कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२७ वर्षमा पनि अधुरै लोकमार्ग

लागत मूल्यांकन बढेको बढ्यै, काम गुणस्तरहीन,कामदारले पाएनन् पारिश्रमिक
डम्बरसिं राई

खोटाङ — गाईघाटदेखि दिक्तेल जोड्ने सगरमाथा लोकमार्ग निर्माण सुरु भएको २७ वर्ष बितिसक्दा पनि अझै पूरा हुन सकेको छैन । २०५१ सालमा सुरु उक्त लोकमार्ग निर्माण कम्पनीको लापरबाहीका कारण लामो समय बित्दा पनि सम्पन्न हुन नसकेको हो ।

२७ वर्षमा पनि अधुरै लोकमार्ग

खोटाङ खण्डको खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चे फोक्सिङटारदेखि हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको सिम्पानीसम्मको २६ किलोमिटर सडकको काम देवनारायण पवन मैनाचुली जेभीले ठेक्का लिएको हो । २०७७ साउन १० भित्र सक्ने गरी २०७३ साउन ११ गते सम्झौता गरेको थियो । करिब ५५ करोड ८३ लाख रुपैयाँको लागतमा सम्पन्न गर्ने गरी सम्झौता गरिए पनि मूल्यांकन लागत बढेर ६४ करोड ५६ लाख रुपैयाँ पुगेको गाईघाट–दिक्तेल सडक योजना प्रमुख गोपाल खकुरेलले बताए ।

उक्त सडक खण्डमा रिटेनिङवाल, कल्भर्ड, नाली, पाइप राख्ने र कतिपय ठाउँमा सबबेसको काम मात्र गरिएको छ । खोटाङ क्षेत्रमा कालोपत्रको काम भने कहीँ पनि हुन नसकेको प्रमुख खकुरेलले बताए । उनका अनुसार भौतिक प्रगति भने ६० प्रतिशत र वित्तीय प्रगति भने ५८ प्रतिशत देखिन्छ । त्यस्तै खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको सिम्पानीदेखि दिक्तेल, रूपाकोट, मझुवागढी नगरपालिका–१३ नुनथला माहुरेसम्मको २३ किलोमिटर सडक खण्डको निर्माण काम पनि सुस्त गतिमा छ ।

करिब ४६ करोड ८७ लाख रुपैयाँको लागतमा २०७७ असार २९ गतेभित्र सम्पन्न गर्ने गरी २०७३ असार २० गते भारतीय कन्स्ट्रक्सन, सिद्धिसाई जेभीले सम्झौता गरेको थियो । सडक खण्डको काम (भौतिक र वित्तीय प्रगति) भने ३५ प्रतिशत मात्र भएको प्रमुख खकुरेलले बताए । उनका अनुसार यो सडक खण्डको लागत मूल्यांकन बढेर ५३ करोड ८६ लाख पुगेको छ । सिम्पानी–महुरे सडक खण्डमा काम गर्ने कामदारले पारिश्रमिकसमेत नपाएको दिक्तेल, रूपाकोट, मझुवागढी नगरपालिका–१४ बुइपाका वडा अध्यक्ष दिनेश राईले बताए । उक्त सडक खण्डको काम गुणस्तरहीन र कामदारलाई पारिश्रमिक नदिएको भन्दै स्थानीयले पटक–पटक बन्द गराउँदै आएको अध्यक्ष राईले बताए । पेटी ठेकेदारलाई काम दिएको र उनीहरूले कामदारलाई पारिश्रमिक नदिनुका साथै स्थानीय होटल तथा व्यापारीहरूलाई विभिन्न सामग्रीको रकमसमेत नदिएको अध्यक्ष राईको भनाइ छ ।

