कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कृष्णाष्टमीमा ‘दधिकाद खेल’

अर्जुन राजवंशी

बिर्तामोड — १२ वर्षअघि दिलकुमार राजवंशीले आफ्नो पहिलो सन्तान छोराका लागि भाकल गरेका थिए । छोरा जन्मिए कृष्ण जन्माष्टमीका दिन ‘दधिकाद खेल’ दिने उनको भाकल थियो । छोरा जन्मिएपछि दिलकुमारले सोमबार भाकल चढाएका छन् ।

कृष्णाष्टमीमा ‘दधिकाद खेल’

भगवान् कृष्णसँग गरेको भाकलअनुसार दिलकुमारको पहिलो छोरा सौरव ९ वर्षका भइसकेका छन् । विवाह अघिपछि गरी दिलकुमार १३ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहे । छोराको भाकल दिन भनेर अघिल्लो वर्ष उनी घर फिरेका थिए । तर, कोरोना महामारीका कारण भाकल तिर्न सकिरहेका थिएनन् । यस वर्ष स्थानीय प्रशासन, वडा कार्यालयलगायतसँग विशेष आग्रह गरी सोमबार दधिकाद खेल खेलाएको दिलकुमारले बताए ।

महामारीका बीच झापाका राजवंशी जातिले कृष्ण जन्माष्टमी पर्व मनाएका छन् । परापूर्वकालदेखि खेलिँदै आएको दधिकाद खेल जिल्लाका ग्रामीण भेकका गाउँहरूमा खेलाइएको छ । दधिकाद खेल मंगलबार पनि खेल्ने कार्यक्रम रहेको कोचिला गाभुर फ्रन्टका अध्यक्ष अभय राजवंशीले बताए । ‘हाम्रो संस्कारअनुसार भगवान् कृष्ण सोमबार राति जन्मिन्छन् । कृष्ण जन्मिएको खुसियालीमा भोलिपल्ट (मंगलबार) गाउँगाउँमा दधिकाद खेल खेल्ने चलन छ,’ उनले भने ।

राजवंशी समुदायमा कृष्ण जन्माष्टमी पर्वलाई सांस्कृतिक महत्त्वको पर्वको रूपमा मनाउने चलन छ । कृष्ण जन्माष्टमी पर्वको व्रत आइतबारदेखि नै सुरु भएको थियो । व्रतालुले अघिल्लो दिन शनिबार नै घरआँगन सफा सुग्घर गरेका थिए । आइतबार लिपपोत गरी माछामासु घरमा ल्याउन रोक लगाएका थिए । आइतबार दिनभरि व्रत बसी साँझ सजम (व्रतालुका लागि बनाइएको चोखो खाना) खाएका थिए । सोमबार दिनभर रातभर निलाहार (केही नखाई) व्रत बस्छन् । कृष्ण जन्मिएको भोलिपल्ट कृष्ण मन्दिरमा पूजापाठ गरी अपराह्न दधिकाद खेल खेल्ने चलन छ ।

जिल्लाको घैलाडुब्बा, राजगढ, गौरीगन्ज, खजुरगाछी, गौरादह, बेराबारी, बनियानी, भद्रपुर, हल्दिबारीलगायत स्थानमा दधिकाद खेल खेल्ने गरिन्छ । ‘प्रत्येक राजवंशी गाउँमा दधिकाद खेल्ने चलन छ,’ लक्ष्मीपुरका राजनकुमार राजवंशीले भने, ‘कोरोनाका कारण दुई वर्षयता कुनै पर्व खुसियालीसाथ मनाउन पाएका छैनौं ।’ दधिकाद खेल भगवान् कृष्ण जन्मिएको खुसियालीमा परापूर्वकालदेखि खेलिँदै आएको सांस्कृतिक खेल हो । रातो माटोलाई हिलो बनाएर नरिवल खोसाखोस गर्दै केही पर बनाइएको भगवान् कृष्णको मन्दिरमा चढाउने व्यक्ति पराक्रमी र भाग्यमानी ठहरिन्छन् ।

किंवदन्तीअनुसार सतियुगमा भगवान् कृष्ण जन्मिएको भोलिपल्ट बिहानै उनको दर्शन गर्न गाउँभरिका मान्छेहरू भेला भएका थिए । पानी परिरहेको मौसममा ठेलमठेल गर्दै कृष्णको दर्शन गर्न अघि बढेकाहरूले आँगन हिलाम्मे बनाएको र त्यही हिलोमा लड्दै आफूले लगेको कोसेली कृष्णलाई चढाएको सम्झनामा दधिकाद खेल खेल्ने गरेको प्राज्ञ पवन राजवंशीले बताए । दधिकाद खेलपछि सहभागी सबैले हिलोको टीका लगाउने चलन छ । दधिकाद खेल्ने खेलाडीलाई नगद पुरस्कारको व्यवस्था समेत गरिएको हुन्छ ।

सोमबारको खेलमा हिलोको बीचमा करिब १२ मिटर अग्लो बास गाडिएको थियो । तेल र घ्यु दलेर गाडिएको बासको टुप्पामा नगद पुरस्कार राखिएको हुन्छ । बास चढेर थैली खोल्ने खेलाडीले उक्त पुरस्कार प्राप्त गर्छन् ।

प्रकाशित : भाद्र १५, २०७८ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?