कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

चियामा विषादी प्रयोग बढेपछि कडाइ

विप्लव भट्टराई

इलाम — चियामा हानिकारक मानिएको विषादीको प्रयोग बढेपछि त्यसमा कडाइ गरिएको छ । विषादीयुक्त चिया निकासीमा समेत समस्या हुने गरेको छ । पश्चिमा देशमा उपभोक्ताले विषादी प्रयोग भएको चिया प्रयोग गर्न नमान्ने भएकाले पनि यसमा कडाइ गरिएको हो ।

यसैबीच, कन्याम चिया कमानको विषादी घरमा सिल गरिएको छ । मापदण्डविपरीत विषादी प्रयोग भएको भन्दै राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र सूर्योदय नगरपालिकाले विषादी घर सिल गरेको हो । बगान अनुगमन गर्दा कडा प्रकारको विषादी प्रयोग गरेको पाइएपछि चिया विषादी घर सिल गरिएको हो । क्लोरोफाइन फस, साइपर मेथिनलगायतका विषादी मात्रा नमिलाई मापदण्डविपरीत प्रयोग गरेको पाइएपछि सिल गरिएको बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले जानकारी दिए ।

कमानले चियामा विषादी प्रयोग गर्दा बोर्डबाट अनुमति लिएर मात्र प्रयोग गर्न पाउँछ । ‘हानिकारक विषादी नियन्त्रणका लागि बोर्डले विभिन्न कार्यक्रम गर्दै आए पनि यो स्तरको काम गरेको पहिलो पटक हो,’ बोर्डका कार्यकारी निर्देशक भट्टराईले भने, ‘विषादी प्रयोग गर्दा मानवीय स्वास्थ्यमा असर पर्ने भएकाले बेलैमा सचेतता अपनाउन दबाब दिन यो कार्य आवश्यक थियो ।’ अनुसन्धानपछि मापदण्डले भ्याएसम्मका विषादीको प्रयोग खुला गरिने उनको भनाइ छ ।

नेपाल चिया विकास निगमअन्तर्गत रहेको कन्यामसहित इलाम र झापाका ७ वटा चिया बगान र कारखाना ५० वर्षका लागि त्रिवेणी संघाई ग्रुपलाई २०५७ सालमा लिजमा दिइएको हो । टी बोर्ड, नगरपालिका, सुरक्षाकर्मीलगायतको टोलीले विषादी घर सिल गरेको र तीन दिनभित्र बगान व्यवस्थापन पक्षलाई सूर्योदय नगरपालिकामा छलफलमा आउन भनिएको नगरपालिकाले जनाएको छ । अनुगमनका क्रममा चिया बगानमा विषादी प्रयोग गर्ने मजदुरले मास्क, पञ्जा, एप्रोन जस्ता अत्यावश्यक स्वास्थ्य सामग्रीको पनि प्रयोग नगरेको पाइएको थियो । मापदण्ड पालना गर्दा श्रमिक पनि विषादीका कारण जोखिममा देखिएको राष्ट्रिय चिया तथा कफि विकास बोर्डको फिक्कलस्थित आयोजना केन्द्रले जनाएको छ ।

उत्पादन वृद्धि गर्न किरा र झार मार्नका लागि विषादीको प्रयोग निजी बगानमा पनि हुने गरेको पाइएको छ । कन्यामसहित जिल्लाका विभिन्न निजी बगान क्षेत्रमा पानीका मुहानसमेत रहेकाले त्यसको प्रत्यक्ष असर ठूलो समुदायमा पर्ने गरेको छ । हानिकारक विषादी प्रयोग गरिएको बगानमा २१ देखि २८ दिनसम्म चियामा यसको असर कायम रहेन गरेको विज्ञहरू बताउँछन् ।

प्रकाशित : भाद्र १०, २०७८ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×