कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

प्रदेश सरकार गिराउने कसरत सुरु

सरकार एक महिना पनि नटिक्ने दाबी, सत्तापक्षका सांसद तान्न गठबन्धनको जोडबल
देवनारायण साह

विराटनगर — नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा प्रदेश १ का सांसद राजेन्द्रकुमार राईले नवनियुक्त मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकारले भदौ महिना काट्न नसक्ने बताएका छन् । विराटनगरमा आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै राईले यही महिनाभित्र गठबन्धनको सरकार बन्ने बताए । ‘प्रदेश १ का १०  सांसद एकीकृत समाजवादीमा संगठित भएका छौं,’ उनले भने, ‘प्रदेश सांसदको संख्या १५ पुर्‍याउँछौं ।’

प्रदेश सरकार गिराउने कसरत सुरु

एकीकृत समाजवादीमा संगठित भएका प्रदेश सांसदमा राजेन्द्रकुमारसहित राजन राई, पदमकुमारी गुरुङ, गणेशकुमार काम्बाङ, खिनु लङ्बा लिम्बू, सुनीताकुमारी चौधरी, सरिता थापा, कृष्णकुमारी राई, सावित्रीकुमारी रेग्मी र उपेन्द्र घिमिरे छन् ।

एकीकृत समाजवादीमा संगठित भएका अधिकांश सांसद विराटनगरको एक होटलमा बसेर एमालेका सांसदलाई आफूतिर तान्न जोडबल लगाइरहेका छन् । सांसदलाई होटलमै राख्नुपर्ने अवस्था बारेमा राखेको जिज्ञासामा राजेन्द्रकुमारले अहिलेको अवस्थामा कुनै प्रदेश सांसदलाई होटलमा बन्द गरेर पार्टीमा आबद्ध गराउनु असम्भव भएको बताए ।

सकेसम्म बढी प्रदेश सांसदहरूको संख्या पुर्‍याएर मंगलबार निर्वाचन आयोगको प्रदेश १ कार्यालयमा सनाखत गर्ने तयारीका लागि छलफलमा जुटेको राईले बताए । ‘राजनीतिक आस्था र विचार परिवर्तन गर्ने जस्ता कठिन विषयमा निर्णय लिनुपर्ने भएकाले केही सांसदहरू अझै छलफलमै हुनुहुन्छ,’ उनले भने, ‘एमालेमै रहनुभएका केही सांसदले मंगलबारसम्ममा निर्णय गरेर एकीकृत समाजवादीमा आएर निर्वाचन आयोगमा सनाखत गर्न जानुहुन्छ भन्ने विश्वास छ, संगठित रूपमा हामी प्रयत्न गरिरहेका छौं ।’

एमालेबाट को–को प्रदेश सांसद एकीकृत समाजवादीमा आउने भन्नेबारेमा उनले खुलाउन चाहेनन् । तर एमालेका प्रदेश सांसद राजकुमार ओझालगायत केही सांसद आउने चर्चा छ । ओझाले भने आफू एमालेमै रहने बताए । निर्वाचन आयोगमा सनाखत गरेर सबै कानुनी प्रक्रिया पूरा गरेपछि कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी), जसपा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको गठबन्धनको सरकार बनाउने प्रक्रिया सुरु गर्ने राजेन्द्रकुमारको भनाइ छ ।

‘निर्वाचन आयोगले जति छिटो प्रक्रिया पूरा गरेर प्रदेशसभा सचिवालयलाई पत्र पठाइदिन्छ त्यति चाँडो गठबन्धनको सरकार निर्माण प्रक्रिया सुरु हुन्छ,’ उनले भने, ‘कानुनी प्रक्रिया पूरा भएपछि मुख्यमन्त्री आचार्यसँग औपचारिक रूपमा छलफल गरेर प्रदेशसभाबाट विश्वासको मत लिन आग्रह गर्छौं तर विश्वासको मत लिन समय लम्ब्याउन खोजे आफ्नोअनुसार प्रक्रियामा जान्छौं ।’

बिहीबार मुख्यमन्त्रीमा शपथ लिएका आचार्यले शुक्रबार दुई सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका थिए । उनले एकीकृत समाजवादीमा संगठित भएका प्रदेश सांसद खिनु लङ्बा लिम्बू र सावित्रीकुमारी रेग्मीलाई मन्त्री बनाएर एमालेमा तान्ने गरेको प्रयास असफल भएको छ । उनी एकीकृतका प्रदेश सांसदलाई तान्ने प्रयत्नमा छन् । मंगलबारसम्ममा एकीकृत समाजवादीमा संगठित भएका सांसदहरूलाई मुख्यमन्त्री आचार्यले एमालेमा फर्काउन नसके प्रदेशसभामा बहुमत सिद्ध गर्न कठिन हुने निश्चित छ ।

‘पार्टी विभाजनपछि लोकतन्त्र र स्थायित्वका पक्षधर दलको साथमा एमालेभित्रै पनि बहुमत कायम राख्ने प्रयासमा छौं,’ मुख्यमन्त्री आचार्यले भने, ‘संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाबाट विश्वासको मत लिन्छु ।’ ९२ सदस्यीय प्रदेशसभामा एमालेका ५१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १/१ जना सांसद छन् ।

प्रकाशित : भाद्र १४, २०७८ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?