कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बिक्री नहुँदा हातेकागज उद्योग बन्द

आनन्द गौतम

ताप्लेजुङ — बारीभरि सात परिवारका लागि छुट्टछुट्टै घर बनाइदिएर राखेका छन्, मैवाखोला गाउँपालिका–३ साँघुका पहलमान चोङवाङले । तरकारी बारी र अलैंचं बगान मासेर उनले सबैलाई पहाडे (हाते) कागज उत्पादनमा लगाएका हुन् । काम गर्ने मान्छे प्रशस्त पाइने भएपछि देशविदेशमा राम्रो माग हुने कागज र लोक्ता संकलन र निर्यातलाई जोड दिएका थिए ।

बिक्री नहुँदा हातेकागज उद्योग बन्द

यतिबेला बिक्री ठप्प प्रायः हुँदा तिनै पहलमानको गोदाम एक वर्षयता कागजले भरिएको छ । अहिले दुई परिवार मात्रै काममा छन् । त्यो पनि पूर्णकालीन छैनन् । अरू खेती कम भएकालाई मात्रै कागज उत्पादन गर्न दिइएको पहलमान बताउँछन् ।

सिदिङवा गाउँपालिका–१ कालीखोलाका टइन्द्र चापागाईंको अवस्था पनि उस्तै छ । सशस्त्र द्वन्द्वमा लामो समय सदरमुकाम बसेर शान्ति प्रक्रियापछि गाउँ फर्किएका उनले पनि कागज उत्पादनको काम थालेका थिए । सडकले नजोडिँदासम्म पनि गाउँको उत्पादन मान्छेलाई बोकाएर शहर पठाउने उनि पछिल्ला वर्ष मध्य पहाडी लोकमार्ग बनेपछि खुसी थिए । उद्योगभन्दा नजिकै सडक पुगेको र गाउँमा समेत ग्रामीण सडक बन्न थालेपछि ढुवानी सहज हुने आशामा थिए । तर असहज बनायो त, कोरोना संक्रमणले । संक्रमणसँगैको निषेधाज्ञाका कारण उत्पादनदेखि बिक्री वितरणमा असर पुग्दा उद्योगलाई निरन्तरता दिन कठिन भएको चापागाईं बताउँछन् ।

डिभिजन वन कार्यालयका लेखापाल सीता योगीका अनुसार यसवर्ष टइन्द्रसहित गोपालबहादुर गुरुङ, नन्दकुमार तामाङ, पासाङ लाक्पा शेर्पा, टीकाकुमारी लिम्बू, रामकुमार तामाङ र पहलमानले मात्रै छुट पुर्जी लिएका छन् ।

त्यो पनि गत वर्षको तुलनामा अत्यन्तै न्यून । योगी चापागाईंले तीन, गोपालले दुई र नन्दकुमारले १७ सय किलोको मात्रै छुटपुर्जी लिएका छन । पासाङले एक, टीकाले दुई र रामकुमारले एक हजारका दरले छुटपुर्जीको अनुमति लिएको सीताले बताइन् । कच्चा पदार्थ अर्गेली संकलनका लागि बन कार्यालयमा प्रतिकिलो ५ रुपैयाँ राजस्व बुझाउनुपर्छ । संक्रमणका कारण चैतमा लकडाउन भएपछि अहिलेसम्म जम्मा एक पटक मात्रै कागज बिक्री गरेको पहलमान बताउँछन् ।

‘हामी वाग्मती, भक्तपुर, पेपर उद्योगमा दिन्छौं,’ पहलमानले भने, ‘अहिले माग नै छैन भनेर चासो गरेका छैनन् ।’ पछि बिक्री हुन्छ कि हुँदैन भन्ने यकिन नभएका कारण उत्पादन गर्न नसकिएको उद्यमीको दाबी छ ।

लोक्ता र अर्गेली संकलन गर्ने, उद्योगमा ल्याएपछि त्यसको बोक्रा उतारेर तातोपानीमा पकाउने र कुटेर पिठो बनाएर केमिकलसहित लगाएर जालीमा हालेर कागज बनाइन्छ । पानीमा मुछेर लगाएको पिठो घाममा सुकाएपछि कागज बन्छ ।

त्यही कागजलाई सुकाएर कटिङ गरिन्छ । कटिङ गर्ने, रङ लगाउने काम भने काठमाडौंका कम्पनीले मात्रै गर्ने पहलमान बताउँछन् । पहाडे कागज बलियो र भरपर्दो हुने भएकाले नेपालका सरकारी कार्यालयमा कर्मचारीका लागि हाजिरी खाता बनाउने जस्ता दिगो उपयोगमा प्रयोग हुन्छ । जापानी पैसा येन बनाउन पनि अर्गेली लाने गरिएको छ । कागज नबनाइकन अर्गेलीको बोक्राको एक/एक फिटको बोक्रा काटेर साइज मिलाएर पठाउने गरेको तर त्यो पनि लकडाउनपछि ठप्प भएको पहलमान बताउँछन् ।

जिल्लामा कच्चा पदार्थ प्रशस्त पाइने भएकाले जिल्लामा दुई दर्जन बढी कागज उद्योग दर्ता भएका थिए । सामुदायिक वन उपभोक्ता जिल्ला महासंघका अनुसार दातृ संस्थाले पनि लोक्ता पकाउने भाँडो, धुने पानीका लागि पोखरी निर्माण जस्ता कार्यमा सहयोग गरेका थिए । महिला मात्रैले पनि उत्पादन गर्न सक्ने भएकाले मिक्वाखोलाको पापुङ, साँवा, सिदिङवाको कालीखोला, सादेवामा महिला मात्रैले पनि कागज उद्योग सञ्चालन गरेको सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष सुरज ओझा बताउँछन् । उनका अनुसार बिक्रीमा समस्या भएपछि यी सबै बन्द भएका छन् ।

प्रकाशित : श्रावण ३१, २०७८ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×