साताअघि मात्र गाडी, एक्स्काभेटर ब्याकलोडर, ट्र्याक्टरको चाबी खोसेर राखेपछि केही रकम उपलब्ध गराएको समेत अध्यक्ष राईले सुनाए । उनका अनुसार बुइपादेखि राजापानीसम्मका व्यापारीहरूको करिब २८ लाखमध्ये १५ लाख भने उपलब्ध गराएको छ । यो सडक खण्डमा १३ जना पेटी ठेकेदार काम गर्छु भनेर आएको तर काम भने नगरेको वडा अध्यक्ष राईको भनाइ छ । २०७६ फागुन ८ गते दिक्तेल, रूपाकोट, मझुवागढी नगरपालिका–१३ नुनथला, वडा–१४ बुइपा, वडा–१५ विजयखर्क र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका स्थानीयले काममा अवरोध गरेपछि कामदारलाई पैसा दिने, गुणस्तरीय काम गर्नेलगायतका विभिन्न विषयमा सहमतिपछि काम थाल्ने सहमति भएको थियो ।

फागुन १० गते निर्माण कम्पनीका प्रतिनिधि, स्थानीय र खोटाङका तत्कालीन प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, पूर्वसभासद पाँचकर्ण राईलगायतको छलफलपछि तीव्र गतिमा काम गर्ने सहमति भएको थियो । त्यतिबेला कामदार, उधारो लिएको रकम दिने, जिरोप्वाइन्ट (महुरे) बाट कालोपत्रको काम टुंग्याउँदै जाने, बस्ती तथा विद्यालय आसपासमा उड्ने धूलो नियन्त्रण गर्न ठेकेदारले ट्र्याक्टरमार्फत दैनिक पानी

छ्याप्नेलगायतका सहमतिपछि काम फेरि सञ्चालन गर्ने सहमति भएको थियो । निर्माण कम्पनी भरत कन्स्ट्रक्सन/सिद्धि शाही जेभीका निर्माणस्थलमा खटिएका नवीन मैनालीले बाँकी रहेको समयभित्र सडक कालोपत्रको काम पूरा गर्ने प्रतिबद्धतासमेत जनाएका थिए तर अहिलेसम्म पनि कार्यान्वयन नभएको अध्यक्ष राईको भनाइ छ ।

उक्त सडक खण्डमा माटो मिसिएको बालुवा प्रयोग गरिएको, क्युरिङ नगरिएको, पर्खाल गुणस्तरहीन बनाइएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ बुइपाका मिलन राईले बताए । यसबाहेक यो सडक खण्डमा काम गर्ने सिलसिलामा वातावरणीय प्रभाव मूल्यांकनलाई ख्याल नगरी जथाभावी क्षति पुर्‍याइएको दिक्तेल, रूपाकोट, मझुवागढी नगरपालिका–१३ नुनथलाका वडा अध्यक्ष भीम राईले बताए । स्थानीय महुरे प्राकृतिक सामुदायिक वनमा क्षति पुर्‍याएको अध्यक्ष राईले सुनाए । यसबाहेक उक्त ठाउँमा अन्य खेतीयोग्य जमिनमा समेत क्षति पुर्‍याएको स्थानीय सुरेश राईले बताए ।

निर्माण कम्पनी सम्बद्धहरूले भने अब छिट्टै काम सक्ने बताएका छन् । फोक्सिङटार–सिम्पानी सडक खण्डको काम जिम्मा लिएको देवनारायण पवन मैनाचुली जेभीसम्बद्ध मदन अधिकारीका अनुसार चैत मसान्तभित्रमा काम सक्ने बताएका छन् । ‘भदौ १५ बाट काम सुरु गरेर चैत मसान्तभित्र सक्छौं,’ अधिकारीले भने, ‘अर्को बर्खामा यातायातमा समस्या हुँदैन ।’ सिम्पानी–महुरे सडक खण्डमा निर्माण कम्पनीले काम ढिलो गरेपछि कारबाहीस्वरूप मोबिलाइजेसन रकम लिइएको खकुरेलले बताए । उनका अनुसार उक्त सडक खण्डका निर्माण कम्पनीको मोबिलाइजेसनबापतको ६ करोड ३५ लाख रुपैयाँ लिइएको छ । फोक्सिङटार–सिम्पानी सडक खण्डको निर्माण कम्पनीको समेत विचाराधीन अवस्थामा रहेको उनले जनाए । यत्ति गर्दा पनि नभए ठेक्का तोड्नुको विकल्न नहुने खकुरेलले सुनाए ।

प्रकाशित : श्रावण २९, २०७८ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?