्र समस्याग्रस्त भएको बताउँछन् । कृषकले हरियो चिया पत्तीको मूल्य नपाउने, श्रमिकले उचित पारिश्रमिक नपाउने, उद्यमीले बजार नपाउनेजस्ता चियामा सधैं सुनिने गुनासा हुन् । 

चिया क्षेत्रको समस्या समाधान प्रयास

खासगरी साना किसान स्तरबाट ठूलो परिणाममा चिया उत्पादन हुने इलाममा यस्ता गुनासा निकै सुनिन्छन् । पछिल्लो समय राष्ट्रिय चिया तथा कफी विकास बोर्डले चिया क्षेत्रका समग्र समस्या पहिचान गर्दै समाधानको प्रयास थालेको छ । चिया क्षेत्रमा सुधार ल्याउन अपेक्षित भूमिका नखेलेको आरोप खेपिरहेको बोर्डले पछिल्लो समय सक्रियता देखाएको हो । अखाद्य विषादी नियन्त्रणदेखि सीमा क्षेत्रबाट हरियो पत्ती भारत जान रोक्नेसम्मका पहल गरेको बोर्ड ट्रेडमार्कको प्रवर्द्धन र गुणस्तर सुधार र बजार विस्तारको योजना लिएर कृषकसम्म पुग्न थालेको छ । ‘चियाको बिरुवादेखि उपभोक्ताको कपसम्म पुग्दाका सबै समस्यालाई समाधानको प्रयासमा छौं,’ बोर्डका कार्यकारी निर्देशक विष्णुकुमार भट्टराईले भन्छन् ।

त्यस्तै, नेपाली चियालाई अर्गानिक प्रमाणीकरण गर्दै अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले ट्रेडमार्क वितरण थालिएको छ । चिया तथा कफी विकास बोर्डले यो वर्ष र अघिल्लो वर्ष गरी २४ वटा उद्योगलाई ट्रेडमार्क प्रदान गरिसकेको छ । ‘नेपाल टी क्वालिटी फ्रम दी हिमालयज’ नामक लोगो प्राप्त भएपछि विश्वका विभिन्न देशमा नेपाली चियाको बिक्री गर्न सहज हुने र उचित मूल्यसमेत पाइने बोर्डको दाबी छ । हालसम्म बोर्डबाट प्रमाणीकरण भई ट्रेडमार्क पाउने इलाम, पाँचथर, तेह्रथुम, संखुवासभा र मोरङ जिल्लाका चिया उद्योग छन् ।

‘विश्व बजारमा नेपाली चिया आफ्नै लोगोमा जाने भएकाले नेपाली चियाको आफ्नै पहिचान बनेको छ,’ निर्देशक भट्टराईले भने, ‘यसले चियालाई अर्गानिक बनाउँदै कृषकस्तरसम्म पुगेर चियाको गुणस्तर सुधारको प्रक्रिया अवलम्बन गर्छ ।’ बगानबाट नै चिया अर्गानिक रूपमा उत्पादन गराएर गुणस्तर सुधार गर्नुपर्ने भएकाले ट्रेडमार्कले सिंगो चिया क्षेत्रमा उल्लेख्य सुधार ल्याउने अपेक्षा गरिएको उनले बताए ।

चियाको राजधानी मानिएको सूर्योदय नगरपालिकामा ठूलो मात्रामा चिया उत्पादन हुने र कारखाना पनि सञ्चालनमा रहेकाले समस्या पनि उत्तिकै देखिएका छन् । नगरपालिकाले चियाको गुणस्तर सुधार गर्दै कृषकलाई उचित मूल्य दिलाउन न्यूनतम मूल्यसमेत कायम गरेको छ । नगरपालिकाको मापदण्डअनुसार हरियो चिया पत्तीको मूल्य न्यूनतम ४० रुपैयाँ तोकिएको छ । ‘चिया क्षेत्रका समग्र समस्या समाधान गर्न बोर्डसँग सहकार्य गरेर अघि बढ्न तयार छौं,’ नगर प्रमुख रणबहादुर राईले भने, ‘अझै पनि नेपाली चिया भारतको दार्जिलिङ ब्रान्डमा निर्यात हुने गरेको दुःखद पक्ष छ ।’ चियाको गुणस्तर सुधारका लागि उद्यमीहरूको भूमिका पनि अहम् हुने उद्योगीहरू नै स्विकार्छन् । कारखाना धेरै हुनु र गुणस्तरीय पत्ती उत्पादन हुने सिजनमा हरियो पत्ती भारतसमेत निकासी भएर कारखानाले चिया पत्तीको अभाव खेप्ने गरेका छन् । यो अवस्थामा हरियो पत्ती भारत निकासी गर्न नहुने भन्दै त्यसलाई रोक्ने अभियानमा बोर्ड लागेको छ ।

यसैबीच, अर्थोडक्स चियाको गुणस्तर वृद्धि गर्दै अन्तर्राष्ट्रिय बजारमा पहुँच बढाउने उद्देश्यले परियोजना सञ्चालन हुने क्रममा छ । चिया क्षेत्रमा आएका परियोजनाले आफूहरूलाई समेट्न नसकेको कृषकस्तरबाट गुनासो चुलिइरहेका बेला बोर्डले करिब १७ करोड रुपैयाँ बराबरको परियोजना सञ्चालनमा ल्याएको हो । गुणस्तरीय उत्पादनमार्फत नेपाली चियालाई विश्व बजारमा चिनाउने उद्देश्यले परियोजना सञ्चालन गर्न लागिएको बोर्डको दाबी छ । ‘परियोजनाले कृषकलाई नै अर्गानिक र गुणस्तरीय चिया उत्पादन गर्न सहयोग गर्छ,’ निर्देशक भट्टराईले भने, ‘गुणस्तरीय उत्पादन हुनासाथ नेपाली पहिचानसहित विश्व बजारमा विश्वासको वातावरण बन्नेछ ।’

युरोपेली संघको सहयोगमा सरकारले ल्याएको ‘नेपाल इन्क्रिज सस्टेनेवल टी एक्सपोर्ट’ परियोजनाले चियाको बजार विस्तारका लागि जीटूजी सम्झौतासमेत अघि बढाएको छ । यसअन्तर्गत चीनसँगको प्रक्रिया निष्कर्षमा पुग्ने क्रममा रहेको बोर्डको भनाइ छ । युरोपेली संघ, रुसलगायत देशसँग पनि सम्झौता हुनेछ ।

प्रकाशित : भाद्र २०, २०७८ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?